प्रजू प्यानललाई दशजना पूर्व अध्यक्षहरुको समर्थन

पोखरा, ३, असोज ।

पोखरा उद्योग वाणिज्य संघका १० जना पूर्व अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेर रवीन्दबहादुर प्रजूको प्यानललाई समर्थन गरेका छन् । पूर्व अध्यक्षहरु सुुरेशकुमार राजभण्डारी, हेमबहादुर प्रधान, आनन्दराज मुल्मी, वसन्त उदास, रमेश कर्माचार्य, राजेन्दकुमार लालचन, दीपक श्रेष्ठ, मानकाजी माकाजू, कृष्णमोहन श्रेष्ठ र विन्दुकुमार थापाले संयुक्त रुपमा विज्ञप्ति निकालेर पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वमा प्रजू प्यानललाई समर्थन गर्दै निर्वाचित गराउन सबै व्यवसायी मतदाताहरुलाई अपिल समेत गरेका छन् ।

राजनीति र स्वार्थभन्दा माथि उठेर व्यवसायीको हितका लागि समर्पित यस संस्थाले वर्षौदेखि विधि, विधान, सहमति र सहकार्यलाई प्रमुख मन्त्रका रुपमा मानेको उल्लेख गर्दै पूर्व अध्यक्षहरुको हस्ताक्षर रहेको विज्ञप्तिमा व्यवसायीका बीचको भातृृत्व कायम राख्न र व्यवसायिक वातावरण तयार गर्न समेत सहमती र सहकार्यको विकल्प नभएको उल्लेख गरिएको छ । तर सोही सहमतीको मर्म र भावना अनुरुप ३२औ महाधिवेशनमा हालका बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजूलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन वर्तमान अध्यक्ष, पूर्व अध्यक्ष र वर्तमान महासचिवको सक्रियतामा लिखित सहमती भएको भएपनि अकस्मात उक्त सहमतीमा हस्ताक्षर गर्ने वर्तमान महासचिवले नै सहमती विपरित उम्मेदवारी दिएकाले आश्चर्य पूर्व अध्यक्षहरुको विज्ञप्तिमा लेखिएको छ । सहमती गर्ने अनि सहमती तोड्दै जाने प्रवृत्ति संस्थागत हितका लागि घातक हो र यस्तो प्रवृत्तिले निजी क्षेत्रको विश्वसनियता माथि प्रश्न समेत उठ्न सक्छ । हामी अझै पनि सहकार्य र सहमतीमा जोड दिन्छौँ र वर्तमान अध्यक्ष र पूर्व अध्यक्षको रोहबरमा गरिएको उक्त लिखित सहमती अनुसार नै कार्यान्वयन हुनुपर्दछ र सहमतीकै आधारमा बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजूलाई नै अध्यक्षमा अगाडी बढाउनु पर्दछ भन्ने हाम्रो मान्यता र समर्थन रहेको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघको पनि समर्थन
पोखरा इलोक्ट्रोनिक्स व्यवसायी संघ पोखराले पनि विज्ञप्ति निकालेर प्रजू प्यानललाई समर्थन गरेको जनाएको छ । संघको यसपालीको चुनावमा उमेद्वारी दिएका विभिन्न प्यानल र पक्षका उमेद्वारहरुको प्रतिवद्धतालाई केलाउँदा अनुभवी, पोउवासंघको मर्म र भावना अनुरुप काम गर्ने उमेद्वारहरु रवीन्द्रबहादुर प्रजूको प्यानलमा मात्रै रहेको महसुश गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । संघका अध्यक्ष उदयबहादुर केसीले हस्ताक्षर गरेका विज्ञप्तिमा प्रजू प्यानल नै उत्तम विकल्प भएकोले यस प्यानललाई मतदान गरी विजयी गराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई आह्वान अपिल गरिएको छ ।

उद्योग वाणिज्य तथा पर्यटन संघ प्रजूको पक्षमा
नयाँ शक्ति पाटी निकट व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य तथा पर्यटन संघले पनि विज्ञप्ति निकालेर पोखरा उद्योग वाणिज्य संघको नेतृत्वको लागि हुने यसपालीको चुनावमा रवीन्द्रबहादुर प्रजूको प्यानललाई मतदान गर्न अपिल गरेको छ । संघका अध्यक्ष राजेन्द्रप्रसाद शर्माले हस्ताक्षर गरेका विज्ञप्तिमा असोज १गते बसेको विस्तारित बैठकको निर्णय अनुसार प्रजू प्यानललाई समर्थन गरिएको जनाएको छ । दुइतिहाई बहुमत रहेको वर्तमान सरकारले उद्योगी व्यवसायीको हक हित र अधिकारको संरक्षण गर्न नसकेको बरु उल्टै अत्याधिक कर वृद्धि गरी व्यवसायीहरु विस्थापित हुने अवस्था सिर्जना गरेको कुरा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.