पोखरा महानगर सिल गर्नेबारे भोलिमात्रै निर्णय हुने

गण्डकी प्रदेशमा मंगलबारदेखि थप कडाई

पोखरा । गण्डकी प्रदेशमा मंगलबारदेखि थप कडाई गरिने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रतिकार्यका लागि गण्डकी प्रदेश सरकारले बनाएको कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र (सिसीएमसी)ले पोखरा महानगरपालिकासहित प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्न थालेको भन्दै थप कडाई गर्ने निर्णय गरेको हो ।

पोखरा महानगरपालिकालाई सिल गर्ने महानगरपालिकाको सिफारिसबारे भने प्रदेशले कुनै निर्णय गरेन । यसअघी महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार विहान बसेको बैठकले पोखरा महानगरपालिकालाई सोमबार रातीदेखि सिल गर्न प्रदेश सरकारलाई सिफारिस गरेको थियो । तर गण्डकी प्रदेशको सिसीएमसी बैठकले स्थानिय तहबारे जिल्लास्थित सिसीएमसीले निर्णय गर्नसक्ने भएकाले महानगर सिल गर्नेबारे निर्णय नगर्ने निश्कर्ष निकालेको थियो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सिसीएमसी गण्डकी प्रदेश संयोजकसमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेश भरिनै कडाई गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने,‘मान्छे कसरी बाँच्ने भन्ने भएको छ, के को सिल गर्ने ? लकडाउन, सिल केहिपनि हुँदैन ।’

तर पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भने मंगलबार जिल्ला स्थित सिसीएमसीको बैठक बसेर महानगरलाई सिल गर्ने तयारी भइरहेको बताए । महानगरपालिका सोमबार रातीदेखि सिल हुन्छ,‘उनले भने,‘मंगलबार विहान जिल्लास्थित सिसीएमसीको बैठक छ, त्यो बैठकले मंगलबार रातीदेखि नै महानगरलाई सिल गर्ने निर्णय गर्छ ।’

सिसीएमसी बैठकले कोभिड–१९ को बढ्दो जोखिमबाट बच्न अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन प्रदेशबासीलाई आग्रह गरेको छ । साथै अत्यावश्यक काम परेर बाहिर निस्कदा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अपिल गरेको छ । सिसीएमसीले नेपालीको नजिकिदो चाँडहरु कुशेऔंशी, ऋषि पञ्चमी, हरितालिका तीजलगायतका चाँडपर्वमा सामुहिक भोज तथा कार्यक्रम रोक्ने, प्रदेशका सबै ठाउँमा सभा, सम्मेलन, सेमिनार, वार्षिकोत्सव, अधिवेशनलगायतका कार्यक्रममा रोक लगाउने निर्णय गरेको छ ।

सिसीएमसीले प्रदेशका सबै प्रवेश विन्दु (नाका)हरुमा चेकप्वाइन्ट राखेर चेकजाँचलाई थप प्रभावकारी बनाउने र प्रदेश प्रवेश गर्ने सबै व्यक्तिहरुको नाम, सम्पर्क नम्बर र सम्भव भएसम्म तस्बिरसमेतको विवरण राख्ने ब्यबस्था गर्ने निर्णय गरेको संयोजक गुरुङले जानकारी दिए ।

सिसीएमसीले कोरोनाबाट मृत्यू भएकाहरुको शव ब्यबस्थापन गर्ने स्थान तोक्न जिल्ला स्थित सिसीएमसीलाई निर्देशन दिएको छ । त्यस्तै पोखरा महानगरपालिकाको हकमा भने स्वाव परिक्षणलाई प्रभावकारी बनाउने निर्णय गरेको संयोजक गुरुङले जानकारी दिए ।

यसअघी पोखरा मंगलबारदेखि सिल हुने हल्ला चलेपछि सर्वसाधारणहरुलाई सामान जोहो गर्न भ्याई नभ्याई भयो । जसका कारण पोखराको भाटभटेनीदेखि अन्य सबै खाद्यान्न तथा तरकारीका पसलहरु दिनभरी नै भीडभाड भएको थियो ।

You might also like

Comments are closed.