प्रेस चौतारी पुरस्कार शान्तिलाई

पोखरा, १७ माघ ।

प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार शान्ति गुरुङलाई सम्मान गरिने भएको छ । प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रतिभा छनोट समितिले गुरुङलाई उक्त पुरस्कारबाट सम्मान गर्न गरेको सिफारिसलाई बुधबार बसेको प्रेस चौतारी कास्कीको बैठकले अनुमोदन गरेको हो । प्रेस चौतारी नेपालका पूर्व गण्डकी इन्चार्ज तथा कास्कीका पूर्व अध्यक्ष हरि बास्तोलाको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले गुरुङलाई उक्त पुरस्कारबाट सम्मान गर्न सिफारिस गरेको हो ।

समितिको सदस्यमा प्रेस चौतारीका केन्द्रीय सदस्य श्रीराम सिग्देल, पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस चौतारी कास्कीका सल्लाहाकार रामकृष्ण ज्ञवाली र पदेन सदस्य प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल र सचिव अर्जुन गिरी थिए । प्रेस चौतारी कास्कीका अध्यक्ष बरालका अनुसार गुरुङलाई माघ २२ गते प्रेस चौतारीको स्थापना दिवसको अवसरमा सम्मान गरिनेछ ।

पोखरा ६ लेकसाइड निवासी गुरुङले प्रेस चौतारीको संस्थागत विकासको साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक अधिकारको संरक्षणमा योगदान पु¥याएको भन्दै सम्मान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ११ हजार १ सय ११, सम्मानपत्र र दोसल्ला रहेको अध्यक्ष बरालले जानकारी दिए । २०५४ सालदेखि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र मालेपाटनमा आवद्ध गुरुङ अहिले समाचार सम्पादक पदमा कार्यरत छन् ।

प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष, गोर्खाली रेडियोको पूर्व अध्यक्ष, गुरुङ सामुदायिक रेडियोहरुको छाता संगठन अकुराबको प्रदेश नम्बर ४ को अध्यक्ष छन् । प्रेस चौतारी कास्कीले सञ्चालन गरेको उक्त पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बास्तोला, बद्रीविनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी र श्रीराम सिग्देल सम्मानित भएका छन् ।

 

You might also like

Comments are closed.