पवन प्रजापती
उपाध्यक्ष (वाणिज्य)
पोखरा उद्योग वाणिज्य संघसमृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको पूर्व सन्ध्यामा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष एवं प्रायोजन व्यवस्थापन उपसमिति संयोजक पवन प्रजापतीसँग गरिएको कुराकानीको सम्पादित अंशः
पोखरा उद्योग वाणिज्य संघ मात्रै यस्तो संस्था हो जसले ४३ वर्ष अघिदेखि उद्योगी, व्यवसायीलाई वलियो बनाउनुपर्छ । उनीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रवद्र्धन गर्नुपर्छ भनेर मेला/महोत्सव गर्दै आएको छ । त्यतिमात्र होइन उपभोक्ताले पनि एउटै थलोमा सम्पूर्ण सामग्री आफूलाई मनपरेको सामग्री रोजीरोजी लैजान पाउनुपर्छ भनेर शुरु गरिएको मेला हो यो ।
यो मेलाबाट उद्योगी व्यवसायीले आफूले उत्पादन गरेका सामग्रीको बिक्री गर्ने, प्रवद्र्धन गर्ने र उपभोक्ताले आफूले चाहेको सामग्री रोजेर लैजान पाउने अनि प्रायोजक कर्ताहरुले प्रायोजनमार्फत आफ्नो ब्राण्डको प्रचारप्रसार गरेर ब्राण्डिङ गर्न पाउने थलो भनेको राष्ट्रिय औद्योगिक व्यापार मेला नै हो ।
त्यहि भएर राष्ट्रिय औद्योगिक व्यापार मेलालाई प्रायोजकहरुले पनि उत्साहका साथ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । एक वचनमै प्रायोजन गर्न राजी भएका छन् । संघ र उत्पादक कम्पनीहरुबीच नङ र मासुको सम्बन्ध भएकैले प्रायोजकहरुले खुशी साथ सहकार्य गर्न तयार भएका हुन् । मेला महोत्सव भनेको उद्योग वाणिज्य संघजस्ता निजी क्षेत्रले मात्रै गर्नुपर्छ भन्ने नेपाल उद्योग वाणिज्य महासंघको धारणा छ । किनभने मेला महोत्सव उद्योगी÷व्यवसायीको उत्पादित सामग्रीहरुको प्रवद्र्धन गर्नका लागि आयोजना गरिन्छ ।