प्रदेशको सम्पूर्ण स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र

गिता राना मगर
पोखरा, १ जेठ । सामाजिक विकास मन्त्री नरदेवी पुनले ज्येष्ठ नागरिकलाई लक्षित गरी गण्डकी प्रदेशका सम्पूर्ण स्थानीय तहमा दिवाकालीन ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने बताएकी छिन् । पछिल्लो समय ज्येष्ठ नागरिकहरु एक्लो हँुदै गइरहेकाले प्रदेश सरकारले दिउसोको समयमा ज्येष्ठ नागरिकहरुलाई एकठाउँमा जम्मा भइ एक्लोपनबाट टाढा बनाउने लक्ष्य सहित योजना अगाडि सारेको बताइन् ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगर वडा नम्बर २० भलाम हरिहर गुफा सन्यास आश्रममा ज्येष्ठ नागरिकलाई सहायता सामग्री वितरण गर्ने उद्देश्यले आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटनका अवसरमा मन्त्री पुनले पछिल्लो समय ज्येष्ठ नागरिकहरु आफ्नैै निवासमा एक्लोपनको महशुस गरेकाले प्रदेश सरकारले ज्येष्ठ नागरिकहरुबीच भेलाहुने वतावरण बनाउन लागेको बताइन् । गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटै स्थानीय तहमा दिवाकालीन ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने उनको भनाइ छ ।

पछिल्लो समय विभिन्न कारणले आफ्ना बाबु आमाको स्याहारमा छोरा, छोरी, बुहारीहरुले त्यति समय दिन नसकिरहदा प्रदेश सरकारले दिवाकालीन सेवा केन्द्र स्थापना गरी ज्येष्ठ नागरिकहरुले आफूहरुलाई एक्लोपनको महशुस नहुने गरी सेवा प्रदान गर्ने बताउँदै उक्त योजनामा केही स्थानीय तहहरुले सेवा केन्द्रको माग गरिसकेको र त्यसका लागि प्रदेश सरकारले योजना अगाडि बढाइसकेको बताइन् ।

गण्डकी प्रदेश सरकारले ज्येष्ठ नागरिकलाई सहायता सामग्री वितरण गर्ने गरी चालु आर्थिक वर्षमा ६६ लाख बजेट छुट्टयाएको र सोही अनुरुप पोखरा २० भलामबाट अभियान सुरु गरी ज्येष्ठ नागरिकहरुलाई विशेष गरी आँखा, कान र मुटु सम्बन्धी समस्या पहिचान गरी सहायता सामग्री प्रदान गरिएको बताउँदै ज्येष्ठ नागरिकको अनुभवलाई पुष्ता हस्तान्तरण गराउन पनि यस्ता शिविरले महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।

सो अवसरमा वोल्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश पोखराका अध्यक्ष कुशुम केशव पराजुलीले पछिल्लो समय आफ्ना परिवारका सदस्यहरुको व्यस्ताताका कारण ज्येष्ठ नागरिकहरुले कही कतै विभिन्न समस्याहरुको सामना गर्न परिरहेको सन्दर्भमा गण्डकी प्रदेश सरकारले अगाडि सारेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले ज्येष्ठ नागरिकहरुको सन्दर्भमा महत्वपूर्ण भुमिका खेल्ने बताउँदै प्रदेश सरकारसंग आफूहरुको संस्थाले सहकार्य गरी ज्येष्ठ नागरिकको सम्मान र संरक्षण्मा लागी पर्ने वताए ।

पोखरा महानगर वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले गण्डकी प्रदेश सरकारले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी आफ्नो वडाबाट जेष्ठ नागरिकलाई सहायता सामग्री वितरण गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी आफ्नो वडाभित्र रहेका ज्येष्ठ नागरिकहरुलाई केही हदसम्म सहयोग गरेकोमा आभार व्यक्त गर्दै आगामी दिनमा आफ्नो वडाले समेत ज्येष्ठ नागरिकको स्वास्थ्य र उनीहरुलाई सहयोग पुग्ने गरी विभिन्न कार्यक्रमहरु गर्ने बताए ।

मंगलबार सम्पन्न शिविरमा पोखरा २० भित्र रहेका १ सय ३५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जांच गरिएको थियो । उक्त अवसरमा मुटु सम्बन्धी ८७, कान सम्बन्धी २० र आँखा सम्बन्धी ६७ जनाले सेवा लिएका थिए भने २० जनालाई चस्मा र कान सम्बन्धी सुन्ने उपकरण (हेयरिङ हेड)१८ जनालाई प्रदान गरिएको थियो ।

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रमको समन्वय राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ गण्डकी प्रदेश पोखरा, ज्येष्ठ नागरिक जिल्ला संघ कास्की र पोखरा महानगरपालिका २० ले गरेको थियोभने मणिपाल शिक्षण अस्पताल पोखरा, हिमालय आँखा अस्पताल घारिपाटन पोखरा र मातृशिशु मितेरी अस्पताल पोखराको प्राविधिक सहयोग रहेको थियो ।

टिप्पणिहरु बन्द छन्.