पोख्रेली पत्रकार रामप्रसादलाई भारतमा सम्मान

पोखरा, १४ जेठ ।

पोखरा लेखनाथ १९ घार्मी घर भई भारतको मिजोरममा बिगत दुई दशकदेखि पत्रकारिता पेशामा संलग्न पोख्रेली युवा पत्रकार राम प्रसाद पौडेल भारतमा सम्मानित भएका छन् । भारतको असम राज्यस्थित शिलचरको अनेपाली संस्था (बंगाली, बिहारी, माडवारी र असमीयाहरुको संयुक्त संस्था) विश्व सम्वाद केन्द्रले पौडेललाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरेको हो । संस्थाले प्रत्येक वर्ष उक्त पुरस्कार दिदै आएको छ ।

विश्व सम्वाद केन्द्रले केन्द्रको स्थापना दिवस २७ मई २०१८ शनिबार शिलचरको शिवालिंग पार्कमा आयोजित कार्यक्रममा सम्मान गरेको हो । प्रमुख अतिथि असम विश्वविध्यालयका उपकुलपति दिनेश पाड्येले पौडेललाई यस वर्षको विश्व सम्वाद पुरस्कार प्रशस्ती पत्र सहिद १० हजार रुपैयाँ हस्तान्तरण गरे ।

पुरस्कार हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि पाड्येले विश्व सम्वाद केन्द्रले यसरी यस वर्षको पत्रकारिता पुरस्कार राज्य बाहिरको नेपाली पत्रकारलाई प्रदान गरेकोमा केन्द्रको पुरस्कार सेलेक्शन कमिटीले सही निर्णय लिएको भन्दै केन्द्रलाई धन्यवाद दिए । उनले नेपाली पत्रकारलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे । उपकुलपति पाड्येले कार्यक्रममा उपस्थित पत्रकारलाई पत्रकार राष्ट्रको चौथो अंग हो भन्दै स्पष्ट समसामायिक र पारदर्शी समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।

सम्मानित पौडेल मिजोरम राज्यबाट सरकारी मान्यता प्राप्त पत्रकार हुन् । उनले लामो समयदेखि मिजोरम गोर्खा युवा संघको मुख पत्र निगालो, मिजोेरम गोर्खा नारी समाजको मुखपत्र गहना राज्यको एकमात्र हिन्दी समाचार मिजोेम उदयको सम्पादन गरिरहेका छन् । पत्रकार पौडेल मिजोरम राज्यको एकमात्र नेपाली पत्रकार हुन् ।

पौडेललाई यसअघि पनि राज्यका नेपाली तथा अनेपाली संघसंस्थाहरुले पुरस्कृत र सम्मानित गरिसकेका छन् । पोखराका विभिन्न साहित्यिक संघसंस्थासंग आवद्ध पौडेल पूर्वोत्तर भारतमा पत्रकारितासंगसंगै कविको रुपमा पनि स्थापित छन् । सम्मानले आफूलाई थप प्रोत्साहन मिलेको उनले बताए ।

मिजोेरम सहित पूर्वोत्तर भारतमा नेपाली भाषा साहित्यको विकास कर्ताको रुपमा पनि चिनिन्छन् । मिजोरम राज्यमा नेपाली भाषा विकासमा उनको योगदान छ । मिजोरमबासी उनलाई नेपाली भाषा विकासकर्ताको रुपमा चिन्दछन् ।

You might also like

Comments are closed.