सन्देश श्रेष्ठ
पोखरा, १२ मंसीर । पोखरा महानगरपालिका वडा नम्बर १३ ले स्मार्ट परिचय पत्र वितरण शुरु गरेको छ । वडाले मालिका सफ्टवेयर नेपालसँगको सहकार्यमा वडाबासीका लागि निर्माण गरेको प्रविधीमैत्री स्मार्ट परिचय पत्र वितरण शुरु गरेको हो । स्मार्ट परिचय पत्र निर्माण गर्ने मालिका सफ्टवेयर नेपाल स्मार्ट लाइसेन्स निर्माण गर्ने नेपाली कम्पनी हो । बुधबार आयोजित कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामाले वडाबासी पत्रकार शोभाकान्त सिग्देललाई स्मार्ट परिचय पत्र प्रदान गरेर स्मार्ट परिचय पत्र वितरणको शुरुवात गरे ।
वडाले शुरु गरेको स्मार्ट परिचय पत्र प्रविधीमैत्री परिचय पत्र हो । स्मार्ट परिचय पत्र २ किसिमको हुन्छ । व्यक्तिका लागि सिटिजन कार्ड र परिवारका लागि फ्यामिली कार्ड गरी २ किसिमको कार्ड बनाइएको वडाध्यक्ष लामाले जानकारी दिए । व्यक्तिले सिटिजन कार्ड लिनका लागि व्यक्तिगत विवरण भर्नुपर्छ । जस्तै आफ्नो नाम, थर, उमेर, शिक्षा, पेशा, कमाई, स्थायी तथा अस्थायी बसोबास स्थान, व्यक्तिगत सम्पतीलगायतका विवरण भर्नुपर्छ ।
फ्यामिली स्मार्ट कार्ड लिनका लागि पारिवारिक विवरण भर्नुपर्छ । त्यसका लागि परिवारका सबै सदस्यको नाम, थर, सम्बन्ध, शिक्षा, पेशा, कमाई, सम्पती, गाईवस्तुलगायत सबै विवरण भर्नुपर्छ ।
त्यसपछि वडाले वडाबासीलाई कार्ड उपलब्ध गराउँछ । विवरण भरेको करीब २ महिनामा वडाले स्मार्ट परिचय पत्र उपलब्ध गराउने वडाध्यक्ष लामाले जानकारी दिए । वडाले पारिवारिक कार्ड एक पटकलाई निःशुल्क उपलब्ध गराउने उनले बताए । तर व्यक्तिले कार्ड लिएमा प्रति व्यक्ति ५२ रुपैयाँ लाग्ने वडाध्यक्ष लामाले उल्लेख गरे । स्मार्ट कार्ड बाध्यकारी नभई स्वेच्छिक रहेको उनले बताए । स्मार्ट कार्ड नबनाउनेले पुरानै प्रक्रियाबाट सेवा पाउने उनले प्रष्ट्याए ।
त्यसरी वितरण गरिएको कार्ड वडाले राखेको स्क्यान मेसिनमा राखेपछि त्यहाँ लेखिएका सम्पूर्ण विवरण प्रष्ट देखिने वडाध्यक्ष लामाले जानकारी दिए । अन्यत्र भने यो कार्ड प्रयोगमा आउने छैन । त्यस्तै वडाले दिने सम्पूर्ण सिफारिसलगायतका सेवाहरु पनि त्यहि परिचयपत्रमा राखिने भएकाले आफूलाई जे चाहिएको हो त्यो तुरुन्तै गर्न सकिन्छ ।
स्मार्ट परिचय पत्र लागू भएमा २ दिन लाग्ने काम ५ मिनेटमै हुने वडाध्यक्ष लामाले दाबी गरे । उनले भने,‘कुनै सिफारिस लिनु प¥यो भने वडाबासीले अहिले नेपाली कागजमा निवेदन लेख्नुपर्ने, अनि ढड्डा पल्टाएर विवरण हेर्नुपर्ने, त्यसपछि कर्मचारी हुँदै तोक लगाउनका लागि वडाध्यक्ष भेट्दासम्म २ दिन बित्छ, तर स्मार्ट परिचय पत्र लिने वडाबासीले उक्त परिचय पत्र लिएर आएको खण्डमा स्क्यान मेसिनमा स्मार्ट परिचय पत्र राखेपछि चाहिएको सुविधा तुरुन्तै लिन सकिन्छ ।’ उनका अनुसार सिफारिस लिनुप¥यो भने कस्तो प्रकारको सिफारिस लिने हो त्यसको विवरण कार्डमै हुने भएकाले सिधै भरेर तत्काल प्रक्रिया अघि बढाउन सहज हुन्छ । वडाध्यक्ष लामाले थपे,‘यो सेवासँग वडा कार्यालयको काम पनि घट्छ, अनि वडाबासीले निमेशभरमै सुविधा पनि पाउँछ ।’
पोखरा महानगरपालिका वडा नम्बर १३ मा करीब ४ हजार घर रहेका छन् । २०६८ को जनगणना अनुसार वडा नम्बर १३ मा १७ हजार १७ जनसंख्या रहेको छ । अहिले यो बढेपनि यकिन तथ्यांक नरहेको वडाध्यक्ष लामाले बताए ।
Comments are closed.