पोखरा महोत्सवसँगै पचभैयामा निर्माणाधिन जुलोजिकल पार्क हेर्ने अवसर

आर्थिक आवाज
पोखरा, ३ माघ । पोखरा महोत्सव स्थल अमरसिंह चौरबाट लेखनाथमा निर्माणाधिन पोखरा जु लोजिकल पार्कमा जानेको भीड लागेको छ । महोत्सव आयोजक युनाइटेड क्लबले लेखनाथ बस सञ्चालक समितिसँगको सहकार्यमा महोत्सवमा आउने जो पोखरा जुलोजिकल पार्क अवलोकनका लागि दर्शकहरुलाई निःशुल्क ल्याउने र लैजाने व्यवस्था गरेपछि जुलोजिक पार्कमा जाने दर्शकको भीड लागेको हो ।

महोत्सव स्थलबाट चिडियाखानको झल्को दिने गरी सजिएको बसबाट लेखनाथको पचभैयामा रहेको १३४ हेक्टर सामुदायिक वनमा निर्माणाधिन जुलोजिकल पार्कको अवलोकनका लागि दैनिक बस लाग्ने गरेको र हालसम्म ८ सय बढीले जुलोजिकल पार्कको अवलोकन गरिसकेको महोत्सव प्रचारप्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिए ।

महोत्सवकै आयोजना गरी पोखरामा नया पर्यटकीय गन्तव्य चिडियाखाना निर्माण हुनुपर्दछ भनी आवाज उठाउदै आएको युनाइटेड क्लबलाई मुलुक संघीय संरचनामा गएसंगै गण्डकी प्रदेश सरकारले चिडियाखाना निर्माणको स्वामित्व ग्रहण गरेसंगै आफ्नो उद्देश्य पुरा हुने छनक देखिएको छ । नवौं संस्करणको पोखरा महोत्सव सञ्चालन भइरहदा हालसम्म युनाइटेड क्लबले मात्र ४५ लाख ८५ हजार पोखराको लेखनाथस्थित पचभैयामा निर्माणधिन जुलोजिकल पार्कमा खर्च गरिसकेको छ ।

पोखरा महानगरको ३०, ३१ र ३२ नम्बर वडामा रहेको १ सय ३४ हेक्टरमा फैलिएका सामुदायिक वनहरु पचभैया, चैनपुर र चायापानी चिसाकुना सामुदायिक वन क्षेत्रमा यतिवेला जुलोजिकल पार्कको काम तीब्र गतिमा अगाडि बढेको छ । जुलोजिकल पार्क निर्माण अगाडि नै युनाइटेड क्लब, साविकको लेखनाथ नगरपालिका र पोखरा महानगरपालिकाको सहयोगमा उक्त स्थानमा वन्यजन्तु उद्धार केन्द्र निर्माण सम्पन्न भइसकेको छ । गण्डकी प्रदेश आसपासमा घाइते अवस्थामा भेटिएका वन्यजन्तुलाई उद्धार गरी केहीलाई खुल्ला रुपमा छाडिसकिएको छ । तीनै जनावरहरुको अवलोकनका लागि पोखरा महोत्सव सञ्चालन अवधिभर निःशुल्क बसको ब्यवस्था गरेको छ ।

यसैक्रममा बिहीबार महोत्सव स्थलबाट चिडियाखाना निर्माण स्थल पुगेर फर्केकी पोखरा १५ काजीपोखरीकी चिजा गुरुङले महोत्सवमा आफूहरुले खर्चेको पैशाबाट यति ठूलो काम भएको रहेछ भन्ने थाहा पाउदा दङ्ग परेको बताइन् । गुरुङले पाहिलो पटक अजिंगर, मृग, आकाशमा उड्ने बाजलाई नजिकबाट हेर्न पाउदा निकै खुसी लागेको बताइन् । गुरुङसंगै जुलोजिकल पार्क पुगेर फर्केका पोखराका अग्निधर तिमिल्सिनाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी ८ वर्षको अवधिमा चिडियाखाना जस्तो सबैलाई समेट्ने योजनामा लागेको र यसले जंगली जनावरको संरक्षणमा मदत पुग्ने बताउदै अन्य महोत्सवलाई नभइ पोखरा महोत्सवलाई सम्पूर्ण पोख्रेलीले साथ दिनुपर्नेमा जोड दिए ।

लेखनाथको पचभैया आसपास रहेका बासिन्दाहरुलाई समेत पचभैयामा के भइरहेको छ भन्ने कुरा समाचारमा बाहेक प्रत्यक्ष हेर्ने मौका मिलेको थिएन । मिलोस पनि कसरी हाल उक्त स्थानमा निर्माणकार्य तीब्र पारिरहदा जुलोजिकल पार्क निर्माण समितिले सर्वसाधारणका लागि उक्त स्थान खुल्ला गरेको छैन । कास्कीको मादी गाउपालिका लिपेनी घर भइ पोखरा बस्दै आएका सोमलाल दाहाल पचभैया जंगलमा पुग्दा आफूले नसोचेको कुरा देख्नुप¥यो । दाहालले आफू गाउँ आउने जाने गर्दा जंगललाई परबाट देख्ने गरेको भएता पनि भित्री अवस्था थाहा नभएको र सोमबार पोखरा महोत्सवमा आउदा आफू त्यहाँ पुग्ने इच्छा प्रकट गरी बस चढेर त्यहां पुग्दा पोखरामात्र नभइ गण्डकी प्रदेशकै गहनाको रुपमा बिकसित हुने गरी काम भएकोमा दंग परे । दहालले भने नेपालकै नमुना चिडियाखाना हुनेछ ।

उक्त स्थानमा हाल प्रदेश सरकार गण्डकीले १ करोड ५० लाख बिनियोजन गरी विभिन्न १० वटा पूर्वाधारहरु निर्माण कार्य भइरहेको छ भने प्रदेश सरकारले उक्त क्षेत्रमा चिडियाखानाको डिपिआरका लागी छुट्टै १ करोड ५० लाख रुपैयाँ निकासा भइरहेको र आगामी असोजबाट सर्वसाधारणलाई समेत जुलोजिक पार्क खुल्ला गरिने जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले वताए ।

महोत्सवको सातौ दिन चर्चित दोहोरी गायिका ज्योती मगरको प्रस्तुतीले महोत्सवमा आएका दर्शकलाई आफ्नो प्रस्तुती मार्फत भरपुर मनोरन्जन प्रदान गरिन् । ज्योतीसंगै जीवन दाहाल, माधव चापागाईं, आयुस परियार, कृष्णा गुरुङ, लक्ष्मी नेपाली, सीता परियार लगायतको प्रस्तुती रहेको थियो भने हास्य ब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुतीले महोत्सवका दर्शकले भरपुर मनोरन्जन लिएका थिए ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमतर्फ तरेली सांस्कृतिक परिवारको लोक संस्कृति रहेको थियो भने लालीगुराँस पुन मगर समाज लामाचौरको धौलागिरी क्षेत्रमा प्रचलित लोपोन्मुख मगर संस्कृतिमा आधारित थाली नाँच प्रस्तुति रहेको थियो भने लाइभ ब्याण्डतर्फ दीपक बज्राचार्य एण्ड रिदम ब्याण्डको प्रस्तुतिले महोत्सवमा सांझका दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

महोत्सवमा लोक दोहोरीतर्फ पशुपति शर्मा, जीवन दाहाल, प्रदिप त्रिपाठी, कृष्ण भण्डारी, शंकर पन्त, अनिता लामिछाने इन्द्रा गुरुङ लगायतको प्रस्तुति रहनेछ भने संस्कृतितर्फ तरेली सांस्कृतिक परिवार र अमलटारी मध्यवर्ती सामुदायिक होम स्टेको सांस्कृतिक प्रस्तुति रहनेछ भने लाइभ व्याण्डतर्फ द एज्ड ब्याण्डको प्रस्तुति रहने महोत्सव सांस्कृतिक संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.