प्रविधिमैत्री सेवाको अभियानमा सृजना बैंकिङ, डिजिटल सेन्टर मेनेजमेन्ट तथा लघुवित्त तालिम सञ्चालन

पोखरा, २९ साउन । सृजना विकास केन्द्रद्वारा सञ्चालित सृजना बैंकिङ कार्यक्रमको अयोजनामा कर्मचारीहरुको लागि डिजिटल सेन्टर मनेजमेन्ट (डिसिएम) तथा लघुवित्त सम्बन्धि तालिम सञ्चालन भएको छ । तनहुँको बन्दीपुरमा कार्यक्रम गरिएको हो ।

लघुवित्त कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी तथा प्रविधिमैत्री बनाउन ट्यावलेटबाट केन्द्र बैठक सञ्चालन गर्ने गरी डिजिटल सेन्टर मनेजमेन्ट प्रविधिबाट सञ्चालन गर्न लागिएको सृजना विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि अर्जुन श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा शाखा प्रबन्धक, फिल्डस्तरका कर्मचारीहरुलाई उक्त प्रणाली सञ्चालन तथा व्यवस्थापन सहित लघुवित्त कार्यक्रमको विविध पक्षहरुको बारेमा जानकारी गराइएको छ । तनहुँ, लमजङ र गोरखा जिल्लामा रहेका शाखा अन्तर्गतका ४३ जना शाखा प्रबन्धक तथा केन्द्र व्यवस्थापकहरु तालिममा सहभागी छन् ।

तालिम कार्यक्रमको सृजना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले सृजना बैंकिङ कार्यक्रमका सेवालाई समय सापेक्ष रुपमा परिमार्जन र परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । ‘संस्थाले लघुवित्त कार्यक्रमलाई थप प्रभावकारी र समय अनुसार परिवर्तन गर्न नयाँ–नयाँ प्रविधि भित्र्याउँदै लैजान्छ,’ उनले भने, ‘निकट भविष्यमा ‘घ’ वर्गको लघुवित्त संस्थामा रुपन्तरण हुन लागेको छ ।’

कार्यक्रममा सृजना बैंकिङ कार्यक्रमका मुख्य व्यवस्थापक दिवस ढकाल र सृजना प्रविधि अधिकृत रामप्रसाद भण्डारी लगायतले बोलेका थिए । आलेप अधिकृत धर्मदत्त आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

सोमबार सुरु तालिम मंगलबारसम्म जारी रहनेछ । बैंकिङ कार्यक्रमका आलेप अधिकृत धर्मदत्त आचार्य, सूचना प्रविधी अधिृकत रामप्रसाद भण्डारी, कर्जा अधिकृत ईन्द्रप्रसाद शर्मा, केशवप्रसाद ढकाल र आइ.टी. सहायक युवराज शर्माले तालिममा सहजीकरण गरेका छन् ।

You might also like

Comments are closed.