प्रदेश सरकार निषेधाज्ञाको विरोधमा

 

पोखरा ।

पोखरामा निषेधाज्ञा खोल्ने मत बलियो बन्दै गएको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ गतेदेखि लगाएको निषेधाज्ञा लम्बिदै जाँदा निषेधाज्ञा खोल्नुपर्ने मत बलियो बन्दै गएको हो । कास्की मात्र होइन, गण्डकी प्रदेशका स्याङ्जा, गोरखा र नवलपुरमापनि पूर्ण निषेधाज्ञा जारी भएको छ । उसो त तनहुँ र बागलुङमा आंशिक निषेधाज्ञा लगाइएको छ ।

निषेधाज्ञा पटक÷पटक थपेकोप्रति प्रदेश सरकारकै मन्त्रीहरुले असन्तुष्टी जनाएका छन् । निषेधाज्ञा लगाउन पोखरा महानगरपालिकासहित विभिन्न पालिकाहरुले सिफारिस गरेपछि त्यसबारे निर्णय गर्न बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रतिकार्यका लागि बनाएको प्रदेश स्तरिय कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र (सिसीएमसी)को बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ निषेधाज्ञाको बिपक्षमा उभिए । उनले निषेधाज्ञा लगाएर समाधान ननिस्कने भन्दै बरु स्वास्थ्य सुरक्षाको मापदण्ड कडाईका साथ पालना गर्ने÷गराउने तथा भेला, सभा, सेमिनार, अधिवेसन, भोजलगायतलाई कडाईका साथ रोक्न लगाउने निर्णय गराए ।

प्रदेश स्तरिय सिसीएमसीले निषेधाज्ञा नलगाउने निर्णय गरेपछि त्यसको भोलिपल्ट जिल्लास्थित डिसीएमसी बैठकले कास्कीमा निषेधाज्ञा लगाउने निर्णय गर्नुपरेको थियो ।

पोखरामा दोश्रोपटक निषेधाज्ञा थपिएको दिन भदौ ७ गते साँझ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले निषेधाज्ञा लम्ब्याएकोमा आक्रोस पोख्दै सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टी पोखे । उनले फेसबुक स्टाटसमा भनेका छन्,‘हाँगामा बसेर रुखको फेद काट्ने र निषेधाज्ञा जारी गरेर कोरोनाबाट बच्न खोज्नेहरु एकै हुन् ।’स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका पालना गर्दै निषेधाज्ञा खोल्नुपर्ने उनको भनाई छ ।

प्रदेशकै भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतपनि निषेधाज्ञा लम्ब्याएकोप्रति असन्तुष्ट छन् । उनलेपनि निषेधाज्ञा र लकडाउनका कारण प्रदेशले दैनिक ३८ करोड घाटा बेहोरिरहेको भन्दै निषेधाज्ञा खोल्नुपर्ने सार्वजनिक भाषण नै गर्ने गरेका छन् ।

यसैबीच, चेम्बर अफ कमर्स कास्कीलेपनि निषेधाज्ञा हटाउन माग गरेको छ । चेम्बर कास्की अध्यक्ष किसान सुनारले विज्ञप्ती जारी गर्दै जारी निषेधाज्ञा दीर्घकालिन समाधान नभएको भन्दै निषेधाज्ञा हटाउन माग गरेका हुन् । निषेधाज्ञाले अर्थतन्त्र धरासायी हुने अवस्था आएको भन्दै उनले यसपछि निषेधाज्ञा थप नगर्न आग्रह गरेका छन् ।

स्थानिय प्रशासनले लगाएको निषेधाज्ञा केहि समयका लागि ठीक भएपनि अब बिस्तारै खुलाउँदै लैजानुपर्ने नागरिक समाजकोपनि माग छ । नागरिक समाजका अगुवा रामबहादुर पौडेलले निषेधाज्ञाका कारण जनजीवन प्रभावित हुँदै गएकाले अब निषेधाज्ञा खोलेर जनजीवन सहज बनाउनुपर्ने बताए । स्वास्थ्य सुरक्षाका उपायहरु पूर्ण रुपमा कार्यान्वयन गरेर निषेधाज्ञा खोल्नुपर्छ,‘उनले भने,‘तर भीड, सभा सेमिनार, भोजलाई रोक्नुपर्छ ।’

You might also like

Comments are closed.