अनावश्यक यात्रामा हुनुहुन्छ ? प्रहरीबाट उम्कन गाह्रो छ (१७ तस्बिरसहित)

सुरेन्द्र पौडेल
पोखरा । बुधबार दिउसो तनहुँबाट पोखरातर्फ एउटा ट्याक्सी आइरहेको थियो । प्रहरीको चेकिङ बिना कास्की भित्र कुनैपनि सवारी प्रवेश गर्न सम्भव छैन । ग१ज २१२२ नम्बरको ट्याक्सी पनि प्रहरी चेकिङमा पर्यो ।

उक्त ट्याक्सीमा एक जना चालकसहित अन्य २ जना युवा थिए । लामो समयको केरकार पछि एक जना युवालाई पोखरा प्रवेश नाकामै ओरालेर चालकसहित एक जना युवा राखेर ट्याक्सी पोखरातर्फ अगाडि बढ्यो । उक्त ट्याक्सी फेरी गगनगौंडामा चेकिङमा पर्यो । त्यहाँ पनि प्रहरीले रोक्यो, अगाडि बढ्न दिएन ।

पोखराको अमरसिंहचोकबाट चाउथेतर्फ एउटा प्राइभेट मोटरसाइकलमा २ जना युवाहरु हिडिरहेका थिए । औद्योगिक क्षेत्र गेट अगाडि उनीहरु पनि प्रहरीको चेकिङमा परे । मोटरसाइकल चालकले दूध पुर्याएर आएको जवाफ प्रहरीलाई दिए । प्रहरीले एक जना मात्रै नहिडेर दूध पुर्याउन २ जना किन हिडेको भनेर केरकार गरे । केही समयको केरकारपछि उनीहरु अगाडि बढे ।

तनहुँबाट पोखरा प्रवेश गर्ने नाकामा निशेधाज्ञाको पहिलो दिन बुधबार दर्जनौं गाडीहरु रोकिएका थिए । ती मध्ये धेरैजसो ट्रकहरु थिए । यी गाडी यहाँ किन रोकिएको भनेर प्रहरीलाई प्रश्न गर्दा अत्यावश्यक बाहेकका सामान ढुवानी गरेकाले चावी नियन्त्रणमा लिइएको एक प्रहरी जवानले उत्तर दिए । केही ट्रक मदिरा बोकेका थिए भने केहीले सिमेन्ट बोकेका थिए ।

कोरोना संक्रमित बढेसँगै प्रशासनले जारी गरेको निशेधाज्ञामा प्रहरीले सकडका कडा चेकिङ गरिरहेको छ । अत्यावश्यक बाहेकका सवारीलाई गुड्न नदिइएको र अटेरी गरे चावी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘हामीले ठाउँ ठाउँमा प्रहरी तैनाथ गरिरहेका छौं,’ एक प्रहरी अधिकृतले भने, ‘अत्यावश्यक बाहेकका सवारी सडकमा गुडे नियन्त्रणमा लिएर कारबाही गर्छौ ।’

You might also like

Comments are closed.