फरक शैलीमा सम्पन्न भयो रोयलको साधारणसभा, अरुले पनि अनुशरण गर्ने कि ?

आर्थिक आवाज
पोखरा, २८ असोज । यतिबेला सहकारीहरुको साधारणसभाको सिजन नै छ । विदाको दिनमा पोखरामा दर्जनौं सहकारीका साधारणसभा भइरहेका छन् । हरेक कार्यक्रम पट्यारलाग्दा हुन्छन् । मञ्जभरी अतिथि र घन्टौं भाषण गरिन्छ । तर शनिबार सम्पन्न पोखरा रोयल सहकारी संस्थाको साधारणसभा भने फरक देखियो ।

पोखरा रोयलको साधारणसभा नितान्त बेग्लै तवरले सञ्चालन भएको थियो । साधारण सभामा कसैलाइ पनि मञ्चमा लगिएन । कार्यक्रम सञ्चालनका लागि मुख्य प्रवन्धक मीलन ढकाल मात्रै घरी घरी मञ्चमा पुग्थे । प्रमुख अतिथी बाहेक अन्य वक्ता थिएनन् । साधारणसभामा स्वास्थ्य सम्बन्धि डा. कालु शर्मा र सहकारीमा संरक्षित पुँजी फिर्ताको अभ्यासमा नेफ्स्कुन प्राचार्य सन्जयराज तिमिल्सिनाले प्रशिक्षण दिएका थिए ।

साधारणसभामा ७० वर्ष उमेर पुगेका शेयर सदस्यलाई जेष्ठ सदस्य सम्मान, ७५ उमेर पुगेका सदस्यलाई वार्षिक ५ हजार रुपैयाँ पेन्सन बितरण गरिएको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत सिसी टिभी जडानको लागि जिल्ला सहकारी संघलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।

विशेष सम्मान अन्तर्गत संस्थाले सञ्चालन गरेको प्रौढ शिक्षा पढेर हाल एस.ई.ईं पास गर्न सफल पूर्णकला घर्तीलाई सम्मान गरिएको थियो । शेयर सदस्य डा. गिरिधारी शर्मा पौडेल प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्ति भएकामा सहकारीले विशेष सम्मान गरेको सचिव भीम गुरुङले जानकारी दिए ।

वर्षको उत्कृष्ट सदस्यबाट विश्व रत्न शाक्य र बबर जङ गुरुङ सम्मानित भए । रोयल प्रतिभा पुरस्कारबाट शेयर सदस्य डा.विश्वमोहन भट्टराईका छोरी श्रृङ्गार भट्टराईलाई नगद ११ हजार रुपैयाँले पुरस्कृत गरिएको मूल्य प्रवन्धक मीलन ढकालले जानकारी दिए । वर्षको सर्वोत्कृष्ट कर्मचारी ज्योती गुरुङ भएकी छन् । उनलाई नगद १५ हजार रुपैयाँ र १ ग्रेड थप गरी पुरस्कृत गरिएको छ ।

सहकारीमा ४ हजार ५ सय ५४ जना शेयरसदस्य छन् । रोयलमा १७ करोड ४२ लाख शेयरपुँजी, ७ करोड ८७ लाख जगेडा कोष, १ अर्ब निक्षेप, १ अर्ब ८ करोड ऋण लगानी गरी ५ करोड ८० लाख सञ्चालन बचत र कुल सम्पत्ति १ अर्ब ४४ करोड रुपैयाँ छ । पोखराको बुद्धचोकमा प्रधान कार्यालय रहेको रोयलको सेवा केन्द्र महेन्द्रपुल र लेखनाथमा छन् ।

यसैबीच, कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्य सचिव लक्ष्मीराम पौडेलले रोयलको गतिविधिबाट आफू प्रभावित भएको बताएका छन् । ‘रोयल नेपालकै नमुना सहकारी बन्ने कुरामा आफू ढुक्क छु,’ उनले भने, ‘रोयलको प्रतिवेदनबाट म पनि सदस्य बन्न आतुर छु ।’

You might also like

Comments are closed.