दमौली, चैत्र ७
आदिकवि भानुभक्त क्याम्पस दमौलीमा तनहुँ, लमजुङ र गोरखाका सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण सञ्चालन भएको छ । प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै विश्वविद्याललय अनुदान आयोगका अध्यक्ष प्राध्यापक भीमप्रसाद सुवेदीले सामुदायिक क्याम्पसमा शैक्षिक गुणस्तर सुधारका लागि र प्राध्यापक तथा कर्मचारीहरुका लागि यस किसिमका कार्यक्रमहरु उपयोगी हुने विचार बताए ।
साथै विश्वविद्यालय अनुदान आयोगले प्राध्यापकहरुको क्षमता अभिवृद्धिका लागि प्रदान गर्दैै आएको अवसरलाई समेत उपयोग गर्न उनको आग्रह थियो । त्यस्तै त्रिभुवन विश्वविद्यालय वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा. राजनबहादुर पौडेलले कार्यशालाका विषयवस्तुहरु सान्दर्भिक रहेको र यसबाट प्राप्त ज्ञान शिक्षणका लागि प्रभावकारी हुने बताए । त्यसै गरी व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले एम.फिल र पिच.डी. अध्ययनकोे अवसरलाई सदुपयोग गरी आफ्नो वृत्ति विकासमा समेत लाग्न प्राध्यापकहरुलाई सुझाव दिए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र वस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, पव्लिक क्याम्पस संघ तनहुँका अध्यक्ष जितप्रकाश आले, क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले लगायतले बोलेका थिए । उक्त कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले सहभागीहरुलाई स्वागत गरेका भने सहायक क्याम्पस प्रमुख आत्माराम बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यशालामा तनहुँ, लमजुङ र गोरखाका सामुदायिक क्याम्पसका क्याम्पस प्रमुखहरु, प्राध्यापकहरु र कर्मचारीहरु गरी १०० जनाको सहभागिता रहेको छ । प्रशिक्षण वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा.राजन बहादुर पौडेल, उपप्राध्यापक महेश घिमिरे, उपप्राध्यापक रोमकान्त पाण्डे, डा. डेविट बस्याल, सुरेन्द्र महतो लगायलले सहजीकरण गरेका थिए ।
Comments are closed.