पोखरा नर्सिङ क्याम्पसमा नर्सिङ दिवस मनाइयो

आर्थिक आवाज
पोखरा, १५ माघ । ५७औं राष्ट्रिय नर्सिङ दिवस देशभर मनाइएको छ । यसैक्रममा पोखरा नर्सिङ क्याम्पसमा पनि नर्सिङ दिवस मंगलबार बनाइएको छ । ‘गुणस्तरीय नर्सिङ सेवाको लागि सुरक्षित कार्यस्थल’ नाराको साथ दिवस मनाइएको हो । कार्यक्रममा विभिन्न तहमा अध्ययनरत छात्राहरुले आफ्ना कविता, गीतहरु प्रस्तुत गरेको उपप्राध्यापक गिता घिमिरेले जानकारी दिइन् ।

पोखरा नर्सिङ क्याम्पसका निमित्त क्याम्पस प्रमुख शारदा शर्माको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु, विद्यार्थीहरु तथा कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा यस वर्षको नाराको विषयमा क्याम्पसका भूतपूर्व क्याम्पस प्रमुख निरुपा थापाले प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा क्याम्पसका उपप्राध्यपक रेखा थपलिया, क्याम्पसका प्रशासनिक प्रमुख प्रजापति पराजुली, रीता पाठक लगायतले बोलेका थिए । नर्सिङ सेवा गुणस्तरीय बनाउनको लागि नर्सहरु आफ्नो कार्यस्थलमा नै शारीरिक रुपले, मानसिक रुपले, आर्थिक रुपले र सामाजिक रुपले सुरक्षित भए मात्रै उनीहरुले प्रभाबकारी र गुणस्तरीय सेवा दिन सक्ने उनीहरुले बताए ।

नेपालमा नर्सिङ पेशाको सुरुवात पहिले नै भएको भएपनि २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको बिधिवत रूपमा स्थापना भएको हो । त्यस समयदेखि निरन्तर हरेक वर्ष माघ १५ गते विभिन्न नाराका साथमा राष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ ।

You might also like

Comments are closed.