पोखरा । प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी प्यासी आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर आएका छन् । प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो आएका प्यासीलाई स्थानीयवासीले स्वागत सहित सम्मान गरेका छन् ।
पोखरा १६ मा रहेका विभिन्न दलका नेता, कार्यकर्ता, सामाजिक व्यक्तिहरु, आमा समूह, क्लब, विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीयबासीले प्यासीलाई सम्मान गरेका हुन् । उनको सम्मानमा स्थानीयहरु पञ्चेबाजाको टोली सहित निवासमै पुगेका थिए । प्यासीलाई स्वागत गर्न बालबालिकादेखि ८० वर्ष कटेका ज्येष्ठ नागरिक पनि सडकमा लामवद्घ भएका थिए । उनीहरुले प्यासीलाई प्रदेशको प्रमुख जस्तो गरिमामय पदमा पुगेकोमा बधाई दिदै पदको गरिमालाई थप उचो बनाउन आर्शिवाद समेत दिएका थिए ।
उनलाई स्वागत गर्न संघीय संसदका सांसद खगराज अधिकारी, नेकपा कास्कीका ईन्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेशका सांसद कुमार खड्का, प्रभा कोइराला, पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतका वाटुलेचौर पुगेका थिए । प्यासीलाई उनको निवासमा प्रहरीको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।
प्रदेश प्रमुख प्यासीलाई स्थानीय प्रगतिशील आमा समूहले पनि एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उनी आज दिनभर जसो नै आफ्नै निवासमा भेटघाटमा व्यस्त रहे ।