सन्देश श्रेष्ठ/पोखरा
पोखराको लेखनाथमा पोखरा जुलोजिकल पार्क निर्माणको काम धमाधम भइरहेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा पर्ने पचभैया सामुदायिक वन, चैनपुर सामुदायिक वन र चायापानी चिसाकुना सामुदायिक वन क्षेत्रको १ सय ३४ हेक्टर वन क्षेत्रमा पोखरा जुलोजिकल बनाउने काम भइरहेको हो । पोखरा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल अध्यक्ष रहेको पोखरा जुलोजिकल पार्क निर्माण समितिले पार्क निर्माणको काम तिव्र गतिमा गरिरहेको छ । पचभैयामा चिडियाखाना निर्माण गर्ने उद्देश्यले २०७२ साल साउन १५ गते स्थापना गरिएको थियो ।
शुरुमा चिडियाखाना बनाउने उद्देश्यले काम शुरु भएपनि हाल आएर यो पोखरा जुलोजिकल पार्कमा परिणत भएको छ । युनाइटेड क्लवले चिडियाखाना निर्माण गर्ने उद्देश्य अनुरुप आर्थिक संकलनका लागि पोखरा महोत्सव शुरु गरेपछि तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेललाई संयोजक तोकेर चिडियाखानालाई प्रदेशको गौरव आयोजना घोषणा गरेका थिए । बख्रेल संयोजकत्वमा काम अघि बढेपछि त्यसलाई सरकारले वन्यजन्तु उद्धार केन्द्र भनेर दर्ता ग¥यो । तर हाल प्रदेश सरकारले यसलाई पोखरा जुलोजिकल पार्क बनाउनका लागि डिपिआर तयार गर्न निर्देशन दिएको पोखरा जुलोजिकल पार्क निर्माण समितिका संयोजक हिमालय बख्रेलले जानकारी दिए । पोखरा जुलोजिकल पार्क खुल्ला चिडिया घरको अवधारणामा अघि बढेको उनले बताए ।
पोखरा जुलोजिकल पार्क निर्माणका लागि युनाइटेड क्लवले हालसम्म ४५ लाख ८५ हजार रुपैयाँ खर्च गरिसकेको संयोजक बख्रेलले जानकारी दिए । उनका अनुसार वन कार्यालय कास्कीले २४ लाख र साविक लेखनाथ नगरपालिकाले १० लाख रुपैयाँ प्रदान गरेको र सो रकमपनि पार्क निर्माणमा खर्च भइसकेको छ ।
चिडियाखाना निर्माणका लागि पोखरा महानगरपालिकाले पनि ३४ लाख रुपैयाँ प्रदान गरेको छ । प्रदेश सरकारले दिएको १ करोड ५० लाखले अहिले धमाधम काम भइरहेको बख्रेलले जानकारी दिए । असार मसान्तसम्म खर्च गरिसक्ने गरी रकम छुट्टिएकाले सो अनुसार काम भइरहेको उनले बताए । असारमा नसकिएपनि असोज मसान्त सम्ममा कसैगरी काम सक्नेगरी काम भइरहेको उनको भनाई छ । प्रदेश सरकारले विभिन्न १० वटा टास्क दिएर डिपिआर तयार गर्न निर्देशन दिएको पोखरा जुलोजिकल पार्क निर्माण समितिका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारले आफ्नै गौरवको योजना ठानी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालय गण्डकी प्रदेश पोखराको प्रत्यक्ष निगरानीमा चराको इनक्लोजर, मृगको ठूलो इनक्लोजर ब्लक, वन्यजन्तुको लागी पानी ट्याङ्की, घाइते वन्यजन्तुको उपचार कक्ष, बांदरको इनक्लोजर, विरामी तथा घाइते बन्यजन्तु बोक्ने स्ट्रेचर, विभिन्न इनक्लोजर सम्म पुग्ने गोरेटो बाटो, हिमालयन थारको इनक्लोजर, भालुको इनक्लोजर र उक्त क्षेत्रमा प्रवेश गर्ने प्रवेशद्धार निर्माणका लागि रकम दिइएको हो ।
हालसम्म वन्यजन्तु उद्धार केन्द्रका लागि आवश्यक केजहरु निर्माण गरिएका छन् । समितिले जानकारी अद्यावधिक गर्नका लागि शुरुमा एउटा सचिवालय राख्न कार्यालय स्थापना गरेको छ । त्यसको अगाडि पट्टी पार्किङ क्षेत्र बनाएको छ । पार्किङ भन्दा केहि तल वन्य जन्तु उद्धार केन्द्र निर्माण गरिएको पार्क निर्माण समितिका महासचिव दामोदर भक्त थापाले जानकारी दिए । जहाँ मृग, रतुवा, जरायो, निलगाई, वन विरालो, सिवेट, बाँदर, अजिंगर, चिल, हुचिल, गिद्धलगायतको उद्धार केन्द्र राखिएको उनले बताए । सो ठाउँमा अहिलेपनि विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीहरु उद्धारका लागि राखिएका छन् । उद्धार केन्द्र भन्दा थोरै तल बाघको खोर बनाइएको छ भने त्यो भन्दा थोरै तल मृगस्थली कुञ्ज बनाइएको छ ।
हाल मृगस्थली कुञ्जमा ६ वटा मृग राखिएको महासचिव थापाले जानकारी दिए । गण्डकी प्रदेश सरकारले पोखरा जुलोजिकल पार्कको डिपिआर तयार गर्नका लागि १ करोड ५० लाख छुट्याएको छ । १ सय ३४ हेक्टर वन क्षेत्र भित्रै विभिन्न वन्यजन्तुहरुको लागी प्राकृतिक बासस्थान अनुकुल हुने गरी विस्तृत अध्ययनका प्रतिवेदन (डिपिआर) का लागी प्रदेश सरकारले रकम विनियोजन गरिसकेको अध्यक्ष बख्रेलले जानकारी दिए ।
यसैबीच, पोखरा महोत्सवको अवसरमा दर्शकलाई पोखरा जुलोजिकल पार्कको भ्रमण गराइने भएको छ । महोत्सव शुरु भएको भोलिपल्ट २८ गतेदेखि माघ ८ गतेसम्म प्रत्येक दिन बसमा चढाएर दर्शकलाई निःशुल्क रुपमा जुलोजिकल पार्कको भ्रमण गराइने बख्रेलले जानकारी दिए । पार्क निर्माणको काम कहाँ पुगेछ भन्ने जानकारी दिनका लागि जुलोजिकल पार्क भ्रमण गराउन लागिएको उनले बताए । असोज पछि भने जुलोजिकल पार्क भ्रमण खुल्ला गरिने उनले बताए ।