तनहुँ,१३ चैत
प्राज्ञिक विद्यार्थी परिषदको प्रथम गण्डकी प्रदेश अधिवेशन दमौलीमा बिहीवार सुरु हुने भएको छ । “समाज र राष्ट्रहितका लागी युवा” भन्ने नाराका साथ आयोजना हुने अधिवेशन ३ दिनसम्म चल्नेछ । देश प्रादेशिक संरचना अनुसार अगाडि बढेसँगै विद्यार्थी परिषद्ले पनि आफ्नो प्रादेशिक संरचना निर्माण गर्ने र प्रदेश कार्यलाई उत्कृष्ट र सक्रिय बनाउने उद्देश्यले प्रथम पटक प्रदेश अधिवेशन गर्न लागिएको हो परिषद्का प्रदेश सचिव मिलन अधिकारीले जानकारी दिए ।
यस अधिवेशनले आगामी दुई वर्षका लागी नयाँ प्रदेश कार्यकारिणी समिति चयन गर्नेछ । कार्यक्रममा प्रदेशभरिका परिषद्मा आवद्ध कार्यकर्ताहरुको उपस्थितीमा प्रदेशको शिक्षा, समसामयिक अवस्था, महिला सुरक्षा लगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष पुष्पाराज खतिवडाले जानकारी दिए । सोही अवसरमा विविध विषयमा प्रवोधन, जागरण यात्रा , खुल्ला सम्बोधन लगायतका सत्रहरु सञ्चालन हुने बताइएको छ ।
‘युवालाई समाज र राष्ट्रको कार्यमा समाहित गर्दै युवाको सीप, शक्ति र सोचलाई सामाजिक रुपान्तरणमा प्रयोग गर्नका लागी प्रेरणा प्रदान गर्दै आगामी सांगठनिक योजना एवं रणनीति समेत तय गरिनेछ’ खतिवडाले भने । अधिवेशनको उद्घाटन सत्र भोलि ४ः३०मा तनहुँ उद्योग वाणिज्य संघको सभा हलमा सञ्चालन हुने बताइएको छ । कार्यक्रम प्रा.डा काशीनाथ न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले विगत २३ वर्षदेखी दलगत राजनिती भन्दामाथी उठेर राष्ट्र निर्माणमा भूमिका निर्वाह गरेको परिषद्का राष्ट्रिय सह–संगठन सचिव रमेश कण्डेलले जानकारी दिए । विद्यार्थीको सर्वाङ्गीण विकासको लागी विभिन्न रचनात्मक कार्य मार्फत देशलाई चाहिने सक्षम जनशक्ती निर्माणका गर्नुका साथै भाषा, धर्म र संस्कृति संरक्षणका लागि विभिन्न अभियान चलाउने, महिलाहरुको आत्मारक्षाको लागी देशव्यापी मिसन साहसी सञ्चालन लगायतका महत्वपुर्ण कार्यक्रम परिषद्ले गर्दै आइरहेको कण्डेलले जानकारी दिए ।
Comments are closed.