प्रचण्डद्वारा सिक्लेसमा शान्ति स्मारक अनावरण, सिक्लेसमा यस्तो बोले प्रचण्ड र सिटौलाले

ढुक्क भएर बस्ने अवस्था अझैपनि छैन : प्रचण्ड
सरकारले अपेक्षाकृत काम गर्न सकेन : सिटौला

सन्देश श्रेष्ठ
सिक्लेस, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबारबाट बाहिरिएकाहरुका कारण ढुक्क भएर बस्ने अवस्था नरहेको बताएका छन् । शान्ति प्रक्रियाको प्रस्थान बिन्दु भनेर चिनिने कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा निर्माण गरिएको शान्ति स्मारकको अनावरण गर्दै उनले दरबारबाट बाहिरिएकाहरु तथा देशमा अशान्ति मच्चाउनेहरुले विभिन्न नाममा देशमा आतंक मच्चाएर उपलब्धीहरु खोस्ने षडयन्त्र भइरहेकाले ढुक्क भएर बस्ने स्थिति नभएको बताएका हुन् । उनले भने,‘दरबारबाट बाहिरिएका शक्तिहरु अहिलेपनि पहाडमा साम्प्रदायिकता मच्चाएर भएका उपलब्धीहरु मास्ने षडयन्त्रमा लागेका छन्, त्यसैले ढुक्क भएर बस्ने स्थिति छैन ।’ तराईमा पनि बिखण्डनकारीहरु सल्बलाउने प्रयास गरिरहेको उनको भनाई छ । उनले परिवर्तनकारी शक्तिहरु सचेत हुन जरुरी रहेको भन्दै तत्कालिन गणतन्त्रका पक्षधरहरु, परिवर्तनका पक्षधरहरु नेकपा, नेपाली कांग्रेंससहितका ७ दल एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रचण्डले संविधान, संघीयता, समावेशी लोकतन्त्र र धर्मनिरपेक्षता परिवर्तनका मूल आधार भएको बताउँदै उनले यस मध्ये कुनै एउटा आधार भत्किएमा सबै आधार भत्किने चेतावनी दिए । कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाजस्ता टावरिङ पर्सनालिटी भएका व्यक्ति अहिले नहुँदा अभाव खड्किएको बताउँदै उनले भने,‘बहुमत नभएपनि एक्लै निर्णय गरेर अगाडि बढ्नसक्ने गिरिजाजस्तो टावरिङ पर्सनालिटी भएको व्यक्ति पनि कांग्रेसमा छैन, अहिले कांग्रेसकै केहि नेताहरु संविधान मात्र होइन, परिवर्तन प्रति नै नाखुस् छन्, पार्टीमा शान्ति प्रक्रियामा सहभागि नेताहरु भन्दा ति परिवर्तन प्रति नाखुस व्यक्तिहरुकै बोलवाला छ, सञ्चार माध्यमबाट सुनिदैछ, उनीहरु महासमितिमार्फत अर्कै बाटो लाग्ने प्रयासमा छन् ।’ उनले परिवर्तनकारी दलहरु सचेत नभए प्रतिक्रान्ति र निरंकुशताको फेरी आएर परिवर्तन मासिन सक्छ । यद्यपी अहिलेनै निरंकुशताबादीहरु आईहाल्यो भनेर आफूले भन्न नखोजेको स्पष्ट पारे ।

प्रचण्डले गिरिजालाई आफूले गणतन्त्रमा आउनेभए आफूहरु शान्ति र लोकतन्त्रमा आउने बताएको स्मरण गरे । उनले भने,‘मलाई गिरिजाबाबुले पहिलो भेटमा तपाईं शान्ति र लोकतन्त्रमा आउने हो कि भनेर सोध्नुभयो, दोश्रो भेटमा मैले गिरिजाबाबुलाई तपाई गणतन्त्रमा आउने हो भने हामी शान्ति र लोकतन्त्रमा आउँछौं भनेको थिएँ ।’ उनले पार्टी र व्यक्तिगत जोखिम मोलेर शान्ति प्रक्रियामा आएको बताउँदै नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय बनेको र अध्ययनको विषय बनेको उल्लेख गरे । उनले शान्ति प्रक्रियामा ल्याउनका लागि गिरिजाबाबु, माधव नेपाल, केपी ओलीलगायतका नेताहरुको महत्वपूर्ण र जोखिमपुर्ण भूमिका रहेको बताए ।

प्रचण्डले सिक्लेस ऐतिहासिक, सांस्कृतिक, शान्ति प्रक्रियाको आरम्भ र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताए । उनले भने,‘सिक्लेस सबै हिसाबले महत्वपूर्ण छ, यो ठाउँ शान्ति प्रक्रियाको प्रस्थान बिन्दु हो, नेपालको लागि मात्र होइन यो विश्वकै लागि अध्ययनको केन्द्रबिन्दु बन्नेछ, आउँदो दिनमा सिक्लेस शान्ति प्रक्रियाको प्रस्थान बिन्दु भनेर चिन्नेछन् ।’

प्रचण्डले सिक्लेसको बाटो बनाईदिने घोषणा गरे । १२ वर्षअघी वार्ताका लागि सिक्लेसमा प्रकट हुँदा आफैले गरेको बाचा सम्झँदै प्रचण्डले भने,‘पोखराबाट नजिक भएरपनि सिक्लेस त टाढाजस्तो रहेछ, म यो पोखराको बिजयपुरदेखी सिक्लेससम्मको ४० किलोमिटरको बाटो पिच गर्न बजेट पारिदिने प्रतिबद्धता व्यक्त गर्दछु, अब अर्को पटक आउँदा अहिलेजस्तो ४÷५ घण्टाको बाटो पिच भएर आधा घण्टा वा ५० मिनेटमा झरेर सरर आउने भइसक्छ ।’

प्रचण्डले नीजि क्षेत्रसँग मिलेरै विकास र समृद्धी ल्याउने बताए । नीजि क्षेत्र बिना विकास र समृद्धी सम्भव नभएको बताउँदै यो सरकारले पनि त्यो बुझिसकेकाले नीजि क्षेत्रलाई सँगसँगै अघि लगाएर विकास र समृद्धी ल्याउने उनको भनाई थियो ।

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले परिवर्तनको स्पििरिट अनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए । नयाँ सरकार आएको एक वर्षमा जति हुनुपथ्र्यो त्यति नभएकोमा रोष प्रकट गर्दै उनले भने,‘एक वर्षमा यो सरकारले जति प्रगति र विकास गर्नु पथ्र्यो त्यति हुन सकेको छैन, अपेक्षा अनुसार काम गर्न सकेन, त्यस्तै प्रतिपक्षले पनि जति विरोध गर्नुपथ्र्यो त्यो पनि गर्न सकेन ।’ उनले कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए ।

तत्कालिन सरकारी पक्षका वार्ता समितिका संयोजकसमेत रहेको कांग्रेस नेता सिटौलाले द्घन्द्घकालका पीडित पक्षलाई न्याय दिनुपर्ने बताए । उनले द्घन्द्घ कालमा १७ हजार मान्छेले ज्यान गुमाउनुका साथै कयौं बेपत्ता भएको बताउँदै ति पीडित पक्षलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत न्याय दिलाउनुपर्ने भन्दै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्ने बताए ।

सिटौलाले सिक्लेसमा प्रचण्ड भएको भेटको स्मरण गर्दै गिरिजाकै कारण शान्ति पक्रिया अगाडि बढ्न सम्भव भएको बताए । उनले भने,‘गिरिजाबाबुजस्तो टावर पर्सनालिटी नभएको भए सायद नेपालको शान्ति प्रक्रिया र वार्ता के हुन्थ्यो थाहा छैन ।’ उनले आफूलाई प्रचण्डले वार्ता नमिले के हुन्छ भनेर सोध्दा आफूले सटिक जवाफ दिएको स्मरण गर्दै भने,‘तपाई जहाँ जान चाहनुहुन्छ, म त्यहिं लगेर छोड्छु ।’

प्रदेश सांसद मनबहादुर गुरुङले शान्तिको साक्षी सिक्लेस भएकाले उक्त शान्ति प्रक्रियाको प्रस्थान बिन्दु सम्झाउनका लागि शान्ति स्तम्भ बनाएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक मुद्धा सकिएकाले अब सबैको मुद्धा विकास र समृद्धी भएको बताए । त्यसका लागि सरकारले सहजीकरण गर्दै नीजि क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।
सोमबार अनावरण गरिएको शान्ति स्तम्भ १५ लाखको लागतमा निर्माण गरिएको हो । मादी गाउँपालिकाको १० लाख, शान्ति स्तम्भ निर्माण गरिएको सम्बन्धित वडा मादी गाउँपालिका वडा नम्बर १ को १ लाख र स्थानियको ४ लाखको श्रमदान गरी १५ लाखको लागतमा सिक्लेसमा शान्ति स्तम्भ निर्माण गरिएको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । करीब डेढ रोपनी क्षेत्रफलमा २० वटा भाव झल्कनेगरी स्तम्भ निर्माण गरिएको उनले बताए । ३ महिना लगाएर निर्माण गरिएको यस स्तम्भ परिसरमा अर्काइभमार्फत शान्ति प्रक्रियाका विभिन्न झलक देखाइने उनको भनाई छ ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउने वातावरण निर्माणका लागि तत्कालिन द्वन्द्वरत पक्ष नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता बाबुराम भट्टराई सिक्लेसमा आजभन्दा १२ वर्षपहिले पहिलोपटक सार्वजनिक भएका थिए । उनीहरु २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएका थिए । तत्कालिन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्रचण्ड र बाबुरामलाई भेटेका थिए । त्यसको २ दिनपछि उनीहरु कास्कीकै लामाचौरबाट हेलिकोप्टरमार्फत सिधै काठमाडौं पुगेका थिए ।

सो दिनलाई ऐतिहासिक दिन मान्दै मादी गाउँपालिकाले सोहि दिनको सम्झना स्वरुप शान्ति स्तम्भ निर्माण गरेको मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ले बताए । उनले भने,‘शान्ति प्रक्रियाको लागि प्रचण्ड, बाबुराम सिक्लेसमा उत्रिएको ऐतिहासिक दिन हो, यो शान्ति प्रक्रियाको प्रस्थान बिन्दु हो, त्यहिंबाट विद्रोह शान्तिमा रुपान्तरण भएको हो, त्यसैले यसैको सम्झना स्वरुप हामीले शान्ति स्तम्भ बनाएका हौं ।’

अध्यक्ष गुरुङले शान्ति स्तम्भले विद्रोहको शान्तिपूर्ण रुपान्तरणको पाइलालाई चीरस्थायी रुपमा सम्झाउने उनले बताए । यसले द्वन्द्वको विभिषिकाबाट पाठ सिक्दै समाज रुपान्तरणका कामलाई पनि निरन्तरता दिन नेतृत्वलाई दवाब दिने उनको विश्वास छ । नयाँ पुस्तालाई इतिहासको आलोचनात्मक समीक्षा गर्नपनि झकझकाईरहने उनको विश्वास छ । साथै विश्वसामु नेपालको द्वन्द्व ब्यबस्थापनको उदाहरणीय बाटो सम्झाइरहन पनि भूमिका खेल्ने उनको जिकिर छ ।

शान्ति स्तम्भले पर्यटक आगमनमा पनि सघाउ पु¥याउने उनले बताए । उनले भने,‘शान्ति स्तम्भले नेपाल मात्र नभई नेपालको शान्ति प्रक्रियाको पहिलो पाइला चालिएको ठाउँ सिक्लेसलाई विश्वमै परिचित गराउनेमा हामी ढुक्क छौं ।’

You might also like

Comments are closed.