‘पोखरा र क्रिकेट पर्यायवाची बनाउनुपर्छ’

छुम्बी लामा
प्रबन्ध निर्देशक, क्वीन्स ईभेन्ट म्यानेजमेन्ट प्रालि

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि पोखरामा शुरु हुँदैछ । प्रतियोगितामा पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ फ्रेन्चाइज टिमले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले यसको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको बारेमा आर्थिक आवाजका लागि सन्देश श्रेष्ठले आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामासँग गरिएको कुराकानीः

पोखरा प्रिमियर लिगको तयारी कस्तो छ ?
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । मैदान पूर्ण रुपमा तयार भएको छ । अब खेल्न मात्र बाँकी छ । मञ्च तयार भइसक्यो । करिब ४ हजार ५ सय दर्शक बस्ने क्षमताको दर्शक प्याराफिट बनाएका छौं । मिडिया बक्स, प्लेयर बक्स, स्कोर बोर्डलगायत आवश्यक सबै पूर्वाधार निर्माण गरिसकेका छौं ।

यो कस्तो प्रतियोगिता हो ?
यो टि ट्वान्टी फ्रेञ्चाइज प्रतियोगिता मध्ये सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । यसको बिजेताले २७ लाख रुपैयाँ पुरस्कार पाउँछ । यो प्रतियोगितालाई आइसिसीले पनि मान्यता दिएको छ । यस हिसाबले पनि यो ठूलो प्रतियोगिता हो । अर्को हिसाबले भन्ने हो भने यो प्रतियोगिता क्रिकेट विकासको लागि पनि महत्वपूर्ण छ । खेलाडी उत्पादनका लागि पनि यसले योगदान दिन्छ भने खेलिरहेका खेलाडीमा पनि एक्सपोजर दिन्छ । पर्यटन प्रवद्र्धनमा पनि यसले भूमिका खेल्छ ।

प्रतियोगिताले निरन्तरता पाउँछ कि ?
पाउँछ, अवश्य पाउँछ । हामी यो प्रतियोगितालाई अब निरन्तर सञ्चालन गर्छौं । अझ ब्राण्डिङ गरेर यसलाई हामी क्यालेन्डर बनाएरै सञ्चालन गर्छौं ।

क्रिकेट विकासमा चाहीँ यसले कसरी सघाउँछ ?
पहिलो कुरा यसले खेलाडीलाई एक्सपोजर दिन्छ । धनगडी प्रिमियर लिग (डीपीएल) र एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिताले केही मात्रामा खेलाडीलाई ईंगेज गरायो । अब पोखरा प्रिमियर लिगले त्यसलाई सघाउँछ । यसले खेलाडीलाई अनुभव दिलाउँछ र खेलमा निखारता ल्याउँछ । दोश्रो कुरा नयाँ खेलाडी उत्पादनमा पनि यो प्रतियोगिताले सघाउँछ । यस्ता प्रतियोगिता नभएमा नयाँ खेलाडीले अवसर पाउँदैन । तर हामीले एउटा टीमले कम्तिमा २÷२ जना स्थानीय खेलाडी राख्नैपर्ने नियम बनाएका छौं । यसले प्रत्येक टीमलाई स्थानीय खेलाडी राख्नैपर्ने बाध्यता छ । यसो गर्दा नयाँ खेलाडीले एक्सपोजर पाउँछन् र अनुभव पनि । सँगसँगै क्रिकेटमा भविष्य छ भन्ने सन्देश पनि दिन्छ यो प्रतियोगिताले । जसका कारण युवा तथा किशोरहरुमा क्रिकेट खेलप्रति आकर्षण पनि बढाउँछ । तेश्रोचाहिं विदेशी खेलाडीले पनि खेल्छन् यो प्रतियोगिता । नेपाली खेलाडीले विदेशीसँग खेल्न पाउँदा उनीहरुको अनुभव र आइडिया पनि सिक्न पाउँछन् । यसले पनि क्रिकेटको विकासमा सघाउँछ ।

प्रतियोगिताले पर्यटनमा कसरी सघाउँछ ?
हो यो प्रतियोगिताले पर्यटनमा पनि सघाउँछ । खेल खेल्नका लागि खेलाडी आउँछन् । उनीहरु बस्ने पोखरामै हो । खेलाडीका आफन्त साथीभाइ पनि खेलाडीसँगै आउँछन् । त्यसले पनि पर्यटन प्रवद्र्धनमा सघाउँछ । दर्शक आउँछन् विभिन्न जिल्लाबाट । ती पनि पोखरा आउँदा बस्ने पोखरामै हो । त्यतिमात्रै होइन, पोखरामा विदेशी खेलाडी पनि आउँछन् । उनीहरुले हिमालको काख र तालको किनारमा क्रिकेट खेल्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राखेपछि त्यसले पार्ने प्रोमोसनल प्रभाव नै अर्कै हुन्छ । अझ आइसिसीले पनि त्यस्ता फोटाहरु सामाजिक सञ्जालमा राख्छ, यसले पोखरा र समग्र नेपालकै पर्यटन प्रवद्र्धनमा सघाउँछ । यसले पोखरामा २०२२ सम्ममा २० लाख पर्यटक भित्राउने गण्डकी प्रदेश सरकारको लक्ष्य हासिल गर्नपनि सघाउँछ ।

पीपीएल आयोजना गर्ने सोंच कसरी आयो ?
क्रिकेट संघमा लामो समय काम गरेको अनुभव र नेपाली घरेलु क्रिकेटमा केही न केही गर्नुपर्छ भन्ने पहिलेदेखि लागिरहेको थियो । सोही सोच अन्तर्गत पीपीएलको सोच बनेको हो । आफूले गरेको कामले क्रिकेटको विकास पनि होस्, खेलाडीले एक्सपोजर पनि पाओस् र उनीहरुको व्यावसायिकता पनि ।

प्रतियोगिता पोखरामा नै किन ?
पोखरा आफैमा पर्यटकीय नगरी हो । यहाँको सुन्दरता अरुमा कहाँ पाइन्छ ? हिमालको काखमा अनि फेवातालको किनारमा क्रिकेट रंगशाला छ । यस्तो संसारमा बिरलै छ । यस्तो ठाउँमा क्रिकेट खेल्न र हेर्न पाउने यो दुर्लभ अवसर पनि हो । सुदर्शन रञ्जितले खिच्नुभएको पोखराको मैदानको एउटा तस्बिरले एसीसीको अवार्ड नै जितेको थियो । त्यसले पनि मैदानको चर्चा राम्रो थियो । अन्तर्राष्ट्रियस्तरमा पोखरा भनेपछि एउटा छुट्टै क्रेज छ । क्रिकेटमा पनि यहाँ राम्रो क्रेज देखेका छौं । यसका साथै पोखरा काठमाडौंबाट नजिक पनि छ । अनि होटल, यातायात लगायतका सुविधा पनि राम्रो भएको कारणले पोखरा रोजेका हौं । खेलाडीहरुलाई पनि प्राकृतिक छटाको मज्जा लिदै यहाँको वातावरणमा खेल खेल्न सजिलो हुन्छ भन्ने हामीलाई विश्वास छ ।

प्रतियोगितालाई भविष्यमा कस्तो बनाउने योजना छ ?
यो प्रतियोगितालाई नेपालकै सर्वोत्कृष्ट प्रतियोगिता बनाउने लक्ष्य छ । अझ भनौं पोखरा र क्रिकेटलाई पर्याय बनाउने सोच अनुसार हामी अघि बढेका छौं । त्यसका लागि हामी केहीमा पनि सम्झौता गर्दैनौं । अर्थात मैदान निर्माणदेखि आर्थिक र सामाजिक सबै हिसाबले । जसले क्रिकेटको विकास पनि गरोस् अनि पर्यटनलाई पनि सघाओस् ।

पीपीएलका लागि क्रिकेट मैदान कस्तो बनेको छ ?
पोखराको क्रिकेट मैदान एकदमै राम्रो बनेको छ । पहिले झाडी भएको ठाउँ सम्याएर मैदान बनाएका छौं । पहिलोपटक खेल खेलाउन मिल्छ कि मिल्दैन भनेर रंगशाला हेर्न पुग्दा रंगशालाको बिजोग थियो । अहिले आकाश जमिनको फरक बनेको छ मैदान । यो अन्र्तराष्ट्रिय स्तरको मैदान बनेको छ । मोफसलको लागि मात्र होइन त्रिवि मैदान भन्दा पनि राम्रो बनेको छ पोखराको क्रिकेट मैदान । हेर्दै आकर्षक र खेल्नका लागि योग्य । यहाँको संरचना केही अस्थायी र केही स्थायी बनेका छन् । अब अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलाउन सकिन्छ यो मैदानमा । पोखरा प्रिमियर लिगपछि पनि मैदानलाई उही अवस्थामा मेन्टेन गरेर नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण पनि गर्न सकिन्छ अब पोखरामा ।

मैदान निर्माणमा कसरी काम भयो ?
मुम्बई र काठमाडौंबाट विशेषज्ञ ल्याएर हामीले पिच बनाएका छौं । स्थानीय कामदारहरुबाट आउट फिल्डमा काम ग¥यौं । तर आउटफिल्डको डिजाइन भने काठमाडौंबाटै विशेषज्ञ झिकाएर आकर्षक बनायौं । तीन महिना लगाएर मैदान तयार पारेका छौं । चार वटा राम्रो पिच बनाएका छौं । आउट फिल्ड पनि राम्रो भएको छ । हेर्ने हो भने नेपालमा त्यत्तिको मैदान कमै छन् । त्यसमाथि माछापुच्छ्रे र अन्नपूर्णको काखमा क्रिकेट खेल्न र क्रिकेट हेर्न पाउनु आफैंमा ठूलो कुरा हो । दर्शकको लागि अस्थायी प्याराफिट बनाएका छौं । जसमा ४५ सय जति मान्छे अट्न सक्छन् । स्थानीयको सहयोग राम्रो छ । उनीहरु सकारात्मक छन् । पुराना खेलाडी, प्रशिक्षक र खेल मन पराउने सबैले पोखरामा साथ दिइरहनु भएको छ ।

प्रतियोगिता सञ्चालनसम्म आइपुग्दा चुनौती पनि आए कि ?
कुनैपनि काम गर्दा चुनौति आउनु स्वाभाविक हो । हामीलाई पनि चुनौतिहरु सबै हिसाबले थिए । तर हामीले चुनौतिलाई अवसरको रुपमा बदल्ने कोशिष ग¥यौं । त्यसका लागि हामीले धेरै नै मेहनत ग¥यौं । मैदान निर्माणदेखि आइसिसीको मान्यता पाउनेसम्म सबैमा चुनौति थियो । तर सबै चुनौतिलाई हामीले पार गरेर प्रतियोगिता सञ्चालनको संघारमा आइपुगेका छौं । पीपीएल एउटा सपना पनि हो । त्यसलाई सफल पार्न सानो मेहनतले त पुग्दैन नै । यो लेभलको प्रतियोगिता गर्दा अन्तर्राष्ट्रिय मान्यता पनि पाउनुपर्छ । नेपाल क्रिकेट संघ निलम्बनमा रहेकाले पनि धेरै कामहरु सहज रुपमा हुन सकेका छैनन् । नेपाल क्रिकेट अभिभावकविहीन भइरहेको बेला आइसीसीसँग कुराकानी गर्न कठिन हुन्छ । यद्यपि, हामीले पहिले पनि काम गरिरहेको आधारमा प्रतियोगिताका लागि आइसीसीको सम्बन्धन लिन केही सहज भयो ।

यति ठूलो प्रतियोगिता गर्न आर्थिक कसरी जुटाउनुभयो ?
यो प्रतियोगिता ठूलो प्रतियोगिता हो । अझ हामीले यसलाई दीर्घकालसम्म लैजाने सोच बनाएका छौं । सोही उद्देश्य अनुसार क्रिकेटलाई माया गर्ने कर्पोरेटहरुले हामीलाई साथ दिइरहेका छन् । हाम्रो तयारी र योजना राम्रो भएकाले कर्पोरेटहरु हामीलाई सघाउन तयार भएका छन् । यस हिसाबले आर्थिक रुपमा हामीलाई समस्या छैन । यो सब क्रिकेटको मायाले नै हो ।

दर्शकको अपेक्षा कस्तो गर्नुभएको छ ?
क्रिकेट हेर्न दर्श आउनेमा हामी आशावादी छौं । पोखरा आफैमा सुन्दर ठाउँ हो । अनि यहाँ बस्ने पोखरेली पनि सुन्दर मन भएकाहरु छन् । साथै उहाँहरुले क्रिकेटलाई माया गर्नुहुन्छ भन्नेमा हामी ढुक्क छौं । त्यसका लागि प्रचारप्रसारलाई तिव्रता दिइरहेका छौं । एफएम, रेडियो, टेलिभिजन, पत्रपत्रिकाबाट प्रचार गरिरहेका छौं भने सामाजिक सञ्जाललाई पनि उत्तिकै रुपमा प्रयोग गरिरहेका छौं । प्रत्यक्ष मैदानमै गएर हेर्ने बाहेक हिमालय टेलिभिजनसँग लाइभ टेलिकास्टको लागि सम्झौता भइसकेको छ । अनलाइनखबरले पनि प्रत्यक्ष प्रशारण गर्नेछ ।

You might also like

Comments are closed.