प्रधानमन्त्रीको इच्छामा साढे दुई अर्बको भ्यु टावर बन्दै

काठमाडौं, १७ पुस । सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको हो । सहरी विकास मन्त्रालयले दमक नगरपालिका–६ ढुकुरपानीमा अत्याधुनिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार पारेको छ । टावर बनाउन दुई अर्ब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ । आजको नागरिक दैनिकमा खबर छ ।

भ्यु टावरसहितको पार्क बनाउन कुल २१ हजार एक सय ९७।२१ वर्गमिटर क्षेत्रफल छुट्याइएको छ । त्यसमध्ये एक हजार ३८ स्क्वायर मिटरमा ७२ मिटर अग्लो (१८ तले स्थायी भवन) भ्यु टावर निर्माण हुनेछ । त्यसमाथि २८ मिटरको स्टिल टावर राखिनेछ ।

उक्त १८ तले भवनको १७औं र १८औं तलामा ‘भ्यु डेक’ रहनेछ, जहाँबाट वरिपरिको दृश्यावलोकन गर्न पाइनेछ । बेसमेन्ट पार्किङसहित भवनको भुइँतलामा ‘कमन हल’, १०औं तलासम्म कर्पोरेट अफिस तथा व्यावसायिक पसल, ११ देखि १४ तलामा सेमिनार तथा प्रदर्शनी हल, मल्टिप्लेक्स (सिनेमा हल) लगायत रहनेछन् । त्यस्तै, १५औं र १६औं तलामा रेस्टुरेन्ट तथा क्याफे रहने मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.