फुड फेस्टिवलको तयारी तिब्र, सडकमै सांस्कृतिक कार्यक्रमसहित खानाका परिकार

पोखरा । पोखरामा हुन लागेको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’को तयारीलाई तिब्र बनाइएको छ । पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (सिटी रेवान)को आयोजनामा फागुन २३ देखि २५ गतेसम्म फेस्टिवल हुँदैछ ।

यस पटक फुड फेस्टिवल सडकमा आयोजना हुने सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘यस पटकको महोत्सव सडकमा आयोजना हुँदैछ,’ उनले भने, ‘पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव हुन्छ ।’ महोत्सवमा मौलिक खानाका परिकारका स्टलहरु, हस्तकलाका स्टलहरुलाई विशेष प्राथमिकतामा राखिने तिमिल्सिनाले जानकारी दिए ।

स्थानीय संघसंस्थाहरुसँग सहकार्य गरी फेस्टिबल गर्न लागिएको तिमिल्सिनाले बताए । फेस्टिवलको सहआयोजकमा जाल्पादेवी बहुउद्देश्यीय विकास समितिले सहकार्य गरेको छ । बिगतमा मेला भन्दा पृथक तरिकाले सडकमा मेला आयोजना गर्न लागिएको तिमिल्सिनाले बताए । सडकमै विविध सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । मेलाको मुख्य प्रायोजन गोर्खा व्रुअरीले गरेको छ ।

मेलाका मुख्य आकर्षणमा खानाका परिकारहरु रहनेछन् । लोप हुन लागेका खानाका परिकारलाई समेत स्टलहरुमा राखिनेछ । कृषि प्रदर्शनीसमेत गरिने महासचिव तथा प्रचारप्रसार संयोजक जीवन दाहालले जानकारी दिए । ‘राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति दैनिक रुपमा हुनेछ,’ उनले भने ।

महोत्सवमा २६ वटा स्टल रहनेछन् । १६ वटा स्टल रेष्टुरेन्टका र १० ओटा अन्य स्टल रहने दाहालले जानकारी दिए । महोत्सवमा २० लाख रुपैयाँ खर्च र २० लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने आयोजकको अपेक्षा छ ।

महोत्सव अवधीभर पर्यटन वर्ष २०२० लाई लक्षित गरेर विभिन्न कार्यक्रम संचालन हुने र महोत्सव अवोलकनमा दर्शकहरुलाई कुनै पनि शुल्क नलाग्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । महोत्सवको आकर्षणमा राष्ट्रिय तथा स्थानीयस्तरका लोक दोहोरी कलाकारहरुको दैनिक प्रस्तुति, पप कन्सर्ट, हाँस्य कलाकारहरुको दैनिक प्रस्तुति, ढिँडो खाने प्रतियोगिता, कृषि प्रदर्शनी, रत्यौली गीत प्रतियोगिता, भाले छोप्ने प्रतियोगित लगायत रहने बताइएको छ ।

You might also like

Comments are closed.