पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन, कुन पदमा को आकांक्षी ?

सुरेन्द्र पौडेल
पोखरा, ३० साउन । पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशन मिति सार्वजनिक भएसँगै व्यवसायीहरुले चुनावी अभियानलाई तिब्र बनाएका छन् । अध्यक्ष लगायत विभिन्न पदमा आकांक्षा व्यक्त गर्ने क्रमसमेत बढेको छ । धेरैको चासो हुने अध्यक्षमा यस पटक ३ जना आकांक्षी देखिएका छन् । अध्यक्षमा बर्तमान महासचिव दामु अधिकारी, पूर्व महासचिव नारायण कोइराला र वर्तमान वाणिज्य तर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी आकांक्षी देखिएका छन् । तीनै जनाले आ–आफ्नो पक्षमा समर्थक जुटाउन लबिङ गरिरहेका छन् ।

वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म एकजना मात्र आकांक्षी सार्वजनिक भएका छन् । बर्तमान कोषाध्यक्ष पवन प्रजापतीले वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन् । उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्कीले उम्मेदवारी घोषणा गरिसकेका छन् । कार्की बर्तमान कार्यसमितिमा पनि सोही पदमा छन् । वाणिज्य तर्फको उपाध्यक्षमा बर्तमान कार्यसमितिका सदस्य यदुनाथ अधिकारीले आकांक्षा देखाएका छन् । वाणिज्य उपाध्यक्षमा युवा व्यवसायी प्रकाशदेव पाखिलेलाई उम्मेदवार बन्नका लागि भित्रभित्रै आग्रह गरिएपनि उनले आफू उम्मेदवार नबन्ने संकेत गरिसकेका छन् ।

अध्यक्ष पछि धेरैको चासो हुने महासचिव पदमा वर्तमान उपमहासचिव अर्जुन पोखरेलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । वर्तमान कार्यसमिति सदस्य किसान सुनारले पनि महासचिव बन्ने आकांक्षा देखाएका छन् । कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छेले आकांक्षा देखाएका छन् । उनलाई कोषाध्यक्ष बनाउन केही पूर्व अध्यक्षहरुले पनि पहल गरिरहेका छन् ।

निर्वाचन आउन एक महिना भन्दा बढी समय बाँकी नै रहँदा उपमहासचिव पदमा सबैभन्दा धेरैको आकांक्षा देखिएको छ । बर्तमान कार्यसमितिका ४ जना सदस्यहरु उक्त पदका आकांक्षी छन् । उपमहासचिवमा सीता बराल, चिनु गुरुङ, गोमा ढकाल र प्रेम भुलेलले आकांक्षा देखाएका हुुन् । उपमहासचिवमा महिला उद्यमीको बढी आकर्षण देखिएको छ ।

सदस्यमा पनि केहीले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । महिला उद्यमी शोभा गौतमले सदस्यमा उम्मेदवारी दिने बताएकी छन् । कर्पोरेट सदस्यमा बर्तमान कार्यसमितिका सदस्य कमल बस्नेतले उम्मेदवारी दिने बताएका छन् । बर्तमान कार्यसमिति सदस्य नारायण पौडेलले उम्मेदवारी दिने बताए पनि पद घोषणा गरेका छैनन् ।

सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले बस्तुगत संघको तर्फबाट सदस्यको उम्मेदवार बन्ने तयारी गरेका छन् । निर्वाचन मिति नजिकिएसँगै सदस्यमा उम्मेदवारी दिनेहरुको संख्या बढ्दै जानेछ । आगामी असोज ५ र ६ गते संघको महाधिवेशन हुँदैछ । ३ हजार ३ सय ७७ जना मतदाताले उम्मेदवारको भाग्य फैसला गर्नेछन् ।

You might also like

Comments are closed.