पोखरा रंगशालामा बनाउने भनिएको फुटवल स्टेडियम भण्डारढिकमा बनाऔंः सांसद कोइराला

आर्थिक आवाज
पोखरा, ९ माघ । गण्डकी प्रदेश सांसद दीपक कोइरालाले पोखरा रंगशालामा बनाउने भनिएको फुटवल स्टेडियम लेखनाथको भण्डारढिकमा बनाउन प्रस्ताव गरेका छन् ।

प्रथम सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बुधबार बोल्दै उनले अहिले बनाउने भनिएको १६ हजार ५ सय दर्शक क्षमताको फुटवल स्टेडियम सानो हुने भएकाले त्यसलाई पोखरा रंगशालामा नभई भण्डारढिक खेल मैदानमा बनाउनुपर्ने बताएका हुन् । उनले अहिले बनाउने भनिएको रंगशाला अन्तर्राष्ट्रिय स्तरको नभई स्थानीय रंगशाला हुने भएकाले यसका लागि भण्डारढिकमै उपयुक्त हुने बताए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्षसमेत रहेका सांसद कोइरालाले १६ हजार ५ सय दर्शक क्षमताको मात्र फुटवल स्टेडियम बनाउनु भनेको पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय रंगशाला बनाउनबाट बञ्चित गर्नु भएको बताए । अहिले भनिएकै क्षमताको फुटवल स्टेडियम बनाउने हो भने पोखरा खेलकुदको अन्तर्राष्ट्रिय सहर नबन्ने ठोकुवा गर्दै उनले भने, ‘यसले अहिलेको अवस्थापनि धान्दैन, पछि यो सानो हुन्छ, यदि अहिले भनिएकै क्षमताको फुटवल स्टेडियम पोखरा रंगशालामै बनाउने हो भने अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन अर्को ठाउँ खोज्नुपर्ने हुन्छ ।’

प्रदेश सरकारले चीन सरकारसँग मिलेर पोखरामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने प्रयास गरिरहेको र त्यसका लागि पोखरा रंगशाला उपयुक्त हुने भएकाले सानो रंगशाला बनाएर ठाउँ नओगट्न आग्रह गरे ।

You might also like

Comments are closed.