प्रदेश पर्यटकीय गन्तव्यमा कास्कीका १० ठाउँ

आर्थिक आवाज
पोखरा, ६ फागुन । गण्डकी प्रदेशको एक सय पर्यटकीय गन्तव्यमा कास्कीका १० ठाउँ पर्ने भएको छ । संघ सरकारले एक सय पर्यटकीय गन्तव्य घोषणा गर्ने परम्परालाई पछ्याउँदै गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष मनाउने अवसरमा घोषणा गर्न लागेको एक सय पर्यटकीय गन्तव्यमा कास्कीका १० ठाउँ पर्यटकीय गन्तव्यमा पर्न सफल भएका हुन् ।

गण्डकी प्रदेशले कास्कीको पोखरा महानगरपालिकामा पर्ने फेवाताल र फेवातालको बिच भागमा रहेको तालवराही मन्दिरलाई कास्कीको पर्यटकीय गन्तव्यको पहिलो नम्बरमा राखेको छ । बेगनासताललाई दोश्रो नम्बरमा राखेको छ भने रुपा तथा अन्य तालहरुलाई तेश्रो नम्बरमा राखेको छ ।

गण्डकी प्रदेश सरकारले विन्ध्यबासिनी मन्दिरलाई पाचौं नम्बरमा राख्दा रमणीय ठाउँ सराङ्कोटलाई छैटौं, अन्नपूर्ण बेसक्याम्पलाई सातौं, पातले छाँगो तथा विश्वशान्ति स्तुपालाई आठौं, पोखराका गुप्तेश्वर, चमेरे र महेन्द्र गुफाहरु, रुपाकोट र स्याक्लुङ्कोटलाई नवौं र काहुँडाँडालाई कास्कीको पर्यटकीय गन्तव्यको दशौं नम्बरमा समेटेको छ ।

गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्षलाई सघाऊ पु¥याउने उद्धेश्यले पर्यटकीय गन्तव्य घोषणा गर्ने तयारी अनुरुप कास्कीका ठाउँहरुलाई पनि पर्यटकीय गन्तव्यमा समेटेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । उनले पर्यटकीय गन्तव्य घोषणा गरेर त्यसको प्रचारप्रसार गरिने जानकारी दिए ।

गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख प्रमुख गन्तव्यहरुलाई समेटेर एक सय वटा पर्यटकीय गन्तव्य समावेश गरिएको मन्त्री लम्सालले प्रष्ट्याए । गण्डकी प्रदेश सरकारले कास्कीको १०, म्याग्दीको १०, मनाङको ९, मुस्ताङको १०, तनहुँको १०, गोर्खाको १२, नवलपरासीको ९, बागलुङको ११, पर्वतको ११, स्याङ्जाको ११ र लमजुङको १० ठाउँलाई पर्यटकीय गन्तव्यमा समावेश गरेको छ ।

You might also like

Comments are closed.