पोखरा उवासंघको ६५औं अधिवेशन, आर्थिक अवस्था सबल रहेको अर्थमन्त्रीको दावी

अभियान संवाददाता
असोज ३, पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले देशका सबै आर्थिक सूचकांकहरु ठीकठाक रहेको बताएका छन् । उनले मुलुक आर्थिक रुपले खत्तमै भयो भन्ने हल्लाहरु निराधार भएको जिकिर पनि गरे । शनिबार पोखरा उद्योग वाणिज्य संघको ६५ औँ वार्षिक अधिवेशनको समुद्घाटनका अवसरमा बोल्दै उनले निजी क्षेत्रसँग सहकार्य गर्दै आर्थिक समृद्धिको बाटोमा जान सरकार तयार रहेको पनि बताए ।

पहिलो चोटीे मुलुकको आर्थिक बृद्धिदर बढी भएको, १९ प्रतिशतभन्दा बढीले निर्यात बढेको र यही अवधिमा १४ प्रतिशतभन्दा कमले आयात बृद्धि भएको बताउँदै उनले आयात घट्दा पनि १४ पनि २२÷२३ प्रतिशतले राजश्व बढेको बताए । उनले अहिले देशको संचितिले नौ महिनाको आयात धान्ने अवस्था रहेकाले अर्थतन्त्र मजबुत रहेको दोहो¥याए ।

‘अंकहरु त्यहीँ छन्, अंकहरुले त्यही कुरो भन्दैछ,’, उनले भने, ‘अब प्रोपोगाण्डा नगराइदिनुहोला, अब निराशा नजगाउनु होला, आशा जगाउनुहोला, हामी पनि उद्योगी÷व्यवसायीकै पार्टी हौँ ।’ उनले काठमाण्डौ– पोखराको सडक स्तरोन्नतिको लागि ४० अर्ब रुपैयाँ छुट्टयाएको र त्यो विकासको काम गर्दा करिब १५÷२० अर्बको आयात समेत बढ्ने जिकिर गरे । पोखराबाट लुम्बिनी जोड्न सिद्धार्थ राजमार्गको सिद्धबाबामा टनेलको डिपिआर तयार भएकाले छिट्टै काम सुरु हुने उनको भनाई थियो ।

एउटा व्याजदरमा ऋण दिएपछि निश्चित अवधिसम्म ब्याजदर बढाउन नहुनेमा आफू दृढ भएको उनको भनाई थियो । उनले एक प्रतिशत बढी ब्याज लिए पनि बीचमा ब्याज नबढाउने व्यवस्था बनाउन लागिएको जानकारी गराए । सेवा शुल्कको हकमा पनि तिर्नैपर्ने बाध्यकारी नीति परिवर्तन हुनुपर्ने उनको भनाई थियो । अहिले बैकर्स र व्यवसायीबीचको फरक छुट्याउने अवस्था नै नभएको बताउँदै उनले अगाडि भने,‘ बैंकको सेयरभन्दा बढी ऋण लिएको छ भने व्यवसायी र ऋण कम सेयर बढी भएकाहरु बैंकर भएको मैले बुझेको छु ।’

उनले २०५२ सालको राजश्व चुहावट सम्बन्धि ऐनले सामान्य गल्ती गर्दा पनि एकवर्ष जेल हाल्ने अवस्था भएको स्मरण गर्दै उनले आफूले जेल हाल्ने र दण्ड बढाउने काम गरेको दावी पनि गरे । ‘राजश्व चुहावट भनेको भ्रष्टाचार नै हो, अपराध नै हो,’ उनले भने । भूलचुकले भएका गल्तीमा सुधार गर्ने व्यवस्था भएको बताउँदै उनले सबै भ्रष्टाचार अमान्य भएको उल्लेख गरे । उनले अहिले सरकारले लागु गरेको कर प्रणालीलाई नयाँ जुत्ताको संज्ञा दिँदै अहिलेको कर प्रणाली पनि नयाँ जुत्ताजस्तै भएको जिकिर पनि गरे । अनलाइन ट्रयाकिङ प्रणाली (भिसिटिएस) प्रणालीमा भएका समस्या हल गरिरहेको र नेपाल उद्योग वाणिज्य महासंघलगायतका संघ÷संस्थासँग छलफल गरेरै यो सुधार भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा विशिष्ठ सदस्य चण्डिराज ढकालले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न सरकारसँग आग्रह गर्दै निजी क्षेत्रको मनोबल नघटाउने गरि अगाडि बढ्न सरकारलाई सुझाव दिए । महासंघका उपाध्यक्ष शेखर गोल्छाले रेमिट्यान्सले धानेको अर्थतन्त्र सुधार नभए समस्या आउने बताएका थिए । उनले सोधानान्तर घाटा बढ्दै जाँदा त्यसले समग्र अर्थतन्त्रमै समस्या सृजना हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा बन मन्त्री विकास लम्सालले अस्थिरतामा रमाउनेहरुले विभिन्न एजेण्डा निकालेर सरकारको बिरोध गरेको गुनासो गरे । उनले प्रदेश सरकारले आर्थिक उत्थानको लागि विभिन्न कार्यक्रम ल्याएको प्रष्ट पार्दै आउँदो ३ महिनामा १५ लाख पर्यटक ल्याउने दावी पनि गरे । उनले गोर्खाको पालुङटारमा १३ हजार रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन लागेको र त्यहाँ विद्युतीय गाडी उत्पादन गर्नेतर्फ पनि तयारी गरिएको बताए ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सजिलो करहरु संघीय र प्रदेश सरकारले उठाउने र असजिलो ठाउँमा पालिकालाई कर उठाउने जिम्मा दिइएको गुनासो गरे । ‘धेरै सजिलो कर संघलाई, अलि सजिलो प्रदेशलाई र रातोमुख लगाउनु पर्ने,बाझ्नु पर्ने ठाउँमा पालिकालाई कर उठाउन भनिएको छ’, उनले भने,‘अब यो कुरामा ख्याल गरिनुपर्छ ।’ उनले प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले ल्याउन लागेको नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम अनावश्यक भएको टिप्पणी गरे ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा भएका विकास र निर्माण कामहरुको चर्चा गर्दै आफ्नै अगुवाईमा बनेको पोखरा सभागृह चर्केको देख्दा, हामीले सघाएको महेन्द्रपुलको विकल्पमा अर्को संरचना नबनेको देख्दा मन दुखेको बताए । उनले समृद्ध नेपाल र सुखी नेपालीको यो तिलष्मी सपनालाई व्यवहारमा उतार्न निजी क्षेत्रका साथ लिनै पर्नैमा जोड दिँदै भने, ‘समृद्धि र सुख, ढुकुटीमा थोपरिएको धनले मात्रै दिन सक्दैन । यसको लागि नागरिकको मन खुसी हुनुपर्छ । राज्यले दिएको अधिकार प्रयोग गर्दै उद्योग÷व्यवसाय गर्दै गरेका निजी क्षेत्रको मन खुसी हुनुपर्छ ।’

उनले जग्गा भाउ बढेकाले उद्योग खोल्न असहज भएको, बैंकले एकाएक ब्याज बढाउँदा समस्या उत्पन्न भएकोतर्फ पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।  ‘ऋण दिने बेला एउटा दर र ऋण दिइसकेपछि पटक पटक बढाउने ब्याजदरले हामी थला परेका छौैँ’, उनले भने,‘ ब्याजले गर्दा हाम्रो लागत बढेको छ । प्रतिष्पर्धी क्षमता घटेको छ अनि बैंकहरु यति नाफा कमाएँ भनेर आफ्नो वित्तीय विवरण सार्वजनिक गर्न व्यस्त छन् । यो रोग कहिलेसम्म रहने ?’

उनले नेपाल सरकारको खर्च गर्ने क्षमता बढोस्, पूँजीगत खर्च बढोस्,लोककल्याणकारी राज्यको सिद्धान्तलाई व्यवहारमा उतार्दाको सम्पूर्ण भार निजी क्षेत्रमाथि नथोपरियोस्, निर्यातयोग्य बस्तुको पहिचान गरि त्यस्ता बस्तुलाई दिइने प्रोत्साहनमा बढोत्तरी गरियोस्, सेवा उद्योगले रोजगारीमा दिएको योगदानको मूल्याङ्कन होस भन्दै सरकारसँग हातेमालो गर्न तयार रहेको बताए । संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले निजी क्षेत्रको स्थिर अवस्थामा रहेको आशालाई जगाउँदै उत्पादनशील क्षेत्रमा लगानी, देशमै रोजगारीको सृजनातर्फ पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले नेपालको निजी क्षेत्र आर्थिक र सामाजिक विकासमा तीनवटै तहका सरकारसँग सहकार्य तयार रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई कमजोर बनाउने, फुटाऊ अनि शासन गर भन्ने पुरानै मानशिकतामा टेकेर निजी क्षेत्रको भूमिकालाई खुम्च्याइँदा लगानी मैत्री वातावरण नबन्ने बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले निजी क्षेत्रको संस्थाले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । लक्ष्मी विद्यापदकबाट सम्मानित व्यक्तित्व स्वेताकुमारी गुप्ताले आफूलाई दिइएको सम्मानले उत्साहित भएको बताइन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले निजी क्षेत्रलाई उत्पादनशील क्षेत्रमा लगानीको लागि प्रोत्साहन दिनुपर्नेमा जोड दिए ।

सो अवसरका आर्थिक पत्रकारिता पुरस्कारबाट युवा पत्रकार भरत कोइरालालाई सम्मानित गरियो । उनलाई पत्रकारिताको माध्यमबाट पोखराको आर्थिक उत्थानमा दिएको योगदानको कदर गर्दै नगद २५ हजारसहित सम्मानित गरिएको हो । यसैगरी उत्कृष्ट बस्तुगत संघ सम्मानबाट पोखरा फर्निचर तथा फर्निसिङ व्यवसायी समितिलाई पनि संघले वार्षिक अधिवेशनकै अवसरमा सम्माति ग¥यो । लक्ष्मी हाउसबाट स्थापित तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित पुरस्कारबाट

यसैबीच, विविएसतर्फ पोखराका कलेजहरुबाट परीक्षामा सहभागि भई सर्वोत्कृष्ट अंक ल्याउन सफल पृथ्वीनारायण बहुमुखी क्याम्पसकी छात्रा स्मृति पूर्जा,विविएतर्फ सर्वोत्कृष्ट पोखरा कलेज अफ म्यानेजमेण्टका छात्र अमृत अधिकारी र, स्नाकोत्तर तह (एमबिए) मा सर्वोत्कृष्ट अंक ल्याउने कन्या क्याम्पस पोखराकी छात्रा स्वेताकुमारी गुप्तालाई सम्मानित गरिएको थियो । यसैगरी एसमार्केटमा भएको आगलागिबाट पीडित संघका सदस्य लीलाधर ढुंगानालाई आइएमई इन्स्योरेन्सको तर्फबाट ३१ लाख ५० हजार बीमा रकम पनि सो अवसरमा हस्तान्तरण गरिएको थियो ।

You might also like

Comments are closed.