पोखरा । पर्यटकीय केन्द्र फेवातालमा ‘सिल्टेसन ड्याम’ निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साझेदारीमा फेवातालमा ‘सिल्टेसन ड्याम’ निर्माण शुरु भएको हो । ‘सिल्टेसन ड्याम’ निर्माणको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शिलान्यास गरे ।
प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा झण्डै २९ करोडको लगानीमा फेवातालका ४ वटा खोलाको मुहानमा ‘सिल्टेसन ड्याम’ निर्माण गरिने जनाइएको छ । फेवातालको वेतयानी खोला, लौरुक, अँधेरीखोला र हर्पनखोला घाँटीछिनामा ‘सिल्टेसन ड्याम’ निर्माण गरिने उल्लेख छ ।
चार वटै आयोजनाको अनुमानित रकम ३४ करोड ४९ लाख गरिएपनि टेण्डरमा निर्माण कम्पनीले घटेर गर्दा २८ करोड ९६ लाखमा निर्माण सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार ‘सिल्टेसन ड्याम’ निर्माणमा लागेको खर्च प्रदेश सरकार र पोखरा महानगरपालिकाले आधा आधा अर्थात दुबैले जनही १४ करोड ४८ लाख तिर्नेछन् ।
वेतयानी र लौरुकखोलामा निर्माण गरिने ‘सिल्टेसन ड्याम’ ५० मिटर लम्बाइ, ५० मिटर चौडाइ र ४ मिटरको उचाइको हुनेछ भने अँधेरीखोला र घाँटीछिनास्थित हर्पनखोलामा निर्माण गरिने ‘सिल्टेसन ड्याम’ १ सय मिटर लम्बाई, १ सय मिटर लम्बाई र ४ मिटर उचाईको हुनेछ । प्रत्येक ‘सिल्टेसन ड्याम’मा बायो इन्जिनियरिङको काम, चेकड्याम निर्माण, ग्याबियनका कामसहित सिल्टपोखरी निर्माणको काम गरिनेछ । १५ महिना भित्रमा निर्माण सम्पन्न गर्ने भनिएको ‘सिल्टेसन ड्याम’को गत भदौ २९ गते सम्झौता भएको थियो ।
फेवाताल जलाधार संरक्षण अभियान अन्तर्गत वेतयानी खोलामा ‘सिल्टेसन ड्याम’ निर्माण गरिनेछ । यो बुधबार शिलान्यास गरिएको ठाउँ हो । पोखरा २४ मा पर्ने यो खोला फेवातालको सबै भन्दा नजिक पर्दछ । फेवातालको सिरान क्षेत्र पामे बजार भन्दा ३ सय मिटर माथि निर्माण गरिने ‘सिल्टेसन ड्याम’ को लागत अनुमान ६ करोड १९ लाख ३२ हजार ६ सय भएपनि ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाँमा निर्माण सम्झौता भएको छ । यो ‘सिल्टेसन ड्याम’ निर्माणको जिम्मा श्री गीता÷जयनेपाल इश्वर जेभी, स्याङ्जाले लिएको छ ।
पोखरा २४ लौरुकखोलामा निर्माण गरिने ‘सिल्टेसन ड्याम’को लागत अनुमान ६ करोड ३० लाख १० हजार २ सय रुपैयाँ भएपनि ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैयाँमा निर्माण सम्झौता भएको छ । यसको निर्माणको जिम्मा खड्का कृष्ण÷पि.के जेभी दाङले लिएको छ ।
पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा ‘सिल्टेसन ड्याम’ निर्माण गर्न ९ करोड ८२ लाख ३८ हजार ७ सय २९ रुपैयाँ लाग्ने अनुमान गरिएपनि ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको छ । यो निर्माण गर्ने जिम्मा खड्का कृष्ण÷पि.के जेभी दाङले लिएको छ । अँधेरीखोलामा करिब ६० प्रतिशत कामसमेत सम्पन्न भइसकेको पोखरा महानगरपालिकाका बरिष्ठ ईञ्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए ।
फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र पोखरा २३ घाँटीछिनास्थित हर्पनखोलामा ‘सिल्टेसन ड्याम’ निर्माण गर्न १० करोड ४१ लाख ९५ हजार ४ सय १ रुपैयाँ लाग्ने अनुमान गरिएपनि ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँमा निर्माण सम्झौता भएको छ । यो निर्माणको जिम्मा खड्का कृष्ण÷पि.के जेभी दाङले लिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले ‘सिल्टेसन ड्याम’ निर्माणपछि फेवातालमा विभिन्न खोलाबाट ढुंगा, गिट्टी, बालुवा नआउने बताए । उनले ‘सिल्टेसन ड्याम’ निर्माण गरिएका ४ वटा खोलाबाट वार्षिक रुपमा ३ लाख घन मिटर ढुंगा, गिट्टी, बालुवा झिक्न सकिने दाबी गरे । त्यसबाट महानगरपालिकालाई वार्षिक रुपमा २३ करोड आम्दानीसमेत हुने उनले उल्लेख गरे । उनले ‘सिल्टेसन ड्याम’मा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा साप्ताहिक रुपमा निकाल्ने ब्यबस्था हुने तर आवश्यक्ता परेको खण्डमा दैनिक रुपमासमेत निकाल्न सकिने बताए ।
पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले संरक्षणको अभावमा फेवाताल एकादेशको कथा बन्न सक्ने हो कि भन्ने आशंका भएपनि ‘सिल्टेसन ड्याम’ निर्माणसँगै अब फेवातालमा ढुंगा, गिट्टी, बालुवा फेवातालमा नपुग्ने बताइन् ।
फेवातालको सीमा संघले छुट्याईदिए संरक्षणको ज्ञारेन्टी गर्छौं ः मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघले फेवातालको सिमा छुट्याईदिए प्रदेश सरकारले संरक्षणको ज्ञारेन्टी गर्ने बताएका छन् । फेवातालमा आउने ढुंगा, गिट्टी, बालुवा रोक्नका लागि निर्माण गरिएको ‘सिल्टेसन ड्याम’को बुधबार शिलान्यास पछि आयोजित कार्यक्रममा बोल्दै उनले संघले सिमा क्षेत्र नतोकिदिदा फेवातालको सिमाङ्कनमा समस्या भएको बताए । सर्बोच्चको फैसला अनुसार संघ सरकारले फेवातालको सीमा छुट्याइदेओस्,‘उनले भने,‘हामी सिमाङ्कन गर्छौं, त्यसको संरक्षण गर्ने जिम्मा लिन्छौं ।’ उनले प्रधानमन्त्रीलाईसमेत यसबारे आफूले पटकपटक भेटेर कुरा राखेको स्मरण गर्दै भने,‘अबको १÷२ महिना भित्रमा यसबारे संघ सरकारले निर्णय गर्छ, २÷३ महिना भित्रमा सर्बोच्चको फैसला अनुसार फेवाताल संरक्षणको सम्पूर्ण काम पूरा हुन्छ भन्ने हामीलाई विश्वास छ ।’
मुख्यमन्त्री गुरुङले विकास गर्ने अवैज्ञानिक तरिकाका कारण विनास निम्तिएको टिप्पणी गरे । डोजर चलाएपछि विकास हुन्छ भन्ने सोंच छ हाम्रो,‘उनले भने,‘हाम्रो विकास गर्ने अवैज्ञानिक तरिका, पछिको लागि नसोंच्ने तरिका छ, जतासुकै डोजर हान्या छ, पृथ्वीलाई क्षतविक्षत पा¥या छ, वर्षा भएपछि त त्यो बगाएर ल्याई हाल्छ तल, प्रकृतिले दुःख दिन होइन, हाम्र्रै आनीबानीले निम्त्याएको हो समस्या ।’
मुख्यमन्त्री गुरुङले फेवातालसहित गण्डकी प्रदेशका तालहरुको संरक्षणका लागि ताल विकास प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता औंल्याए । शक्तिशाली ताल विकास प्राधिकरण निर्माण गरेर काम गर्न सकेमात्रै तालको संरक्षण हुने उनको भनाई थियो ।
Comments are closed.