प्रदेश ५ मा माघे संक्रान्तिमा २ दिन बिदा, गण्डकी सरकारले के गर्ला ?

पोखरा, २५ पुस । मगर र थारु जातिको बाहुल्य रहेको प्रदेश पाँचमा माघ १ र २ गते सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको छ । प्रदेश ५ मा मगर र थारु जातिको बाहुल्यता रहेकाले प्रदेश सरकारले माघे संक्रान्तिको अवसरमा दुई दिन विदा दिने निर्णय गरेको हो ।

मंगलबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले मगर र थारुले मनाउने पर्वलाई लक्षित गरी माघे संक्रान्तिका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

गण्डकी प्रदेशमा पनि माघे संक्रान्तिमा विदा दिन मगर समुदायले माग गरेका छन् । यद्यपि, गण्डकी प्रदेश सरकारले यस विषयमा निर्णय गरिसकेको छैन । गण्डकी प्रदेश सरकारले यस अघि पुस १५ गते गुरुङ जातिहरुको पर्व ल्होसारमा सार्वजनिक विदा दिएको थियो ।

You might also like

Comments are closed.