पोखरा १४, माघ । पोखराको अति महत्वपूर्ण फेवातालबाट ढुंगामाटो निकाल्ने अभियान शुरु भएको छ । फेवातालको सिरानबाट बगेर आएको माटो र ढुंगाले फेवाताल पुरिने क्रम तिव्र भएपछि पोखरा महानगरपालिकाले ति बगेर आएका माटो र ढुंगा निकाल्ने अभियान शुरु गरेको हो । अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार शुभारम्भ गरे । उनले स्काभेटरको चावी त्यसका चालकलाई हस्तान्तरण गर्दै फेवतालबाट ढुंगामाटो निकाल्ने अभियानको शुभारम्भ गरेका हुन् ।
शुभारम्भ कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले फेवाताल संरक्षणमा गण्डकी प्रदेश र पोखरा महानगरपालिका एकै साथ अघि बढेको उद्घोष गरे । उनले अभियान शुरु भएकाले यसलाई अब निरन्तरता दिएर फेवाताल पूर्ण सुरक्षित गर्नुपर्ने बताए ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सर्बोच्चले फेवाताल जोगाउनु भनि दिएको निर्देशन अनुसार संरक्षण अभियान शुरु भएको घोषणा गरे । फेवाताल संरक्षण अभियानमा स्थानियसंगै प्रदेश र संघिय सरकारको समेत सहयोग आवश्यक रहेको उनले बताए । उनले महानगरकै श्रोत र साधनको प्रयोगले फेवातालको माटो तथा ढुंगा निकाल्ने अभियान शुरु गरिएको बताए । उनका अनुसार बंगलादी क्षेत्रमा मात्र करिब २० हजार घनमिटर माटो छ । स्काभेटर र टिप्परको सहायतामा २० दिनसम्म माटो र ढुंगा निकाल्ने अभियान जारी रहन्छ ।
फेवातालबाट निकालिएको माटो पोखराका खाडल पुर्नेदेखि आवश्यक्ता अनुसार माटो माग्ने व्यक्ति तथा संस्थालाई दिन सकिने उनले बताए । सर्बोच्च अदालतले फोहोर तथा ढल निकास नियन्त्रण, जलाधार क्षेत्रको संरक्षण, फोहोर पानीलाई डाईभर्सन र सुद्धिकरण गर्ने, खहरे खोला नियन्त्रण गर्नेलगायतका काम गर्न महानगरपालिकालाई आदेश दिएको थियो । सर्वोच्वले महानगरपालिकालाई ३ बर्षको म्याद दिएकोले उक्त म्याद अगाडी नै आफ्नो जिम्मेवारी पुरा गर्न महानगरपालिका सक्षम हुने उनको भनाई थियो ।
गण्डकी प्रदेश सांसद राजिव पहारीले ढिलै भएपनि पोखरा महानगरपालिकाले फेवातालको ढुंगा माटो निकाल्ने अभियान शुरु गरेकोमा खुशी व्यक्त गरे । उनले फेवातालको संरक्षण र आकार बढाउन स्थानिय, प्रदेश र संघीय तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए । उनले सर्बोच्चले दिएको निर्देशन पालना गर्न सके फेवाताल पुरानै आकारमा फर्किने विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजना प्रमुख ई.महेन्द्र गोदारले फेवातालमा करिब ८ हजार ५ सय रोपनी क्षेत्रफल पानीको भाग रहेको जानकारी दिए । उनले महानगरले यस बर्ष फेवाताल संरक्षणको लागि ७ करोड बजेट विनियोजन गरेको र सो रकमले तालको माटो निकाल्ने, चेक ड्याम बनाउने, फोहोर बस्तु तालमा मिसावट हुने कार्यलाई नियन्त्रण गर्ने लगायतका काम गरिने बताए । पोखरा उपत्यका नगरविकास समितिका पुर्व अध्यक्ष विश्वप्रकाश लामिछानेलले फेवाताल २० हजार रोपनी क्षेत्रफलबाट खुम्चिएर हाल १२ हजार रोपनी क्षेत्रफलमा खुम्चिन आइपुगेको बताए ।
Comments are closed.