पोखरा, २१ पुस । यही पुस २७ गतेबाट पोखरामा हुने आठौं पोखरा महोत्सवको तयारीलाई तिब्र बनाइएको आयोजक संस्था युनाइटेड क्लबले जनाएको छ । महोत्सवको तयारीका क्रममा शुक्रबार कास्कीमा रहेका चार वटै सुरक्षा निकायका प्रतिनिधिसँग छलफल भएको छ । कास्कीमा रहेका नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाले पुस २७ देखि माघ ८ गतेसम्म अमरसिंहचौरमा हुने महोत्सवलाई सुरक्षा प्रवन्धमा सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।
आयोजक युनाइटेड क्लबसँगको महोत्सवको सुरक्षा सम्बन्धी छलफलमा कास्कीका चार वटै सुरक्षा निकायले आआफ्नो तरिकाले महोत्सवको सुरक्षा व्यवस्थालाई चुस्त दुस्त बनाई भब्य र सभ्य बनाउन सहयोग गर्ने कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । अधिकारीले पोखरा महोत्सव सामाजिक कामका लागि आयोजना गरिदै आएकाले महोत्सवलाई भब्य र सभ्य बनाउन सम्पूर्ण कास्कीबासीको दायित्व रहेको उनले बताए ।

कास्कीका प्रहरी उपरीक्षक अशोक सिंहले महोत्सव स्थल भित्र कुनैपनि अप्रिय घटना घट्न नदिनका लागि कास्की प्रहरीले साथ दिने बताउदै प्रहरीसंगै आयोजकको सहकार्यले महोत्सव सुरक्षित रुपमा सफल हुने बताए । राष्ट्रिय अनुसन्धान आयोग कास्कीका अनुसन्धान निर्देशक एम पराजुलीले आफ्नो मातहतमा रहेको सादा पोसाकमा अनुगमन गरिने भएकाले महोत्सवमा कोही कसैले अप्रिय घटना घटाएको खण्डमा प्रहरीको दायराबाट भाग्न नसक्ने वताए ।
क्लबका अध्यक्ष सुक बहादुर गुरुङले महोत्सवलाई सफल बनाउन आयोजक र दर्शकको मात्र साथ नभएर मुख्य कुरा सुरक्षाको भएकाले महोत्सवको सुरक्षालाई चुस्त दुस्त बनाउन सुरक्षा निकायसंग मिलेर अगाडि बढ्ने बताए । महोत्सव प्रचार प्रसार संयोजक तथा क्लबका महासचिव राजु श्रेष्ठले आठौं संस्करणसम्म आइपुग्दा पोखरा महोत्सवलाई सुरक्षा निकायको सहयोगले अप्रिय घटनाहरु नघटेको बताउदै आठौं पोखरा महोत्सवलाई सफल बनाउन सुरक्षा निकायको भुमिका उल्लेखनीय रहने बताए ।
महोत्सव सुरक्षा व्यवस्थापन उपसमिति संयोजक कृष्ण थापा मगर, विद्युतीय उपकरण उपसमिति संयोजक रावत गोम्जा लामा, चेकमेट सक्युरिटी प्रालिका इन्चार्ज सरोज गुरुङ, स्वयंसेवक परिचालन उपसमिति संयोजक शिव थापा लगायतले महोत्सवको सुरक्षा व्यवस्थापनको बारेमा आआफ्नो धारणा राखेका थिए । नेपाली सेना सिद्धिबक्स गण फुलबारी ब्यारेकका मेजर डिलबहादुर बस्नेत र शसस्त्र प्रहरी बल कालिका गणका शसस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठ लगायतको उपस्थिती थियो ।
Comments are closed.