पोखरा, २३ दवैशाख
पोखरा महानगरपालिका वडा नम्बर २३ र २४ जोड्ने खहरे खोलामा गाडी गुड्ने पक्की पुल बन्ने भएको छ । प्रदेश सरकारको ६ करोड ७५ लाख ९६ हजार ३८ रुपैयाँ ३९ पैसामा खहरे खोलामा पक्की पुल निर्माण हुने भएको हो । पुलको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे ।
९० मिटर ७५ सेन्टिमिटरको यो पुल बक्स खालको हुन्छ । पुलमा १४ वटा बक्स हुने सिनियर डिभिजन ईञ्जिनियर नारायण बरालले जानकारी दिए । दुई लेनको यस पुलको कुल चौडाई ९ मिटर ९ सेन्टिमिटर रहने जनाइएको छ । जसमा साढे ७ मिटर गाडी कुद्ने भाग हुनेछ भने दायाँबाँया दुबैतर्फ १ मिटर २० सेन्टिमिटर फुटपाथ हुनेछ । जहाँबाट पैदल यात्री हिंड्न मिल्ने ईञ्जिनियर बरालले बताए ।
एम÷एस निलगिरी नेसनल जेभी, नयाँ वानेश्वर काठमाडौंले निर्माण ठेक्का लिएको यो पुल १५ महिना भित्रमा बनिसक्ने बताइएको छ । गत माघमै काम शुरु हुनुपर्ने भएपनि दुई महिना ढिला शुरु भएको पुल आगामी २०७७ साल जेढ १९ गते सम्ममा निर्माण सम्पन्न गरिसकिने कम्पनीले जनाएको छ ।
पुल निर्माण भएपछि पर्यटकीय क्षेत्र पञ्चासेसहित कास्कीको ठूलाखेत, हर्पन, भदौरे तथा स्याङ्जा र पर्वतको कास्कीसँग जोडिएका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुनेछन् । यसअघी सो ठाउँमा कच्ची पुल हुँदा सो क्षेत्रका बासिन्दालाई बर्खामा हिंडडुल गर्न गाह्रो हुने गरेको थियो । जसलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले पुल निर्माणका लागि ६ करोड छुट्याएको थियो । सोहि प्रोजेक्टलाई सहयोग गर्ने भन्दै प्रदेश सरकारले रातो किताबमै ७५ लाख बजेट विनियोजन गरेको थियो । तर प्रदेशले पनि हात हाल्न लागेको भन्दै महानगरले पुल निर्माणबाट हात झिकेपछि प्रदेश सरकारले पुल निर्माणका लागि आवश्यक सबै बजेट दिने निर्णय गरेको हो । पुल निर्माणका लागि बजेट पार्न गण्डकी प्रदेश सांसद राजिव पहारी र रामजी बराल जीवनले भूमिका खेलेका थिए ।
Comments are closed.