पोखरा महानगरले अव्यस्थित तार हटाउने

आर्थिक आवाज
पोखरा, २५ मंसिर । गत वर्षको चैत्र ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्याक्टर पोखरा महानगरको अमरसिंह चोकको बिजुलीको तारमा झुन्डियो । तारमा ट्याक्टर झुन्डिएपछि निकाल्न समस्या भयो । त्यस्तै अघिल्लो वर्षकै साउन २६ गते रानीपौवामा बिजुलीको तार एक्कासी चुडिएर सडकमा खस्दा गुडिरहेको मोटरसाइकलमा सवार एक युवाको ज्यान गयो । गएको साउन २ गते पोखराको गणेश टोलमा एक्कासी आँगलागी भयो ।

बिहान पौने ८ बजे लागेको आँगो दमकलको सहायतामा एक घन्टापछि मात्र नियन्त्रणमा आयो । अव्यवस्थित तारका कारण पोखरामा घटेका यी त प्रतिनिधि घटना मात्र हुन् । पर्यटकीय शहर पोखराका सडकमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अव्यवस्थित तारका कारण दुर्घटनाको जोखिम बढेको छ । सडक छेउका पोलमा अव्यस्थित तारहरु गुजुल्टो पारिएका छन् भने अनावश्यक रुपमा तारहरुले शहर कुरुप बनेको छ ।

जथाभावी गाडिएका पोल र तारका कारण दिनप्रतिदिन दुर्घटना बढ्ेको र पर्यटकीय शहर कुरुप बनेको भन्दै पोखरा महानगरले तारहरुलाई व्यवस्थित गर्ने काम सुरु गर्ने भएको छ । महानगरभित्र विभिन्न सेवा प्रदायक संस्थाहरुले एउटै पोलबाट धेरै तारहरु वितरण गर्दा सहर त कुरुप भएको छ नै सँगै दुर्घटनाको जोखिम पनि बढेको छ । यसले महानगरबासीलाई मात्र हैन् यहाँ आउने पर्यटकमा पनि त्रास उत्पन्न गराएको छ ।

दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले जथाभावी रुपमा बिस्तार गरिएका तारको व्यवस्थापन कार्य सुरु गर्नेभएको हो । महानगरले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका संस्थाहरुलाई बोलाएर तार व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको थियो ।

महानगरले सूचना प्रकाशित गरेपछि नेपाल टेलिकम, नेपाल विद्युत प्राधिरण, एनसेल सहित वाराही इन्टरनेट, टेलनेट प्रा.लि., पोखरा केबल, बर्डलिङ कम्यूनिकेशन र पोखरा इन्टरनेट संस्थाहरुसंगको मंगलबार भएको बैठकले तार व्यवस्थापन सहजीकरण समिति गठन गरेको छ । पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल सहित बसेको बैठकले महानगरका उपसचिव तथा सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार व्यवस्थपान सहजीकरण समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेल नेपाल सुवोध रेग्मी, वाराही इन्टरनेट सुरेन्द्र बहादुर थापा, जेएनआसिटी सोमराज गुरुङ, टेलनेट प्रा.लि बिनोद हुगाई, पोखरा केवल मनोज गुरुङ, पोखरा इन्टरनेट अजित तामाङ, वर्डलिङक कम्यूनिकशन विनोद के.सी., महानगरका नगर प्रहरी असई पुरुषोत्तम थापा, सूचना प्रविधि अधिकृत, पोखरा महानगरपालिका ई. अशोक द्वारे रहेका छन् ।

महानगरले पहिलो चरणमा सिद्धार्थ चोक– वि.पी.चोक – न्यूरोड – सभागृह चोकको तार व्यवस्थित गर्ने भएको छ । महानगरका प्रमुख मानबहादुर जिसीका अनुसार मंसिर २७ गते बिहान विपीचोकबाट तार व्यवस्थित गर्ने अभियान सुरु गरिने भएको छ । अभिायन दोश्रो चरणमा वि.पी.चोक – साघँुको मुख– महेन्द्र पुल, – नयाँ बजार–पृथ्वीचोक– सभागृहचोक, तेश्रो चरणमा सभागृहचोक – सृजनाचोक – जिरो कि.मी हल्लनचोक र चौथो चरणमा हल्लनचोक–सहिदचोक–मुस्ताङचोक सम्मका पोलका तारलाई व्यवस्थित गर्ने गरि कार्ययोजना बनाएर काम सुरु गरिने मेयर जिसीले बताए ।

‘तार व्यस्थापन गर्ने क्रममा सम्बन्धित निकाय सबै उपस्थित हुने निर्णय भएको छ । जस्को तार टाँगिएको छ । उसले आँफै व्यवस्थापन गर्नुपर्ने छ,’ महानगरका पमुख प्रशासकीय अधिृकत शेषनारायण पौडेलले भने । तार हटाउन प्राविधिक सहयोग नेपाल टेलिकमले उपलब्ध गराउने भएको छ भने अन्य सरोकारवाला संस्थाहरुले अनावश्यक तार हटाउने र व्यवस्थित गर्नेछन् । महानगरले अघिल्लो सोमबार पत्रपत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरेर तार व्यवस्थापनका लागि सम्वन्धित निकायलाई शुक्रबारसम्म जानकारी दिन अनुरोध समेत गरेको थियो ।

You might also like

Comments are closed.