फेवाताल–सराङकोट केबलकार निर्माण तिब्र

सुरेन्द्र पौडेल
पोखरा, ३० असार ।

पर्यटकीय नगरी पोखराको फेवातालदेखि सराङकोटसम्म आगामी वर्षदेखि केबलकार सञ्चालन हुने भएको छ । अन्नपूर्ण केबलकार प्रालिको लगानी रहेको केबलकार निर्माणको काम धमाधम भइरहेको छ । गत वर्ष सुरु भएको केवलकार निर्माणको काम २०७५ भित्रै सक्ने प्रालिको लक्ष्य छ । पोखरा आउने पर्यटकलाई केवलकार आकर्षक गन्तव्य बन्ने अनुमान गरिएको छ । यो प्रोजेक्टलाई गौरवका रुपमा लिइएको प्रालिका सञ्चालक तीर्थराज त्रिपाठी बताउँछन् ।

अन्नपूर्ण केबलकार प्रालि र निर्माणको जिम्मेवारी पाएको चितवन कोइ कम्पनीबीच गत वर्ष केबलकार निर्माणको लागि सम्झौता भएको थियो । निर्माणको काम धमाधम अगाडि बढिरहेको बताउँछन् प्रालिका अध्यक्ष कालु गुरुङ । अन्नपूर्ण केबलकार प्रालिले करिब १ अर्ब १० करोड रुपैयाँ लगानीमा केबलकार निर्माण सुरु गरेको हो । १ अर्ब रुपैयाँ लागतमा निर्माण गर्ने लक्ष्य भएपनि १० करोड रुपैयाँ लगानी बढेको गुरुङले जानकारी दिए । पोखराको सेदीस्थित फेवातालको किनार नजिकैबाट सराङकोटसम्म केबलकार सञ्चालन भएपछि पोखरामा पर्यटकको आगमन अझै बढ्ने गुरुङ बताउँछन् ।

केबलकारमा नेपालीहरुको ८५ प्रतिशत र विदेशी लगानीकर्ताको १५ प्रतिशत लगानी छ । विदेशी लगानी अन्तर्गत जापानी नागरिक टाकासी मियाहारा केबलकारसँग जोडिएका छन् । नेपाली लगानी अन्तर्गत नेपाली व्यवसायीहरुको ७५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी रहेको गुरुङले जानकारी दिए । सेदीमा तल्लो स्टेसन र सराङकोट भुमरीगैरामा माथिल्लो स्टेसन रहनेछ । २ हजार ३ सय मिटर लम्बाइ रहने केबलकारमा १३ वटा टावर राखिनेछ ।

१६ देखि ३६ वटा डिब्बासम्म सञ्चालन गर्न सकिने गरी केबलकार निर्माण गरिने बताइएको छ । एक घन्टामा ५ सय जनासम्मको क्षमतामा केबलकार सञ्चालनमा ल्याइने गुरुङले जानकारी दिए । आवश्यकता अनुसार १ हजार जनासम्मलाई एक घन्टामा सुविधा प्रदान गर्न सकिने केबलकारको क्षमता रहने उनले बताए । उक्त दुरी पार गर्न ७ देखि ९ मिनेट लाग्नेछ ।
केबलकार निर्माणका लागि सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले वित्तीय लगानी गरेका छन् । जापानी कम्पनी निप्पोनले केबलकारको प्राविधिक पक्षमा सहयोग गरेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणाली अपनाएर केबलकार निर्माण भइरहेको गुरुङले जानकारी दिए । ‘नविनतम प्रविधि अनुसारको डिजाइन तयार पारी केबलकार निर्माण हुँदैछ,’ उनले भने, ‘पोखरामा निर्माण भएको केबलकारले यहाँको पर्यटनमा नयाँ आयाम थप्ने हाम्रो विश्वास छ ।’

पोखराको पर्यटन प्रवद्र्धनको लक्ष्यसहित निर्माण भइरहेको केबलकारका लागि पोखराका पर्यटन व्यवसायी, संघसंस्था तथा स्थानीयबासीबाट साथ मिलेको गुरुङ बताउँछन् । केबलकार निर्माण पछि नयाँ पर्यटकीय गन्तव्यको विकास हुने गुरुङले बताए । सूर्योदय, सूर्यास्त, हिमालय, वरपरको हरियाली दृश्य, पोखरा, फेवाताल लगायतका दृश्यावलोकनका लागि सराङकोट प्रशिद्ध छ । प्याराग्लाइडिङ सञ्चालन समेत यहीँबाट हुने भएकाले सराङकोट संसारमै चिनिने स्थानमा पर्छ । पोखरा र सराङकोटलाई चिनाउन केबलकारले अझ बढी योगदान पु¥याउने विश्वास गरिएको छ ।

You might also like

Comments are closed.