फेवातालमा ‘पौडी म्याराथन’, बिहीबार माछापुच्छ्रे कप पौडी

पोखरा, २४ असोज । पोखराको फेवातालमा ‘पौडी म्याराथन’ हुने भएको छ । नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघको आयोजनामा आठौँ सँस्करणको खुला पौडी प्रतियोगिता हुन लागेको हो । जसलाई आयोजकले ‘पौडी म्याराथन’को नाम दिएका छन् ।

आयोजक पौडी संघले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । यो प्रतियोगितामा सहभागी हुने पौडीबाजहरुले २ हजार ५ सय मिटरको लम्बाईमा प्रतियोगिता गर्नुपर्ने आयोजकले बताएको छ । देशी विदेशी सबैखाले पौडीबाजले भाग लिन पाउने यो प्रतियोगिता आगामी २६ गते फेवातालमा हुनेछ ।

‘फेवातालको बाराहिघाटबाट पारिपट्टी लिचि गार्डेन पुगेर पौडीबाजहरु पुनः बाराहिघाट फर्कने रुट हामीले बनाएका छौँ ।’ नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले भने–‘लामो डिस्टेन्सको पौडी प्रतियोगिता भएकैले हामीले यसलाई म्याराथनको रुपमा लिएका हौँ ।’ यसअगाडिका वर्षहरुमा पनि फेवातालमा प्रतियोगिता हुँदै आएको थियो ।

विज्ञहरुका अनुसार फेवातालको पानी पौडी खेल्नका लागि उपयुक्त छैन । यद्यपी आयोजकले यो प्रतियोगितामार्फत फेवाताल सरसफाई र संरक्षणको सचेतना पनि फैलाउने उद्देश्य राखेका छन् । त्यो सँगै फेवाताललाई ‘पौडी म्याराथन’का लागि विश्वकै आकर्षण केन्द्रको रुपमा स्थापित गरि पर्यटन प्रबद्र्धन गर्ने आफूहरुको लक्ष्य रहेको कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले बताए ।

‘ओपन वाटर स्विम कम्पेटिसन’मा ५० भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने आयोजकको अनुमान छ । यो प्रतियोगितामा महिला र पुरुषको लागि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यद्यपी महिला र पुरुष दुवै समूहका खेलाडीहरु खेल्न भने एकसाथ खेल्नेछन् ।

आयोजकले दिएको जानकारी अनुसार खुला पौडी प्रतियोगितातर्फ प्रथम हुनेले २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । आयोजकले स्थानिय खेलाडीहरुलाई पनि प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरिने बताएको छ ।

फेवातालमा हुने प्रतियोगिताका लागि आयोजकले विशेष सुरक्षा व्यवस्था अपनाएको छ । सुरक्षाका लागि उसले डुंगा व्यवसायी संघ, सशस्त्र प्रहरी सहित अन्य स्वयंसेवक पनि खटाएको छ । नेपाल पौडी संघ गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक आनन्द कुँवरका अनुसार प्रतियोगिताका दिन २५ वटा डुंगा, ३ वटा कायक र सशस्त्रको मोटरबोटबाट सुरक्षा दिईनेछ ।

बिहीबार माछापुच्छ«े कप पौडी प्रतियोगिता

नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघले खुला पौडी प्रतियोगिताभन्दा अघिल्लो दिन असोज २५ गते नवौँ सँस्करणको माछापुच्छ«े कप पौडी प्रतियोगिता पनि गर्दैछ ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुबीच यो प्रतियोगिता हुने उसले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पोखरा याम्दीस्थित पेन्गुइन स्विमिङ पुलमा यो प्रतियोगिता हुनेछ । प्रतियोगितामा काठमाण्डौका ६०, नेपालगञ्जका १५ र पोखराका २५ जना विद्यार्थीहरुले सहभागिता जनाउँदैछन् ।

यो दुईवटै प्रतियोगिताका लागि ८ लाख रुपैयाँ लागत लाग्ने आयोजकको अनुमान छ ।

You might also like

Comments are closed.