फिस फेस्टिवल आजदेखि

पोखरा, १३ जेठ

सात तालको बगैंचा शहर लेखनाथमा आजदेखि फिस फेस्टिवल तथा कृषि व्यापार मेला शुरु हुँदैछ । होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथ र जिल्ला मत्स्य व्यवसायी समिति कास्कीको संयुक्त आयोजनामा लेखनाथको बेगनासताल किनारमा जेठ २० गतेसम्म सञ्चालन हुने फेस्टिवलको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । मन्त्री थापाले बेगनासतालमा माछाको भुरा छाडेर फेस्टिवलको समुद्घाटन गर्ने कार्यक्रम तय भएको फेस्टिवल संयोजक दामोदरभक्त थापाले जानकारी दिए । उनका अनुसार समुद्घाटन कार्यक्रम अघी झाँकीसहितको ¥याली निकालिनेछ ।

पाचौं संस्करणको रुपमा हुन लागेको फेस्टिवलमा यस वर्ष कृषिलाई पनि जोडिएको छ । यसअघी चौथो संस्करणसम्म फिस फेस्टिवलको रुपमा हुँदै आएको महोत्सवलाई यस वर्ष कृषिसँग जोडेर फिस फेष्टिवल तथा कृषि व्यापार मेला गर्न लागिएको एशोसिएसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले बताए ।

फेष्टीवलमा वेगनासताल, फेवाताल, रुपाताल, दिपाङ, मैदी र खास्टेताल तथा स्थानिय पोखरी र जलाधार क्षेत्रमा रहेका माछाहरु विक्रीका लागि राखिने फेस्टिवल संयोजक दामोदरभक्त थापाले जानकारी दिए । फेष्टिवलमा २३ प्रकारका माछाहरु विक्रीका लागि राखिनेछन् भने माछाको झोल, माछा फ्राई, माछा सुकुटी, माछा पोलेको लगायतका परिकारहरुको स्वाद लिन पाइने उनले बताए । त्यस्तै, माछाको बारेमा जानकारी लिन चाहानेहरुको लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यबस्था, विरामी माछाको जाँच तथा औषधीसमेत गर्ने व्यवस्था मिलाईने संयोजक थापाले बताए ।

बेगनाससहित सात ताल नजिकका क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नु, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्नु, त्यहाँ उत्पादित माछा, मह, कफि, जडीवुटीहरुको प्रचार प्रसार, स्थानीय माछाको संरक्षणसहित तालहरुको संरक्ष्ण गर्ने उद्धेश्यले फेस्टिवल आयोजना गरिएको एसोसियनका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । उनले सात ताल, जैविक विविधता, मनोरम हिमश्रृंखला, विभिन्न जातका चराचुरुङगी, जंगली जिवजन्तु लगायतको संरक्षण गर्न पनि महोत्सवले सहयोग पुग्ने बताए ।

फेष्टिवलको अवसरमा मोटरबोटमा ताल सयर तथा वराह मन्दिर दर्शन गर्ने व्यवस्था, विभिन्न घरयासी सामानहरु एकै थलोमा उपलब्ध हुने, माछा, मह तथा कफी प्रदर्शनी तथा विक्री, जडीवुटि प्रर्दशनी, माछा तथा खानाका परिकारहरुको प्रदर्शनी तथा बिक्री गरिनेछ । फेस्टिवलको अवसरमा लेखनाथको अग्लो स्थानमा रहेको सुन्दरीडाँडा भ्यू–टावरको अवलोकन तथा लेखनाथको पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्क अवलोकन गराइने भएको छ । जसका लागि दैनिक रुपमा बसको ब्यबस्था गरिने लेखनाथ होटल तथा रेष्टुरेण्ट एसोसियसनका पूर्व अध्यक्ष दुर्गा अधिकारीले जानकारी दिए ।

महोत्सवको अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगितालगायतका कार्यक्रमपनि हुने उनले बताए । महोत्सवमा पप कन्सर्ट, लोकदोहोरी, वाल उद्यान लगायतका कार्यक्रम मुख्य आकर्षणको रुपमा रहने आयोजकले जनाएको छ । महोत्सवमा पहिलोपटक गण्डकी प्रदेश स्तरिय दोहोरी गीत प्रतियोगिता आयोजना गरिने उनले बताए ।

महोत्सवको अवसरमा दश प्रतिशत छुट दिइदैछ । महोत्सव अवधीभर होटल तथा रेष्टुरेण्टहरुको विल तथा डुंगा सयरमा दश प्रतिशत छुट दिइने पूर्व अध्यक्ष अधिकारीले जानकारी दिए ।

फेस्टिवलमा करीब ४० हजार दर्शकले अवलोकन र करीब १ करोडको कारोवार हुने आयोजकले दाबी गरेको छ । महोत्सवबाट २८ लाख आम्दानी गरेर २५ लाख खर्चिएर ३ लाख बचत गर्ने लक्ष्य राखिएको महोत्सव संयोजक दामोदरभक्त थापाले जानकारी दिए । उनका अनुसार बचत रकम माछा संरक्षण तथा पर्यटन प्रवद्र्धनमा खर्च गरिनेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.