पोखरा ।
देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब सवा ६ अर्बको बजेट प्रस्तुत गरेको छ । महानगरको छैटौं नगरसभामा बुधबार महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७÷७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको भन्दा ८५ करोड ६८ लाखले कमी हो ।
महानगरले कुल बजेटको चालु खर्चतर्फ ५२ प्रतिशत अर्थात ३ अर्व २० करोड ८४ लाख र पुँजीगततर्फ ४८ प्रतिशत अर्थात २ अर्व ९८ करोड ८८ लाख रुपैयाँको विनियोजन गरेको छ । त्यस्तै महानगरको कार्यक्रम खर्चतर्फ ४ अर्व ६१ करोड ६८ लाख र प्रशासनिक खर्चमा १ अर्व ५८ करोड ४ लाख विनियोजन गरिएको छ । कुल बजेट मध्ये प्रशासनिक खर्चमा २ अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषहरुमा ४० करोड, संसद विकासका कोष कार्यक्रमका लागि १४ करोड तथा विभिन्न विषयगत समितिहरुको पँुजीगत खर्च ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजित गरेको उपप्रमुख गुरुङले घोषणा गरिन् ।
प्रस्तुत बजेटको खर्च बेहोर्ने श्रोतमध्ये संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख, गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण वापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार, अन्तर सरकारी अख्तियारीबाट ८५ करोड प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ । महानगरले राजश्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने जनाएको छ भने आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने बजेटमा उल्लेख छ ।
महानपालिकाले सडक कनेक्टीभिटीदेखि आकाशेपुल निर्माणसम्मलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । महानगरका सहरी र पहाडी क्षेत्रमा सडक कनेक्टिभिटी बनाउनका लागि ६५ करोड ४४ लाख ९२ हजार बजेट विनियोजन गरेको छ । निर्माण शुरु गरिएका भोटीखोला मोटरेबल पुल, घोरकुना मोटरेबल पुल, फिर्के खोला मोटरेबल पुल निर्माणसँगै पोखराको सिर्जनाचोकमा निर्माणाधीन आकाशेपुल निर्माणका लागि १३ करोड ५० लाख ४२ हजार विनियोजन गरेको छ । पोखराको महेन्द्रपुलमा लिफ्टसहितको आकाशेपुल निर्माण गर्न १ करोड ४० लाख विनियोजन गरेको छ भने मुख्य सहरी सडक अस्फाल्ट कंक्रिट गर्ने कार्यलाई निरन्तरता दिनका लागि १४ करोड ३८ लाख ३३ हजार विनियोजन गरिएको छ ।
महानगरपालिकाले आफ्नै कार्यालय भवन निर्माण कार्य अगाडि बढाउनेदेखि महानगरका व्यस्त चोकहरुमा ओभरहेड र सब–वे संरचना निर्माण, अध्ययन डिजाइनको कार्यलाइ अगाडि बढाउन बजेट विनियोजन गरेको छ । त्यस्तै, महानगरका ब्यस्त चोकहरुमा ट्राफिक लाइट जडान गर्ने भन्दै सोका लागि बजेट विनियोजन गरेको छ । महानगरले पोखरा सभागृह मर्मतसम्भारका लागि ३ करोड बजेट विनियोजन गरेको छ भने अन्र्तराष्ट्रिय सभाहल निर्माणका लागिपनि बजेट विनियोजन गरेको जनाइएको छ ।
महागनरले लेक टु लेक, केभ टु केभ जोड्ने सडकको प्राविधिक सर्वेक्षण अनुसार कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएको छ । प्रदेश सरकारले बजेट छुट्याएको लेखनाथको लामेआहालमा निर्माण गर्ने भनिएको प्रादेशिक बसपार्क र सिटी बसपार्कका रुपमा विकास गर्ने भनिएको पोखरा बसपार्क निर्माणका लागिपनि महानगरपालिकाले बजेट विनियोजन गरेको छ । महानगरले ‘हाम्रो रहर, सुन्दर सहर’ भन्ने उद्घोषका साथ टोल विकास संस्थाको सहकार्यमा आफ्नो आँगन आफै बनाऔ अभियान सञ्चालन गर्नका लागि बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले ‘हामी बनाउँछौं हाम्रो महानगर’ अभियान सञ्चालन गर्ने भएको छ । जन सहभागिता जुटाएर गर्ने सो कार्यक्रमका लागि महानगरपालिकाले २० करोड विनियोजन गरेको छ । जस अन्तर्गत सडक निर्माण, खानेपानी लाइन बिस्तार तथा बहुउद्धेश्यीय भवन निर्माण गरिने जनाइएको छ ।
महानगरले भूमि बैंक स्थापना गर्ने नीति लिदै बजेट विनियोजन गरेको छ भने ‘मेयर प्रविधि मैत्री कृषि कार्यक्रम’लाई निरन्तरता दिएको छ ।
महानगरपालिकाले पर्यटन क्षेत्रका लागि २ करोड ४६ लाख बजेट विनियोजन गर्दै पर्यटकीय राजधानी पोखरालाई विश्वभर चिनाउनका लागि विभिन्न भाषामा प्रचार सामग्री तयार गरेर प्रचारप्रसार गर्ने, महानगरलाई एग्रो टुरिजमको रुपमा विकास गर्ने, पर्यटकीय पूर्वाधार निर्माणलगायतका कार्य गर्ने जनाएको छ ।
महानगरले एक वडा, एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिदै ‘स्वास्थ्यका लागि व्यायाम’ अन्तर्गत टोल तथा पार्कहरुमा खुल्ला व्यायामशाला निर्माण गर्ने कार्यलाई निरन्तरता दिने बताएको छ । महानगरपालिकाले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि अहिलेको कार्यक्रमलाई निरन्तरता दिदै २ करोड विनियोजन गरेको छ । महानगरपालिकाले सहकारीहरुसँगको साझेदारीमा विशिष्टिकृत संस्था स्थापना गरी कोरोनाका कारण रोजगारी गुमेर विदेशबाट स्वदेश फर्किएका युवाहरुलाइ रोजगारी प्रबन्ध गर्ने कार्यक्रम ल्याउँदै सोका लागि बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले भाडामा दिइएका घर तथा सटरहरुको लकडाउन शुरु भएको चैतदेखि जेठसम्मको ३ महिनाको घरभाडा र बहालकर छुट दिने घोषणा गरेको छ । साथै उसले घरभाडा मिनाहा गरेमा घरधनीहरुलाई बहालकर छुट दिने बताएको छ । महानगरले कोरोनाका कारण व्यवसायमा असर परेकाहरुलाई विशेष कर छुट दिने उल्लेख गरेको छ ।
Comments are closed.