प्राकृतिक र र सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन मार्फत देशको दिगो विकास र भावी पुस्ताको भविष्य निर्माण गर्न सकिन्छ ः राष्ट्रपति

सन्देश श्रेष्ठ
पोखरा, फागुन २३

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बद्र्धन मार्फत देशको दिगो विकास गर्न सकिने बताएकी छन् । पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्ट (विद्युतीय भ¥याङ)को विहीबार समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनमार्फत देशको दिगो विकाससँगै भावी पुस्ताको भविष्यसमेत निर्माण गर्न सकिने बताएकी हुन् ।

सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्दा पून्य लाभसमेत प्राप्त हुने बताउँदै उनले भनिन्,‘प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्दै मानव हितका लागि धेरै कार्य गर्न सकिन्छ, यसबाट देशको दिगो विकास, भावी पुस्ताको भविष्य निर्माण र पून्य आर्जनपनि हुनेछ ।’ राष्ट्रपति भण्डारीले विन्ध्यवासिनी मन्दिरमा पहुँच नपुगेका शारिरिक असक्त, अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुको सुविधाका लागि लिफ्ट निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको प्रशंसा गरिन् । उनले लिफ्ट सेवा सञ्चालनले मन्दिरमा पहुँच नपुगेका शारिरिक असक्त, अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई मन्दिरमा पहुँच पु¥याउनुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने बताईन् ।

लिफ्ट निर्माणमा सहयोग गर्ने संघसंस्थालाई धन्यवाद दिदै उनले थपिन्,‘विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टले पोखराको धार्मिक पर्यटन प्रवद्र्धन गर्न थप टेवा पुग्ने विश्वास मैले लिएकी छु ।’ उनले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सम्पदाहरुको संरक्षण, सम्बद्र्धन गर्नुका साथै जेष्ठ नागरिकहरुको सेवा सुविधाका लागि जेष्ठ नागरिक मिलन केन्द्र, गुरुकुल बहुउद्धेश्यीय सभा भवन निर्माण, योग शिविर सञ्चालन गरिरहेको प्रति उच्च प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिइरहन आग्रह गरिन् । राष्ट्रपति भण्डारीले सुन्दर प्रकृति र विविधताले भरिपूर्ण पर्यटकीय नगरि पोखरामा रहेको विन्ध्यवासिनी शक्तिपीठ ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको अनुपम पवित्र स्थल रहेको बताईन् । उनले विविध सांस्कृतिक रितिरिवाज, परम्परा र प्रचलनहरुसहित अनेकतामा एकता भएको सुन्दर मुलुक नेपालको बासिन्दा भएको भन्दै यसमा गर्व गर्नुपर्ने बताईन् ।

गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले धर्म र संस्कृतिले विधी पालना गर्न लगाउने भएकाले यसको महत्व रहेको बताए । उनले भने,‘धर्म संस्कृतिले विधी पालना गर्न बाध्य बनाउँछ, अनि विधीले मानिसलाई अनुशासित बनाउँछ ।’ उनले धर्ममाथी प्रहार गर्नु भनेको विधीमाथी प्रहार हुनु भएको बताउँदै त्यसले अन्ततः धेरै कुरा गुम्ने बताए । विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टले धार्मिक पर्यटनमासमेत टेवा पुग्ने उनले बताए । साथै उनले राष्ट्रपतिलाई संविधानको पालन, संविधानको संरक्षण र प्रभावकारी कार्यान्वयनमा थप भूमिका खेल्न आग्रहसमेत गरे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विन्ध्यवासिनी मन्दिरजस्ता महत्वपूर्ण सम्पदाहरुको संरक्षण, सम्बद्र्धन र सौन्दर्यकरण गर्न सके पर्यटक भित्राउन सकिने बताए । उनले विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गरेर धार्मिक पर्यटनमा योगदान दिएको उल्लेख गरे । उनले प्रकृति र संस्कृतिलाई सभ्यता र समृद्धीसँग जोड्न नसकिएको बताउँदै उनले भने,‘हिजो हामीले प्रकृति र संस्कृतिलाई सभ्यतासँग जोड्न सकेनौं, समृद्धीसँग जोड्न सकेनौं, तर अब प्रदेश सरकार प्रकृति, संस्कृति, धार्मिक परम्परालाई सभ्यता र समृद्धीसँग जोड्न चाहन्छ ।’

मुख्यमन्त्री गुरुङले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सम्पदाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको बताउँदै उनले भने,‘हिजोको विन्ध्यवासिनी मन्दिर र आजको विन्ध्यवासिनी मन्दिर आकाश जमिनको फरक छ, यो धार्मिक क्षेत्रमा रोलमोडल बन्न सफल भएको छ, यसबाट सिकेर अन्य मन्दिरहरुले पनि सुधारका कार्यहरु गर्नुपर्छ ।’ उनले लिफ्ट निर्माणपछि शारिरिक अशक्त, अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरु सहजै मन्दिरमा पुग्ने वातावरण निर्माण भएकाले यसले धार्मिक पर्यटक भित्राउनसमेत योगदान दिने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माणको कामले धार्मिक पर्यटक लोभ्याउन योगदान दिने बताए । उनले भने,‘विन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माणसँगै धार्मिक पर्यटकको घुँईचो लाग्नेछ ।’ प्रमुख जिसीले पोखरालाई पर्यटकीय सहर घोषणाका लागि पहल गरिदिन आग्रह गरे । महानगरपालिका र गण्डकी प्रदेशले पोखरालाई पर्यटकीय सहर घोषणाका लागि प्रस्ताव पत्र पठाएको तर सो प्रस्ताव २ पटकसम्म मन्त्री परिषद बैठकमा पुगेर फर्किएको जानकारी गराउँदै प्रमुख जिसीले भने,‘हामीले गरेको प्रस्ताव मन्त्री परिषदमा पुगेर फर्किएको छ, पोखरालाई पर्यटकीय सहर घोषणाका लागि सरकारको ध्यानाकर्षण गराईदिन म सम्माननीय राष्ट्रपतिज्यूलाई हार्दिक अनुरोध गर्दछु ।’

You might also like

Comments are closed.