पोखरा कलेज अफ म्यानेजमेन्ट प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्य होः प्राचार्य अधिकारी

चैतन्य अधिकारी
प्राचार्य
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम)
पोखरा ३ ज्ञानमार्ग, नदीपूर

म्यानेजमेन्टको मात्रै पठनपाठन गराउने गरी आजभन्दा १७ वर्ष अगाडि स्थापना भएको पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) बाट हालसम्म ५ सय भन्दा बढी विद्यार्थी बिबिए उत्तीर्ण भइसकेका छन् । बिबिए अध्ययनका लागि उत्कृष्ट गन्तव्य बन्न सफल पिसिएमले गत वर्षदेखि गण्डकी प्रदेशमै पहिलो पटक ब्याचलर अफ कम्प्युटर इन्फरमेसन सिस्टम (बिसिआइएस) को पढाइसमेत सुरु गरिसकेको छ । यसै क्रममा कलेजका विशेषता, बिबिए र बिसिआइएस कोर्षमा विद्यार्थीको आकर्षण लगायत विविध विषयमा केन्द्रित रहेर प्राचार्य चैतन्य अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विशेषताहरु केके छन् ?
पोखरा ३ ज्ञानमार्ग नदीपूरमा बिगत १७ वर्ष अगाडि सुरु भएर निरन्तर रुपमा सञ्चालनमा रहेको कलेज हो पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) । म्यानेजमेन्ट मात्रैको कोर्ष चलाएर आफूलाई उत्कृष्ट सावित गर्न कलेज सफल छ । १५ वर्षसम्म बिबिए कोर्षमात्रै सञ्चालन गरिरहेकोमा गत वर्षदेखि बिसिआइएस (ब्याचलर अफ कम्प्युटर इन्फरमेसन सिस्टम) को पढाइ पनि सुरु गरेका छौं । पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरु मध्ये बिबिएमा सर्वोत्कृष्ट कलेज बन्न सफल छ । बिबिएमा हाम्रो कलेज गण्डकी प्रदेशका विद्यार्थीको पहिलो रोजाईमा छ र अग्रणी शैक्षिक गन्तव्यका रुपमा स्थापित छ । पोखरा विश्वविद्यालयकै सन्दर्भमा हेर्ने हो भने यो कलेज बिबिएको लागि नेपाल भरकै तेस्रो स्थानमा पर्न सफल छ । गत वर्ष मात्रै काठमाडौं विश्वविद्यालयको एमबिएको लागि भएको प्रवेश परीक्षामा यसै कलेजका विद्यार्थी प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।

पिसिएमबाट कति विद्यार्थी उत्तीर्ण भएका छन् ?
पिसिएमबाट आजसम्म ५ सय जना भन्दा बढी विद्यार्थीहरु उत्तीर्ण भइसकेका छन् । तिनीहरु मध्ये धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुमा एवं शैक्षिक संस्थाहरुमा कार्यरत छन् । यहाँबाट उत्तीर्ण भएका विद्यार्थीहरुले उत्कृष्ट क्षमता देखाउन सक्षम छन् । कतिपय विद्यार्थी उच्च शिक्षाका लागि देशकै उत्कृष्ट शैक्षिक संस्थाहरुमा एवं विदेशमा समेत संलग्न छन् । व्यवस्थापनको उच्च तहमा रहेर काम गर्न सफल छन् । प्रत्येक वर्ष विश्वविद्यालयको डिन लिस्टमा उच्च शैक्षिक क्षमताको प्रदर्शन गरी १० जनाको हाराहारीमा यहाँका विद्यार्थी पर्न सफल छन् ।

कति सिफ्टमा कति जना विद्यार्थी अध्ययन गर्छन् ?
बिबिएको पढाई बिहान र दिवा सिफ्टमा सञ्चालित छ । एक सिफ्टमा हामीले ४८ जना विद्यार्थी मात्र राखेर अध्यापन गराउँछौं । त्यो मध्ये ५ जना विद्यार्थीलाई पोखरा विश्वविद्यालयले छात्रवृत्तिको परीक्षामा उत्तीर्ण गराई पठाउने गर्दछ । बिसिआइएसमा बिहानमा मात्रै कोर्ष सञ्चालन हुन्छ । त्यसमा ४८ जना विद्यार्थीलाई अध्यापन गराउँछौं । पूर्ण पारिवारिक वातावरणमा स्तरीय पठनपाठनको व्यवस्था गर्न हामी सफल छौं ।

बिबिएमा विद्यार्थीको आकर्षण कस्तो छ ?
हरेक वर्ष ४ सयदेखि ५ सयसम्म विद्यार्थीहरुले पोखरा कलेज अफ म्यानेजमेन्टको बिबिए कोर्षमा आवेदन भर्ने गर्छन् । यस वर्ष पनि विद्यार्थीले सोही संख्यामा आवेदन दिइसकेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको पहिलो रोजाई बिबिएका उत्पादन हुने र प्रयोगात्मक हिसाबले पनि यो विषय अनुकूल भएकाले बिबिएप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । विद्यार्थी बेरोजगार बस्नु पर्दैन ।

गत वर्षदेखि बिसिआइएस कोर्ष सुरु गर्नुको उद्देश्य के हो ?
डेढ दशक अगाडि हामीले पोखरामा बिबिए कोर्ष सञ्चालन गर्दा सूचना प्रविधिको उति सारो विकास भइसकेको थिएन । तर, आज सूचना प्रविधिको उपयोग बेगरको कुनै पनि घर, परिवार, समाज वा सरकारको परिकल्पना गर्नपनि सकिँदैन । सम्पूर्ण व्यापार, व्यवसाय, सञ्चार व्यवस्था, अर्थ वाणिज्य लगायत हरेक क्षेत्रमा सूचना प्रविधिको व्यापक प्रयोग भइरहेको हुनाले अब व्यवस्थापनको क्षेत्रमा सूचना प्रविधिलाई संलग्न गरेर तयार गरिएको कोर्ष मात्रै समय सापेक्ष हुन सक्छ । त्यसै कारणले पोखरा कलेज अफ म्यानेजमेन्टले बिसिआइएस कोर्षको पढाई सुरु गरेको हो । गत वर्षदेखि नै यस कोर्षमा पढ्नका लागि पोखरा तथा आसपासका विद्यार्थीको आकर्षण देखिएको छ । यो कोर्ष संसारभर नै प्रशिद्ध चारवर्षे कोर्ष हो । संसारका हरेक देशमा यसको क्षेत्र राम्रो छ ।

बिसिआइएस कोर्षको महत्व के छ ?
यो कोर्ष व्यवस्थापन र आइटीको फ्युजन गरिएको कोर्ष हो । यो कोर्षमा ५१ प्रतिशत विषय आइटीका र ४९ प्रतिशत कोर्ष व्यवस्थापनको रहेका छन् । तसर्थ व्यवस्थापनको जिम्मेवारी सम्हाल्दा आइटीको समेत पूर्ण ज्ञान भएको जनशक्ति उत्पादन गर्नका लागि यो कोर्षको विशेष महत्व छ । यदि, आइटीको क्षेत्रमा काम गर्ने हो भने व्यवस्थापनको ज्ञानले अझै बढी सक्षमता बृद्धि गर्दछ । तसर्थ जुनसुकै क्षेत्रमा काम गर्दा पनि एउटै मात्रै विषय पढेको समकक्षी भन्दा उत्कृष्ट ठहरिने हुनाले यो कोर्ष उत्कृष्ट मानिएको हो । नेपालको संविधान अनुसार देश संघीयतामा प्रवेश गरिसकेपछि देशमा ३ तहको चुनाव सम्पन्न भइसकेको अवस्था छ । यतिबेला देशभरीका गाउँ शहर स्मार्ट सिटी या स्मार्ट टाउन बन्ने अभियानमा जुटेका छन् । यो अभियानलाई सफल पार्न व्यवस्थापन र आइटी दुवै ज्ञान भएको जनशक्तिको आवश्यकता पर्दछ । यो आवश्यकता बिसिआइएस कोर्षबाट मात्रै पुरा हुन्छ । फेरी गण्डकी प्रदेशमा पोखरा कलेज अफ म्यानेजमेन्टले मात्रै बिसिआइएस कोर्ष सञ्चालन गरेको हुनाले यसको महत्व अझैै बढी भएको विश्वास हामीले गरेका छौं ।

कस्ता विद्यार्थीले बिसिआइएस अध्ययन गर्न सक्छन् ?
विज्ञान र व्यवस्थापन लगायत अन्य विषयमा प्लसटु अध्ययन गरेका उत्कृष्ट विद्यार्थीले यो कोर्ष अध्ययन गर्न सक्छन् । प्रत्येक विषयमा कम्तीमा सि ग्रेड प्राप्त गरेका विद्यार्थीले आवेदन गर्न सक्छन् ।

कलेजको जनशक्ति कस्तो छ ?
लामो समयसम्म अध्यापन गराएका उत्कृष्ट प्राध्यापकहरु पोखरा कलेज अफ म्यानेजमेन्टमा कार्यरत हुनुहुन्छ । कलेजको गुणस्तर राम्रो हुनुमा उहाँहरुको योगदान महत्वपूर्ण छ । बिसिआइएस कार्यक्रम संयोजकमा हामीले लामो समयदेखि आइटीको क्षेत्रमा अध्यापनरत प्राध्यापकलाई नियुक्त गरेका छौं । अन्य विषयहरुमा पनि अनुभवी तथा दक्ष प्राध्यापकहरु नियुक्त गरी कक्षा सञ्चालन गरेका छौं । प्रयोगात्मक हिसाबले पनि हाम्रा प्राविधिकहरु उत्कृष्ट तथा अनुभवी छन् ।

You might also like

Comments are closed.