प्रज्ञा प्रतिष्ठान यहि महिना ः मुख्यमन्त्री गुरुङ

पोखरा, फागुन १५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान बनाउने घोषणा गरेका छन् । पोखरा अन्र्तराष्ट्रिय नाटक महोत्सवको बुधबार उद्घाटन गर्दै उनले यहि महिना भित्रमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान बनाउने घाषणा गरेका हुन् । गण्डकी प्रदेश कला, नाटक, संस्कृति संरक्षणका लागि सँधै लाग्ने बताउँदै उनले भने,‘अब चाँडै गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान गठन हुन्छ, त्यसपछि प्रतिष्ठानले आफ्नो छुट्टै भवनसमेत बनाउँछ ।’

मुख्यमन्त्री गुरुङले पोखरा नाटकको उर्वर भुमि भएको बताउँदै कला, संस्कृति, साहित्य, नाटक, खेलकुद पोखराको पहिचान भएको बताए । कला, संस्कृति, साहित्य, नाटक, खेलकुदलगायतका कार्यक्रम तथा प्रतियोगिता गर्नुको मुख्य उद्धेश्य पोखरालाई ब्राण्डिङ गर्नु भएकाले प्रदेश सरकारले यस्ता कार्यमा सँधै सहयोग गर्ने बताए । उनले नाटकलाई बजेट छुट्याउन नपाउँदा आफूलाई लज्जाबोध भएको बताउँदै उनले भने,‘हिजो प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउँदा र बजेट बनाउँदासमेत हामीले बजेट छुट्याएनछौं, तर अब कला, साहित्य संरक्षणका लागि समर्पित भएर प्रदेश सरकार लाग्छ, आगामी दिनमा सँधै सहयोग गर्छौं ।’

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सुन्दर, शान्त, समृद्ध र सभ्य समाज बनाउने चाहना रहेको बताए । प्राकृतिक हराभरा, ईको फ्रेण्ड्ली बनाउँदै त्यसलाई सौन्दर्यकरण गरेर गण्डकी प्रदेशलाई सुन्दर बनाउने, झैझगडा नभएको, सबैले सबैलाई सम्मान गर्ने, अरुको अस्तित्व स्विकार्ने, कानूनी शासनको पालना गर्ने प्रदेश बनाउने, सबै कुरा पुगिसरी भई आर्थिक रुपमा समृद्ध भएको प्रदेश बनाउने र सभ्यतालाई प्रतिनिधित्व गर्ने कला, संस्कृति, खेलकुदलगायतका क्षेत्रको विकास गरेर सभ्य समाज निर्माण गर्ने आफ्नो चाहना रहेको उनको भनाई थियो ।

गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइरालाले अहिलेको समय थोरै बोलेर धेरै काम गर्ने समय भएको बताउँदै कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा संघ, प्रदेश र स्थानिय तीनै तहका सरकार लाग्ने बताईन् ।

नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उप–कुलपति तथा नाटककार सरुभक्तले अन्र्तराष्ट्रिय नाटक महोत्सव गरेर पोखरेली नाटकमा इतिहास रच्न सफल भएको बताए । उनले पोखरामा भएको अन्र्तराष्ट्रिय नाटक महोत्सवले नाटकको उर्वर भूमि पोखरामा नाटक पुनरावृत्तिका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले नाटक जीवनको अभिव्यक्ति भएकाले विश्वका विभिन्न देशका नाटक हेरेर उनीहरुको समाज र जीवनको प्रतिविम्व देख्न पाउने सौभाग्य पोखरेलीले पाएको बताए ।

प्राज्ञ हरिदेवी कोइरालाले पोखरा र नाटक पर्यायवाचीजस्तै हुन थालेको बताईन् । उनले ४० को दशकलाई नाटकको स्वर्णकाल भन्दै सो विरासत अन्र्तराष्ट्रिय नाटक महोत्सवले फर्काउने विश्वास व्यक्त गरिन् ।

महोत्सवका निर्देशक परिवर्तनले संघर्ष र उल्झनसँग पौठेजोरी खेल्दै महोत्सव आयोजना गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । महोत्सवले पोखरासहित गण्डकी प्रदेशलाई नै रंगमञ्चमय बनाएको बताए । उनले पोखरा थियटर र युथ क्रियसन थियटरको संयुक्त आायेजनामा महोत्सव आयोजना गरेर पोखरेली रंगकर्मी एकताबद्ध भएको सन्देशपनि दिन सफल भएको बताए । युथ क्रियसन थियटरका अध्यक्ष कपिल शर्मा सञ्जोगले महोत्सवले पोखरामा नाटकको क्रेज बढाउने बताए ।

You might also like

Comments are closed.