अन्तत: फेवासिटी हस्पिटलले घटायो शुल्क

पोखरा । पोखराको फेवासिटी अस्पतालले बढाएको शुल्क अन्ततः  घटाएको छ । सेवाग्राहीलाई मर्का पर्नेगरी चरम लापरबाहीसहित हस्पिटलले शुल्कमा मनपरी वृद्धि गरेको थियो । फेवासिटी अस्पतालले इन्डोस्कोपी सेवामा एकैचोटी ३ हजार रुपैयाँ वृद्धि गरेको थियो ।

इन्डोस्कोपी गरेको २ हजार रुपैयाँ लिदै आएको अस्पतालले लकडाउनको समयमा १५० प्रतिशत शुल्क वृद्धि गरी ५ हजार रुपैयाँ पुर्याएपछि आर्थिक आवाजले समाचार प्रकाशन गरेको थियो । अहिले अस्पताल प्रशासनले इन्डोस्कोपीमा बढाइएको शुल्क घटाएर २ हजार ४ सय रुपैयाँ कायम गरेको छ ।

विभागीय डाक्टर वरिष्ठ कन्सल्टेन्ट फिजिसियन, पेट तथा कलेजो रोग विशेषज्ञ सुरेश थापाको विशेषज्ञतालाई ख्याल गर्दै पुरानो शूल्कमा ४ सय रुपैयाँ मात्रै वृद्धि गरिएको अस्पताल स्रोतले बताएको छ । पहिला १५० प्रतिशत शूल्क वृद्धि गरेपछि आलोचित बनेको अस्पताल पुरानो निर्णयबाट पछि हट्दै अहिले २० प्रतिशत मात्रै शुल्क वृद्धि गरेर सेवा प्रदान गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको हो ।

शुल्क वृद्धि पछि अस्पतालमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलको नेतृत्वमा प्रशासनको टोलीले अनुगमनसमेत गरेको थियो । अनुगमन टोलीले समेत तत्काल शुल्क घटाउन निर्देशन दिएको थियो । अनुगमन पछि अस्पतालले शुल्क घटाउनु निकै राम्रो पक्ष भएको उपभोक्ता मञ्च गण्डकी प्रदेशका संयोजक कपिलनाथ कोइरालाले बताए ।

You might also like

Comments are closed.