प्याराग्लाइडिङ वल्र्डकप स्याङ्जाको स्वरेकमा शुरु, ४ स्वर्णका लागि २१ राष्ट्रका १२० बढीले प्रतिष्पर्धा गर्दै

सन्देश श्रेष्ठ
पोखरा, १५ कात्तिक । नेपालमै पहिलो पटक आयोजना भएको प्याराग्लाईडिङ वल्र्डकप प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । स्याङजाको स्वरेक मैदान (भिरकोट) र डौंवाफाँटमा नेपालमै पहिलो पटक प्याराग्लाइडिङ एक्कुरेसी (स्पट ल्याण्डिङ) वल्र्ड कप २०१८ शुरु भएको हो ।

नेपाल पाराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एड्भेन्चर क्लब स्याङजाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पानसमा वत्ति बालेर उद्घाटन गरे । प्रतियोगिता कात्तिक १५ गतेदेखी १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन विहीबार प्रतियोगितात्मक प्रतिष्पर्धा नभई अभ्यास खेल मात्र भएको छ ।

प्रतियोगितामा महिला पुरुष दुबै इभेन्टमा प्रतिष्पर्धा हुँदैछ । प्रतियोगितामा पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्कुरेसी गरि ४ स्वर्ण पदकका लागि प्रतिष्प्रर्धा हुने मुल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सिताकुमारी सुन्दासले जानकारी दिईन् ।

सुक्रबारदेखि मात्र प्रतियोगितात्मक प्रतिष्पर्धा हुनेछ । प्रतियोगिले एकै दिनमा दुई राउण्ड अर्थात दुई वटा फ्लाईट गर्नुपर्ने हुन्छ । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीहरुको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटकसम्म ल्याण्डिङ गर्नु पर्नेछ ।

प्रतियोगितामा २१ देशका १२० जना प्याराग्लाईडिङ पाइलटहरु प्रतिष्पर्धामा उत्रिदैछन् । प्रतियोगितामा मित्र राष्ट्र भारत, चीनसहित एसिया तथा अमेरीकालगायतका देशका पाईलटहरुले सहभागिताको लागि नाम दर्ता गराएको सुन्दासले जानकारी दिईन् । यसअघी ३० देशका पाइलटहरुले सहभागिता जनाउने भनिएपनि सबैले नाम दर्ता नगराएको प्रतियोगिता संयोजक शैलेन्द्र राउतले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न प्याराग्लाईडिङको सर्बोच्च निकाय एफ.ए.आई.का प्रतिनिधिहरुको ३ सदस्यीय टोलीसमेत स्याङजा आएको संयोजक राउतले बताए । उनका अनुसार एफ.ए.आई.का प्रतिनिधि ईण्डोनेसियाका उगा र मुनिर तथा मलेसियाका नादिया आएका छन् ।

प्रतियोगितामा हुनसक्ने दुर्घट्नालाई मध्यनजर गरेर सुरक्षाको प्रबन्ध गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि पाइलटहरुको सुरक्षाका लागि रेस्क्यू टिम, एम्बुलेन्स र हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको सचिवालय प्रमुख अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले स्याङ्जाले प्याराग्लाईडिङको वल्र्ड कप गर्न पाउनु देश, खेलकुदकर्मी तथा सम्पूर्ण नेपालीको लागि गौरवको कुरा भएको बताए । उनले सबै स्थानिय तहमा खेलकुद मैदान बनाउन सरकार लागिपरेको र त्यसका लागि स्थानियको ३० प्रतिशत र सरकारको ७० प्रतिशतको लगानीमा मैदान बनाइने बताए ।

संघीय सांसद नारायणप्रसाद मरासिनीले प्याराग्लाइडिङ वल्र्ड कपले समृद्ध नेपाल र सुखी नेपाली अभियानका लागि कोशेढुंगा सावित हुने बताए ।

नेपाल प्याराग्लाईडिङ तथा ह्याण्ड ग्लाईडिङ संघका अध्यक्ष रुपनारायण श्रेष्ठले पोखरामा प्याराग्लाईडिङ बिस्थापन हुने क्रममा रहेकाले स्याङजाको स्वरेक विकल्प बन्ने बताए । उनले स्वरेकमा प्याराग्लाईीडङको विश्वविद्यालय बनाउने घोषणा गर्दै बिदेश पलायन हुने क्रमका युवाहरुलाई प्याराग्लाईीडङ सिकाएर एक पटकको २ हजार कमाउनसक्ने बनाउने बताए ।

पोखरामा यसअघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाईडिङ र पोखरा तथा स्याङजाको स्वरेकमा प्रि–वल्र्ड कप गरिएको थियो ।

१८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाईडिङको क्रस कन्ट्रीतर्फ रजत पदक हात पार्न सफल भएको थियो ।

जिल्ला समन्वय समित स्याङजाको सहयोगमा हुने प्रतियोगिताको समूहतर्फ स्वर्ण पदक बिजेताले १५ सय, रजत पदक बिजेताले २ सय र काश्य पदक बिजेताले ७ सय युरो प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगततर्फ स्वर्ण पदक बिजेताले १ हजार, रजत पदक बिजेताले ७ सय ५० र काश्य पदक बिजेताले ५ सय युरो प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करीब १ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको संयोजक शैलेन्द्र राउतले बताए ।

You might also like

Comments are closed.