प्रदेशस्तरीय टाइपिङको उपाधि रविलाई, पोखरामा क्यान इन्फोटेक जारी

आर्थिक आवाज संवाददाता
पोखरा, ६ फागुन । प्रदेशस्तरीय खुल्ला टाइपिङ प्रतियोगिताको उपाधि कास्कीका रवि क्षेत्रीले जितेका छन् । क्यान महासंघ कास्कीले पोखरामा आयोजना गरेको नवौं क्यान इन्फोटेकको अवसरमा आयोजित प्रतियोगितामा क्षेत्री प्रथम भएका हुन् । तक्मा बिक द्वितीय र सरस्वती शर्मा तृतीय भएको प्रतियोगिताका संयोजक महेन्द्र भुर्तेलले जानकारी दिए ।

शनिबार नै भएको कास्की जिल्ला स्तरीय प्रतियोगितामा रवि क्षत्री नै प्रथम भए भने सरस्वती शर्मा द्वितीय र तक्का बिक तृतीय भइन् । क्यान केन्द्रका केन्द्रीय सदस्य अशोक बाबु रानाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । प्रतियोगितामा विश्वास भण्डारी निर्णायक संयोजक रहेका थिए । १६ जना प्रतियोगीले प्रतिस्पर्धा गरेको भुर्तेलले जानकारी दिए ।

सहभागी प्रतियोगीलाई एक एक वटा एन्टी भाइरस उपहार प्रदान गरिएको छ । प्रथम, द्वितीय र तृतीयलाई इन्फोटेक समापनको दिन विशेष पुरस्कार प्रदान गरिने भुर्तेलले जानकारी दिए । क्यान कास्कीका अध्यक्ष युवराज पौडेलको सभापतित्वमा आयोजित प्रतियोगिताको सञ्चालन सचिव विकास भुर्तेलले गरेका थिए ।

यसैबीच, पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा इन्फोटेक जारी छ । शुक्रबार सुरु इन्फोटेक मंगलबारसम्म चल्नेछ । सूचना तथा प्रविधि क्षेत्रमा चासो राख्नेहरुको इन्फोटेकमा आकर्षण देखिएको अध्यक्ष पौडेलले बताए । ‘एक पटक इन्फोटेकको अवलोकन गरी सूचना प्रविधिको नविनतम आयाम बारे बुझ्न म सबैमा सार्वजनिक आह्वान गर्दछु,’ उनले भने ।

You might also like

Comments are closed.