पोखरा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनको फल दिन नसक्ने परिवर्तन किन चाहियो ? भन्ने प्रश्न गरेका छन् । नेकपा कास्कीले मन्त्री पण्डितसँग मंगलबार राखेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले परिवर्तनको फल दिनेगरी सरकारले काम गर्न खोजिरहेको तर त्यसमा भाँजो हाल्ने प्रयास भइरहेको बताए ।
मन्त्री पण्डितले परिणाम दिने शर्तमा कर्मचारीलाई सेवा सुविधा बढाउन तयार रहेको बताए । तर परिणाम नआउने अवस्थामा भने सेवा सुविधा बढाउन नसकिने उनको भनाई थियो । उनले कर्मचारीका मनचिन्ते समस्या समाधान गर्न नसकिने बताए । देशलाई परिणाम दिनेगरी प्रस्ताव ल्याउन म कर्मचारीहरुलाई आग्रह गर्दछु,‘उनले भने,‘परिणाम विहिन् अवस्थामा कसैको मनचिन्ते समस्या समाधान गर्न सक्दिनँ र सडकमा हल्लिएर बस्नपनि कसैलाई दिदिनँ ।’
मन्त्री पण्डितले संघीय निजामति कानुन आएपछि सबै समस्या समाधान हुने दाबी गरे । उनले कसैको मुख हेरेर कर्मचारीलाई काखा र पाखा नगर्ने प्रतिबद्धता जनाए । काम गर्ने सबै कर्मचारी हाम्रो हुने बताउँदै उनले भने,‘काम गर्ने सबै हाम्रा हुन्, नगर्ने कोहिपनि हाम्रा होइनन् ।’ उनले कर्मचारीलाई ललीपप नदिने दृढता व्यक्त गरे । ललीपप राम्रो कुरा होइन,‘यो दियो भने स्वास्थ्य झन् खराब हुन्छ, त्यसैले म कर्मचारीलाई ललीपप दिन जरुरी ठान्दिनँ ।’
मन्त्री पण्डितले आफूलाई मलामी घटेकोमा चिन्ता नहुने बताउँदै आफ्नो उद्देश्य देशलाई कसरी विकसित र समृद्ध बनाउने भन्ने भएकाले त्यो सफल भयो भने त्यसैमा सन्तुष्टी मिल्ने बताए ।
Comments are closed.