पोखरेली कलाकारको कलाको गला रेटिदै ! मेला/महोत्सवमा स्थानीय कलाकारको सहभागिता न्यून

सन्देश श्रेष्ठ
पोखरा, १८ पुस । महोत्सव कलाकारका लागि कला देखाउने एउटा राम्रो प्लेटफर्म हो । पछिल्लो क्रममा त झन् कलाकारका लागि महोत्सव अर्थोपार्जनको एउटा राम्रो माध्यम पनि बन्दै गएको छ । कयौं कलाकारहरुलाई महोत्सवको याम शुरु भएसँगै भ्याई नभ्याई हुन्छ । त्यस्ता कलाकारहरुलाई सेड्यूल मिलाउनै हम्मे हुनेगरेको छ ।

तर पोखरेली कलाकारलाई यसरी हुने मेला महोत्सव ‘हर्ष न विस्मात’को बन्ने गरेको छ । पोखरामा दर्जनौं मेला/महोत्सव आयोजना हुन्छन् । पोखरामा दशैं उत्सव मेला, सिटी रेवानले गर्ने मेला, पोखरा उद्योग वाणिज्य संघले गर्ने पोखरा एक्स्पो, लेखनाथ उद्योग वाणिज्य संघले गर्ने लेखनाथ महोत्सव, रेवान पोखराले गर्ने पोखरा सडक महोत्सव, आदर्श क्लबले गर्ने औद्योगिक व्यापार मेला, पोखरा युनाइटेड क्लबले गर्ने पोखरा महोत्सवलगायतका मेला महोत्सव हुने गर्छन् । तर यी सबै महोत्सवमा स्थानीय कलाकारले कमैले मात्रै स्टेज चढ्न पाउँछन् । यत्तिका धेरै मेला महोत्सवमा स्थानीय कलाकारहरुले न त आफ्नो कला देखाउन पाउँछन् न त यसलाई अर्थोपार्जनको माध्यम नै बनाउन पाएका छन् । बरु पोखरा बाहिरकै कलाकारले प्रस्तुती दिइरहँदा दर्शक बनेर हेर्नु पोखरेली कलाकारका लागि नियतिजस्तै बनेको छ ।

सुनिल थापा

हिउँद लागेलगत्तैदेखि हप्तै पिच्छे ठाउँ फेरिफेरि हुने यस्ता मेला महोत्सवमा स्थान नदिदा स्थानीय कलाकारहरुको कलाको गला रेट्ने काम भएको उनीहरुको गुनासो छ । उनीहरु आफूहरुलाई प्राथमिकता नदिएकोमा मन खिन्नता प्रकट गर्छन् ।

पोखरामा नाम चलेका कलाकारहरु पनि प्रशस्तै छन् । पोखराको डि–मर्चा व्याण्ड, कन्दरा व्याण्ड, देउराली व्याण्ड, लेकाली व्याण्ड, ब्रोसिस ब्याण्ड, कर्ण दास, बिनोद बानिया, सागर साहलगायतका थुप्रै कलाकारहरु छन् । जो महोत्सव अवधीभर खाली नै रहे । उनीहरु देशका विभिन्न ठाउँमा हुने मेला महोत्सवदेखि देश/विदेशपनि गइरहेकै हुन्छन् । तर पोखरामा उनीहरुलाई स्थान नदिदा खिन्न बनेका हुन् ।

सागर शाह

स्थानीय कलाकारलाई प्राथमिकता नदिनु आयोजकको कमजोरी भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष सुनिल थापा बताउँछन् । कन्दरा व्याण्डमा आबद्धसमेत रहेका संघका अध्यक्ष थापाले भने, ‘पोखरेली कलाकारपनि एक से एक छन्, तर आयोजकले स्थान नदिएर कमजोरी गरेको छ, यसले नयाँ पुस्ताका कलाकारमा निराशा छाउँछ ।’ उनले कलाकारको क्षमता अनुसारको प्रस्तुती राख्ने वातावरण बनाउनुपर्ने बताए । उनले भने, ‘हामी क्षमता नभएकालाई अवसर दिनुस् भन्दैनौं तर कम्तिमा क्षमता भएका साथीहरुलाई त स्थान दिनुप¥यो नि ।’

पोखरा सांगीतिक कलाकार संघका उपाध्यक्ष सागर शाह ‘एन.जे.’ले स्थानीय कलाकारलाई प्राथमिकतामा नराखेर आयोजकले पोखरेली कलाकारको कलाको गला रेट्ने काम गरेको आरोप लगाए । उनले भने, ‘हामीलाई हाम्रै स्थानीय आयोजकले स्थान नदिनु आपत्तिजनक छ, यसले कलाको क्षेत्रमा लागिरहनेलाई गम्भीर आघात पर्छ र रोजीरोटीमै असर पर्छ ।’ उनले नेपाल टेलिभिजन, रेडियो नेपाल, कान्तिपुर, एपीवान, हिमालय टिभीजस्ता ठूलठूला टेलिभिजन तथा रेडियोमा आफूहरुको गीत बजेको र दर्शक तथा श्रोताले मन पराउँदा पराउँदै पनि आयोजकले बेवास्ता गरेर कलाको अपमान गरेको गुनासो गरे । उनले नेपालका पूर्वी क्षेत्रमा मेला महोत्सव हुँदा ७५ प्रतिशत स्थानीय कलाकारलाई र बाँकी २५ प्रतिशत मात्र बाहिरकालाई लैजाने गरेको र सोही कारण मेला महोत्सव सफल हुनेगरेको दृस्टान्त दिए ।

भास्करध्वज श्रेष्ठ

अर्का चर्चित डि मर्चा ब्याण्डका भोकलिष्ट भास्करध्वज श्रेष्ठले कलाको सम्मान गर्ने परिपार्टी नहुँदा कलाकारिताको अवहेलना आयोजकले गरेको बताए । संघका सहसचिवसमेत रहेका उनले आयोजकले आफूहरुलाई बोलाउँदै नबोलाएको नभई काठमाडौंको कलाकारको तुलनामा आफूहरुलाई कम रेट भनेकाले मेला/महोत्सवमा गाउन नजानेगरेको स्पष्ट पारे । पोखरामा कलाको सम्मान नगरेपनि पोखरा बाहिर भने लगातार कार्यक्रम गर्दै आएको बताउँदै उनले भने, ‘पोखरामा भने मेला÷महोत्सव आयोजकले नजिकको तीर्थ हेलाजस्तै गरेका छन् ।’

गायक आनन्दराज बज्राचार्यले पनि पोखरामा हुने मेला/महोत्सवमा पोखरेली कलाकारलाई नै बेवास्ता गरेर अन्याय गरेको बताए । संघका सदस्यसमेत रहेका उनले भने, ‘यहिं कलाकार छन् तर प्रयोग गरिएको छैन, बाहिरका कलाकार मात्र ल्याएर कार्यक्रम गर्नु आयोजकको गम्भीर भूल हो, यसले कसैलाई राम्रो गर्दैन ।’ आयोजकले कमजोरी सच्याएर स्थानीय कलाकारलाई प्राथमिकतामा दिनुपर्ने उनको मत छ ।

विनोद बानिया

चर्चित कलाकार बिनोद बानियाले कलाकारलाई स्थानीय र अस्थानीय भन्नु नै गलत भएको बताए । उनले भने,‘कलाकार सबै एउटै हो, काठमाडौं बस्दैमा राष्ट्रिय हुने र पोखरा बस्दैमा स्थानीय हुँदैन ।’ कलाकारलाई स्थानीय नै मानेपनि त्यो झन् लोकप्रिय हुनुपर्ने धारणासहित प्रश्न गर्दै उनले भने,‘लोकल कुखुरा मन पर्ने, लोकल तरकारी चाहिने, गुन्द्रुकसमेत लोकल चाहिने, अनि कलाकारचाहिं लोकल मन नपर्ने ? कस्तो प्रचलन हो ? ।’ संघका सचिव राजेन्द्र अधिकारी ‘अपूर्ण’ले कलाकारितामा ठेक्का पट्टा लिने र दिने प्रचलनले कलाकारिताको सम्मान हुन छाडेको बताए । उनले भने, ‘कमिसनको खेलले कलाको गला रेट्ने काम हुँदैछ, यसले पोखराको कलाकारिता संकटमा पर्नसक्छ ।’

आनन्दराज बज्राचार्य

राजेन्द्र अधिकारी

You might also like
Ram Tulasi Palpa

Comments are closed.