प्रभु बैंकको सिओओमा थकाली र सिसिओमा लम्साल नियुक्त

आर्थिक आवाज
पोखरा, ६ भदौ । प्रभु बैंक लिमिटेडको उच्च व्यवस्थापनमा दुई जना युवा बैकर थपिएका छन् । बैंकको प्रमुख सञ्चालन अधिकृत (सिओओ)मा दिनेश थकाली र चिफ क्रेडिट अफिसर (सिसिओ) मा निरज लम्साल नियुक्त भएका हुन् । सिओओ थकालीले भदौ १ गतेदेखि कार्यभार सम्हालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । उनका अनुसार सिसिओ लम्सालले भदौ ४ गतेदेखि कार्यभार सम्हालेका हुन् ।

थकाली यसअघि सांग्रिला डेभलपमेन्ट बैंकको डेपुटी सिइओ थिए । ३२ वर्षको उमेरमै तत्कालीन सांग्रिला डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका दिनेश थकाली बागेश्वरी र सांग्रिला गाभिएपछि भने डेपुटी सीइओको भूमिकामा थिए ।

थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स, लण्डन, विश्व बैंक, वासिङटन, हिडा, जापान, एआइटी, थाइलैण्ड, फिच्ट लर्निङ, सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धी विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए ।

चिफ क्रेडिट अफिसरमा नियुक्त भएका लम्साल यसअघि नेपाल बंगलादेश (एनबी) बैंकको सिनियर म्यानेजर तथा कर्पोरेट अफिसको ब्राञ्च म्यानेजर थिए । लम्सालसँग १९ वर्षसम्म बैंकमा काम गरेको अनुभव छ । पछिल्लो अढाई वर्ष उनले एनबिमा सिनियर म्यानेजरको रुपमा काम गरेका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट एमबिएसम्मको अध्ययन पूरा गरेका लम्साल विद्यार्थी जीवनकालमै सन् १९९९ मा एनबी बैंकमा म्यानेजमेन्ट ट्रेनीको रुपमा काम गरेका थिए । सिइओ अशोक शेरचनले दुई जुझारु युवा बैंकरको आगमनले बैंकलाई नयाँ उचाइमा पु¥याउन ठूलो मद्दत पुग्ने बताए ।

You might also like

Comments are closed.