पोखरा, २६ मंसिर
पोखराको न्युरोड प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले कास्की पोखरा महानगरपालिका १३, बाँझापाटनमा शाखा संचालनमा ल्याएको छ ।
शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्न खोलिएको उक्त शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सि.ले उद्घाटन गरे । कार्यक्रममा पोखरा म.न.पा. १३ का वडा अध्यक्ष लेख बहादुर तामाङ, भद्रकाली बहुमुखी क्याम्पसका प्रमुख नवराज रेग्मी, कोन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शरदकान्त सिग्देल लगायतले शुभकामना व्यक्त गरेका थिए । बैंकका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले स्वागत तथा अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
चुक्ता पुँजी रु. ८५.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व ७ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४३ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ ।
उक्त शाखा मार्फत संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिङ तथा सि–आश्वा लगायतका सेवा दिनुका साथै हालै सम्पन्न वित्तीय संस्थाको आ.व. २०७४÷७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।