पोखरा उद्योग वाणिज्य संघको चुनाव असोज पहिलो साता

पोखरा, २९ साउन । निजीक्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको निर्वाचन मिति घोषणा भएको छ । संघका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतमा मंगलबार बसेको बैठकले असोज ५ र ६ गते ३२ आैं महाधिवेशन गर्ने  निर्णय गरेको हो । यस अगाडि संघको पदाधिकारी बैठकले चुनावका लागि उक्त मिति सिफारिस गरेको थियोे । संघको निर्वाचन मिति घोषणा भएसँगै आकांक्षीहरूले चुनावी अभियानलाई अगाडि बढाउने बाटो खुलेको छ । अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशन अन्तर्गत हुने  निर्वाचन कार्यक्रमको लागि पूर्व कार्यसमिति सदस्य तीर्थ श्रेष्ठलाई निर्वाचन उपसमिति संयोजक चयन गरिएको महासचिव दामु अधिकारीले जानकारी दिए । निर्वाचन उपसमितिका बाँकी सदस्य  संयोजकबाट नै मनोनयन गरिनेछ भने निर्वाचन समितिले नै निर्वाचनका थप कार्यक्रमहरु तय गर्नेछ ।

गत महाधिवेशनमा जस्तै यसपटक पनि संशोधित विधानअनुसार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । विगतमा अध्यक्षात्मक प्रणालीमा निर्वाचन हुँदै आएको संघमा ३१औं महाविधेशनबाट सबै पदमा खुला प्रतिस्पर्धा शुरू भएको हो ।

वरिष्ठ उपाध्यक्ष, उद्योगतर्फको उपाध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुनेछ ।

२९ सदस्यीय कार्यसमितिमा निवर्तमान अध्यक्ष र सात जना पदाधिकारीबाहेक २१ जना सदस्य रहनेछन् । ती सदस्यमध्ये ४ जना वस्तुगत संघबाट मात्र निर्वाचित हुनेछन् भने २ जना कर्पोरेट सदस्यबाट निर्वाचित हुनुपर्नेछ । १ जना औद्योगिक सदस्य निर्वाचित हुनेछन् भने १० जना सदस्य खुला निर्वाचित हुनेछन् । ४ सदस्य निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

संघमा ३ हजार ३ सय ७७ जना मतदाता रहनेछन् । साधारण सदस्य ३ हजार १ सय ७१ जना, कर्पोरेट सदस्य ६८ जना, औद्योगिक सदस्य १ सय १० जना र बस्तुगत सदस्य २८ जना छन् ।

निजीक्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिनका लागि तीन जना आकांक्षी देखिएका छन् । संघ वर्तमान महासचिव दामु अधिकारी, वाणिज्य तर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी र पूर्वमहासचिव नारायण कोइराला अध्यक्षको आकांक्षी छन् ।

You might also like

Comments are closed.