पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर बन्दै

सन्देश श्रेष्ठ

पोखरा, १ वैशाख । पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर स्थापना गरिने भएको छ । खेलाडीको उपचारका लागि पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर स्थापना गर्न लागिएको हो । पोखरा रंगशालास्थित नयाँ बनेको बहुउद्देश्यीय कभर्ड हलको पश्चिमतर्फ रहेको एउटा कोठामा मेडिकल सेन्टर स्थापना गर्नेगरि काम शुरु गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । आठौं राष्ट्रिय खेलकुद सकिएलगत्तै यसको तयारी तिव्र पार्ने उनले बताए । २ महिनाभित्रमा मेडिकल सेन्टर स्थापना गरिसक्ने उनको भनाई छ ।

प्राथमिक उपचार रंगशालाभित्रै गर्ने गरी स्थापना गर्न लागिएको मेडिकल सेन्टर ५ बेडको हुनेछ । पछि बढाएर १० बेडको बनाइने अध्यक्ष श्रेष्ठले बताए । मेडिकल सेन्टरमा २ जना चिकित्सक वा सिनियर नर्स राखिने उनले बताए । उनका अनुसार पोखराका चलेका हस्पिटलहरुबाट महिनामा २ दिन २ जनाको दरले चिकित्सक वा नर्स भोलन्टियरली सहयोग मागिनेछ । त्यसका लागि केहि हस्पिटलसँग कुरा हुँदा सकारात्मक जवाफ आएको अध्यक्ष श्रेष्ठले बताए ।

मेडिकल सेन्टरमा प्राथमिक उपचारका लागि आवश्यक पर्ने फष्र्ट एड बक्स, आइभी स्ट्याण्ड, रक्तचाप नाप्ने मेसिन, थर्मोमिटरलगायतका मेडिकल सामानहरु राखिने उनले जानकारी दिए । उनका अनुसार स्पाइनल बोर्ड, सर्भाइकल बोर्ड, ब्याञ्डेज, स्ट्रिचेज सामानहरु, मुटुको चाल नाप्ने पल्स मेसिन, नेबुलाइजेर मेसिन, सक्सन मेसिन, एयर–वे, मोनिटरलगायतका सामानहरु सेन्टरमा राखिनेछ । सेन्टरमा ह्विल चेयर तथा कार्यालयका लागि केहि फर्निचरका सामानहरु पनि राखिने जनाइएको छ । मेडिकलमा निःशुल्क उपचारसँगै औषधीपनि निःशुल्क दिइने योजना रहेको श्रेष्ठले बताए ।

मेडिकल स्थापनाका लागि आवश्यक खर्च जोहो गर्ने प्रयास शुरु भएको छ । मेडिकल सेन्टर स्थापनाका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिसँग बजेट छैन, उनले भने,‘तर सहयोग संकलन गरेर भएपनि मेडिकल सेन्टर बनाएरै छाड्छौं ।’ मेडिकल सेन्टरका लागि आवश्यक सामानहरु सहयोग गर्नका लागि व्यक्तिदेखि हस्पिटलसम्म तयार रहेको उनको दाबी छ । मेडिकल स्थापनाका लागि आवश्यक सामाग्री करीब १० लाख खर्च लाग्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

खेलाडी सामान्य घाइते हुँदापनि उपचारका लागि बाहिर जानुपर्ने परिस्थितिको अन्त्यका लागि मेडिकल सेन्टर स्थापना गर्न लागिएको श्रेष्ठले बताए । उनले भने,‘खेलाडी खेल्दाखेल्दै घाइते हुन्छन्, अनि रुवाउँदै ऐइया र आत्था गर्दागर्दै उपचारका लागि बाहिरको हस्पिटल लैजानुपर्ने बाध्यता छ, यो बाध्यता हटाएर रंगशालामै उपचार गर्ने ब्यबस्थाका लागि प्रयास गरेका हौं ।’ उनले हाल प्राथमिक उपचार गरेर बाहिर रिफर गर्ने स्पोर्टस मेडिकल सेन्टर भएपनि पछि यसलाई ब्यबस्थित गर्दै अस्पतालकै रुपमा विकास गरिने बताउ । उनले गण्डकी प्रदेशका जुनसुकै जिल्लामा पनि खेलाडी घाइते भए उनीहरुको उपचारपनि मेडिकल सेन्टरमै हुने खालको बनाउने योजना रहेकोपनि सुनाए ।

You might also like

Comments are closed.