प्रदेशकै ठूलो मोबाइल टावर पोखरामा खुल्यो, भदौ १७ देखि मोबाइल एक्स्पो

पोखरा, २० साउन । पोखराका युवा व्यवसायहिरुको लगानीमा मोबाइल टावर सञ्चालनमा आएको छ । ८ जना व्यवसायीद्वारा सञ्चालनमा ल्याइएको पोखरा मोबाइल टावर प्रालिलाई गण्डकी प्रदेशकै सबैभन्दा ठूलो मोबाइल मार्केट दावी गरिएको छ । हाल अनौपचारिक रुपमा सेवा दिइरहेको टावरलाई भदौ १७ गते औपचारिक उद्घाटन गरिने आइतबार आयोजित पत्रकार सम्मेलनमा पोखरा टावर प्रालिका अध्यक्ष उदय केसीले जानकारी दिए ।

पोखरा मोबाइल टावरको शुभारम्भको अवसरमा भदौ १७ देखि २७ गतेसम्म ११ दिन पोखरा टावर मोवाइल एक्स्पो समेत आयोजना गरिएको छ । टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् । मेलामा विभिन्न कम्पनीका मोवाइलमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।

हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने सचिव नारायण सुवेदीले जानकारी दिए । ‘मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा एक जनालाई बम्पर उपहारसमेत प्रदान गरिनेछ,’ उनले भने ।

मेलामा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । मेला नभएका बेलमा टावर बिहान ८ बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइको निःशुल्क सेवा छ । टावरभित्रै ग्राहकको सुविधाका लागि एटिएम राखिएको छ ।

टावरमा सम्पूर्ण ब्राण्डका मोबाइलहरुको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले उपभोक्ताहरुलाई सजिलो हुने सदस्य होम विलाश सापकोटाले बताए । मोबाइलका ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण सेवा उपलब्ध हुने उपाध्यक्ष किरण केसीले बताए ।

You might also like

Comments are closed.