प्रविधिमैत्री बन्दै एनआइसी एसिया, अनलाइनबाटै कर्जाको आवेदन दिन सकिने

आवेदनको ४८ घन्टाभित्र कर्जाको निर्णय हुने

काठमाडौं । एनआइसी एशिया बैंकमा कर्जा लिन चाहने ग्राहकहरुले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छन् । आफ्ना सेवा तथा सुविधाहरू समयअनुरुप ग्राहकमैत्री बनाउने क्रमलाई निरन्तरता दिँदै अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने व्यवस्था गरिएको नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

‘अनलाइन कर्जा आवेदन प्रणाली’मार्फत आवेदन दिने व्यवस्थाले कर्जा लिन चाहने ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ । यो व्यवस्थासँगै ग्राहकहरुले घरमै बसेर कर्जाका लागि आवेदन दिन सक्नेछन् । कोभिड–१९ महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै बैंकले यो व्यवस्था गरेको जनाएको छ ।

ग्राहकको हितलाई मध्यनजर गरी अनलाइन मार्फत कर्जा आवेदन प्रणालीको सुरुवात गरिएको बैंकले जनाएको छ । बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्नो सम्पूर्ण व्यावसायिक प्रक्रिया तथा क्रियाकलापहरूलाई डिजिटलतर्फ परिमार्जन गर्न लागिपरेको अवस्थामा विद्यमान कर्जा आवेदन प्रक्रियालाई समेत अनलाइन माध्यमबाट सहजपूर्ण तरिकाले अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको पाण्डेले बताए ।

‘कर्जाको आवेदन अनलाइनबाट दिन सकिने नवीनतम सुरुवातले बैंकको कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट समेत ग्राहकले मुक्ति पाउने विश्वास लिएका छौं ।’ ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफूले इच्छाएको कर्जाको आवेदन दिन सक्नेछन् ।

ग्राहकले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्र्योल गर्न सकिने व्यवस्था गरिएको छ र कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ । योग्य भएपश्चात सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहकले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकले कर्जा लिन छनौट गरेको बैंकको शाखा कार्यालयका कर्जा प्रतिनिधिले सम्पर्क गर्नेछन् र सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ ।

बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरु, ४६८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.