पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोह सम्पन्न, ३ सय ४७ डीन लिष्ट सहित ४ हजार ८ सय २६ विद्यार्थी दीक्षित

लेखनाथ, ८ फागुन । नेपालको शैक्षिक क्षेत्रमा अग्रणी स्थान हासिल गर्न सफल पोखरा विश्वविद्यालयले मंगलबार एक विषेश कार्यक्रमका बिच आफ्नो १५ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० को खुदीमा आयोजित कार्यक्रममा वि स २०७४ माघ महिनासम्म शैक्षिक तह पार गरेका तीन सय ४७ डीन लिष्टमा पर्ने सफल विद्यार्थी सहित चार हजार आठ सय २६ जना बिद्यार्थीहरु दीक्षित भएका हुन् ।

पोखरा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रहेपनि उनको कार्यब्यस्तताले आउन नसकेपछि उपकुलपति प्रा. चिरञ्जीवि प्रसाद शर्माले सहभागी विद्यार्थीहरुलाई दीक्षित गराएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं साहित्यकार तिलविक्रम नेम्वाङ (बैरागी काइलो)ले मुलुकको विद्यमान विविधतालाई एकताको स्रोत भनेर बुझाउने शिक्षा नीति हुनुपर्नेमा जोड दिदै मुलुकको जैविक विविधताको संरक्षणमा जोड दिने राज्य र हामीहरुले सांस्कृतिक र भाषिक विधिताको संरक्षण र सम्वद्र्धनमा खुशी भएर लाग्नु आजको आवश्यकता भएको धारणा राखेका थिए ।

कार्यक्रममा विश्वविद्यालयका कुलपति प्रा.चिरञ्जीवी प्रसाद शर्माले शैक्षिक सत्र २०७४ मा स्नातक तहमा १० हजार ४५, स्नातकोत्तर तह एमफिल तहमा ९७ जना विद्यार्थीहरुलाई निःशुल्क छात्रबृत्ति उपलब्ध गराइएको जानकारी दिदै राष्ट्रिय विकासमा पोखरा विश्वविद्यालयले महत्वपूर्ण योगदान दिएको बताएका थिए ।

पोखरा विश्वविद्यालयका आफ्ना चार वटा आङ्गिक, महाविद्यालय र ५८ वटा सम्वन्धन प्राप्त महाविद्यालहरु मार्फत विभिन्न प्राविधि एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एम.फिल र विद्यावारिधि तहमा पठन पाठन गराउँदै शैक्षिकसत्र २०७४ मा आङ्गिक तर्फ दुई हजार ८० जना र सम्वन्धन प्राप्त महाविद्यालयहरु तर्फ २७ हजार चार जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

सोही अवसरमा विज्ञान तथा प्रबिधि संकाय तर्फका सबैभन्दा उच्च अंक प्राप्त गरेका गोल्ड मेडलिष्ट आयुष श्रेष्ठ, उप कुलपति पदकबाट स्नातक तहका निपेश श्रेष्ठ, स्नानकोत्तर तह तर्फ कुलपति पदकबाट हेमप्रभा रामप्रताप कर्ण, गणेश पौडेल, समिप पाण्डे र स्वेता तिमिल्सिनालाई सम्मान गरिएको थियो भने यस बर्षको लक्ष्मी विद्या पदकबाट ब्यवस्थापन संकाय व्यवसाय प्रशासनमा स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने समिप पाण्डे र विशिष्ट श्रेत्री प्राप्त स्वेता तिमिल्सिनालाई पदक प्रदान गरिएको थियो ।

कार्यक्रममा ब्यवस्थापन संकायका डीन प्रा. हरि बहादुर खड्का, विज्ञान तथा प्रविधि संकायका डीन ई. बुद्धिराज जोशी, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा . इन्द्रप्रसाद तिवारी, स्वास्थ्य विज्ञान संकायका डीन खेमराज जोशी लगायतले आआफ्नो धारणा राखेका थिए ।

You might also like

Comments are closed.